ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कर्णालीका तीन अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

२०७७ असार, १५  
कर्णाली प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

वीरेन्द्रनगर । कर्णालीका तीन ओटा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला र जिल्ला अस्पताल सल्यानको सेवा बन्द गरिएको हो ।

उल्लिखित अस्पतालमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि गत बिहीवारदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । कर्णाली प्रदेश अस्पतालमा दुई जना चिकित्सकसहित ९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना विशेष अस्पतालको संयोजन गरिरहेका वरिष्ठ चिकित्सक, ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीसहित ९ जनामा संक्रमण देखिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।

उनका अनुसार १ जना एचए र ६ जना प्रयोगशालाकर्मी पनि संक्रमित भएका छन् । चिकित्सकलाई अस्पतालकै क्वार्टरमा बनाइएको आइसोलेसनमा राखिएको छ । केही समयका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्नु परेको निर्देशक खड्काको भनाइ छ । यस्तै जुम्लास्थित प्रतिष्ठानको शिक्षण अस्पतालमा १ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पतालका चिकित्सक आन्दोलित
यसैबीच कर्णाली प्रदेश अस्पतालका चिकित्सकहरू आन्दोलित भएका छन् । कर्णाली प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै अस्पतालमा कार्यरत आठौं तहका चिकित्सकहरू आन्दोलित भएका हुन् । उनीहरूले आकस्मिक सेवामाबाहेक काम नगर्ने घोषणा गरेका छन् । बिहीवार उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।

कर्णाली प्रदेश सरकारको गत पुस ८ गतेको मन्त्रिपरिषद् बैठकले कर्णालीमा कार्यरत चिकित्सकलाई जिल्ला र तहगत रूपमा ५० देखि १३५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । सुर्खेतमा कार्यरत आठौं तहका चिकित्सकलाई आधारभूत तलबको ५० प्रतिशत र नवौंदेखि एघारौं तहका विशेषज्ञ चिकित्सकलाई ७५ प्रतिशत भत्ता दिने निर्णय भएको थियो । मंसिरदेखि लागू हुने गरी भएको उक्त निर्णअनुसार अन्य चिकित्सकले भत्ता पाए पनि आठौं तहका मेडिकल अधिकृतले भने पाएका छैनन् । प्रदेश अस्पतालमा आठौं तहका ३० जना चिकित्सक कार्यरत छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्