ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्यूठानका होटेल व्यवसायमा दैनिक रू. २० लाख नोक्सान

२०७७ असार, १४  
बजार
Image Not Found
author avatar राजेश जीसी

प्यूठान ।  जिल्लामा सञ्चालित होटेलहरूले लकडाउनका कारण दैनिक रू. २० लाखसम्म नोक्सानी व्यहोर्दै आएका छन् । लामो समयदेखिको लकडाउनका कारण ठूलो नोक्सानीका साथै व्यवसाय नै संकटमा पर्न थालेको चिन्ता व्यवसायीहरूमा छ । नेपाल भ्रमण वर्ष घोषणासँगै उत्साहित बनेका यहाँका होटेल व्यवसायीलाई लकडाउनले व्यवसायबाटै हात धुन बाध्य बनाउने स्थिति आएको होटेल व्यवसायी संघ प्यूठानका अध्यक्ष गञ्जबहादुर थापाले बताए ।

होटेलहरू पूर्ण रूपमा बन्द हुँदा यहाँका व्यवसायीले दैनिक रू. १५ लाखदेखि २० लाखसम्म नोक्सानी व्यहोर्नु परेको उनको भनाइ छ । कोरोना संक्रमण तीव्र बनेसँगै सरकारले जारी गरेको लकडाउनका कारण व्यवसायीलाई घर भाडा, बैंकको ऋण तथा कर्मचारीलाई परिश्रमिकलगायत खर्च धान्न नसकेको बताउँदै अध्यक्ष थापाले भने, ‘सरकारले भ्रमण वर्ष घोषणा गरेपछि उत्साहित भएका थियौं, तर कोरोनाका कारण सबै व्यवसाय ठप्प हुँदा अहिले हामीले ठूलो नोक्सानी व्यहोर्नु परिरहेको छ ।’

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरे पनि कोरोनाको त्रासले ग्राहक नआएको उनले बताए । भ्रमण वर्षलाई लक्षित गरी बैंकबाट करोडौं ऋण लिएर लगानी गरेका नयाँ व्यवसायीहरू थप मारमा परेको उनको भनाइ छ । ‘भ्रमण वर्षलाई लक्षित गरेरे भर्खरै सञ्चालनमा आएका होटेलहरू पनः सञ्चालनमा आउनसक्ने अवस्था छैन’, उनले भने, ‘बैंकको ब्याज तथा सावाँ नै तिर्न समस्या छ ।’ प्यूठानमा पछिल्लो समय फस्टाउँदै आएको होटेल व्यावसायमा कोरोनाले ठूलो धक्का दिएको उनले बताए ।

होटेलहरू कोरोनाका कारण बन्द हुँदा घरभाडा र ब्याज तिर्त नसकेको भिंग्रीका होटेल व्यवसायी इन्द्रबहादुर बोहोराले बताए । भिंग्रीमा स्वर्गद्वारी आउने पर्यटकलाई लक्षित गरी स्टार लेभलका होटेलहरू खुल्ने क्रम बढ्दै गएको छ । स्वर्गद्वारीमा आउने आन्तरिक तथा भारतीय पर्यटकको चहलपहल बढ्न थालेपछि भिंग्रीमा होटेल क्षेत्रमा मात्रै करीब रू. १२ करोडको लगानी रहेको उनको अनुमान छ । भिंग्रीमा व्यवसायीले रू. ५० लाखदेखि साढे २ करोडसम्म लगानी गरेका छन् भने साना ठूला गरी ३ दर्जन होटेलहरू सञ्चालनमा छन् ।

जिल्लाभर होटेल व्यवसायमा करीब रू. ८० करोड लगानी भएको होटेल व्यवसायी संघ प्यूठानका अध्यक्ष थापाले जानकारी दिए । होटेल व्यवसायी संघ प्यूठानमा हालसम्म ५५० भन्दा बढी होटेल दर्ता छने भने जिल्लाभर ९०० ओटा होटेल सञ्चालनमा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्