ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धान रोपाइँ अपडेट : कर्णालीमा ३६ प्रतिशत सम्पन्न

२०७७ असार, १६  
कर्णाली प्रदेश
NA
author avatar विनोद लम्साल

वीरेन्द्रनगर । कर्णालीमा यस वर्षको धान रोपाइँ ३६ प्रतिशत सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार प्रदेशमा हालसम्म करीब १४ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशको ३८ हजार ३८५ हेक्टरमा रोपाइँ हुने गरेको निर्देशनालयले बताएको छ ।

प्रदेशका कतिपय क्षेत्रमा चैत–वैशाखदेखि नै रोपाइँ शुरू भएर  साउन अन्तिमसम्म हुन्छ । पहाडी जिल्लामा असार लागेपछि रोपाइँ शुरू भए पनि हुम्ला, जुम्लालगायत उच्च पहाडी क्षेत्रमा चैतदेखि नै धान रोपाइँ हुने गरेको छ । ती जिल्लामा ढिलो रोप्दा तापक्रमका कारण धान नपाक्ने हुनाले छिटै रोपाइँ गर्ने चलन छ ।

प्रदेशका दशओटै जिल्लामा कतै रोपाइँ सकिनै लागेको छ भने कतै भर्खरै शुरू भएको छ । यस वर्ष समयमै मनसुन शुरू भएकाले धान रोपाइँमा पनि यसको सकारातमक प्रभाव परेको हो । कृषि विकास निर्देशनालय सुर्खेतका बागवानी अधिकृत यामबहादुर रानाले यो वर्ष किसानले अघिल्ला वर्षमा भन्दा छिटो रोपाइँ सक्ने बताए । ‘यो वर्ष वर्षाले साथ दिएको छ,’ उनले भने, ‘त्यसैले धान रोप्ने काम पनि बेलैमा सकिन्छ ।’ यो वर्ष प्रदेशमा धान उत्पादन समेत बढ्ने अनुमान समेत गरिएको छ ।

कृषि विकास निर्देशनालयका अनुसार जुम्लामा सबैभन्दा बढी ९६ प्रतिशत रोपाइँ सकिएकोे छ । यसैगरी, डोल्पामा ७५ प्रतिशत, हुम्लामा ७० प्रतिशत, सल्यानमा ७० प्रतिशत, मुगुमा ६० प्रतिशत, जाजरकोटमा ४५ प्रतिशत र कालीकोटमा ३० प्रतिशत, रुकुम–पश्चिममा ३० प्रतिशत र दैलेखमा २५ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशमा सबैभन्दा कम सुर्खेतमा १० प्रतिशत मात्र रोपाइँ भएको छ । कर्णालीको खेती प्रणाली आकाशे पानीको भरमा छ । पर्याप्त सिँचाइ सुविधा नहुँदा रोपाइँका लागि मनसुन नै कुर्नुपर्ने बाध्यता किसानहरूको छ । योपटक समयमै मनसुन सक्रिय हुँदा रोपाइँ धमाधम भइरहेको कृषि विकास कार्यालयहरूले बताएका छन् । कर्णालीका अधिकांश स्थानमा अझै पनि परम्परागत रूपमै धान रोप्ने गरिन्छ । आधुनिक कृषि प्रविधिको प्रयोग न्यून हुने गरेको छ । जीविकोपार्जनका लागि परम्परागत खेती गरिने हुँदा यहाँका किसानहरूले उत्पादन गरेका कृषि वस्तुले वर्षभर खान पुग्दैन ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्