ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धवलागिरि अस्पतालद्वारा डेढ करोड भत्ता माग

२०७७ असार, १५  
गण्डकी प्रदेश
NA

पोखरा (अस) । बागलुङस्थित धवलागिरि अञ्चल अस्पतालले दुईजना कोरोना संक्रमितको उपचार गरेबापत डेढ करोड भन्दा बढी भत्ता माग गरेको छ । अस्पतालले रू. १ करोड ५३ लाख माग गरी प्रदेशको सामाजिक विकास मन्त्रालयमा पत्राचार गरेको छ ।

कोभिड–१९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी लगायतलाई प्रोत्साहन भत्ता दिने संघीय सरकारको कार्यविधिलाई आधार मानी गण्डकी प्रदेशले पनि आफ्नो कार्यविधि बनाएको छ । त्यही कार्यविधिलाई आधार बनाएर त्यस्तो खर्च विवरण आएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि पुष्टि गरेको छ ।

संक्रमणको शंका लागेपछि आइसोलेसनमा राखिएका वा संक्रमण पुष्टि भई उपचारमा रहेका बिरामीको उपचारमा प्रत्यक्ष संलग्न जनशक्ति तथा संक्रमणको शंकास्पद तथा पुष्टि भएका बिरामीको नमूना संकलन गर्ने जनशक्तिलाई संघीय सरकारले तोकेको शुरू तलब स्केलको शतप्रतिशत भत्ता दिने व्यवस्था छ । उपचारमा अप्रत्यक्ष संलग्न जनशक्तिलाई तलबको ७५ प्रतिशत र बिरामीको ओसारपसार तथा नमूना ओसारपसार गर्नेलाई ५० प्रतिशत भत्ता दिने उल्लेख छ । प्रदेशले केन्द्रबाट दिने भत्तामा २५ प्रतिशत थप्ने भनेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार १६९ जनालाई भत्ता उपलब्ध गराउन धवलागिरि अस्पतालले विवरण पेश गरेको हो । अस्पतालले डेढ करोड रूपैयाँको खर्च विवरण पेश गरेपछि सामाजिक विकास मन्त्रालयले बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी र जिल्ला जनस्वास्थ्य प्रमुखको टोलीलाई उक्त विवरणमाथि छानबिन गर्न आदेश दिएको छ । प्रदेशको कार्यविधिमा झूठा विवरण पेश गरे कारबाही हुने व्यवस्था छ ।

बेल्जियमबाट चैत ४ गते नेपाल आएकी बागलुङकी अंशु सापकोटालाई कोरोना भाइरस पुष्टि भएपछि धवलागिरि अस्पतालमा भर्ना गरिएको थियो । धवलागिरि अस्पतालमै भर्ना भएकी अर्की कोरोना संक्रमित मनकुमारी पौडेल ६ वैशाखमा घर फर्किएकी थिइन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्