ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सम्हालिएर बन्द भयो ९८ दिनपछिको शेयर बजार

२०७७ असार, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कोरोना संक्रमण र लकडाउनबाट समग्र अर्थतन्त्र निकै प्रभावित भएको अवस्थामा शेयरबजार परिसूचक नेप्से निकै तल झर्ने आकलन गरिए पनि सोमवार खुलेको बजारमा लगानीकर्ताले निकै सम्हालिएर कारोबार गरे ।

लकडाउनका कारण बन्द बजार ९८ दिनपछि सुचारू हुँदा पहिलो कारोबार दिनमा १२ दशमलव ८७ अंकले घटेको छ । नकारात्मक सर्किट लाग्ने आकलन लगानीकर्ताहरूले नै गरे पनि कारोबारको शुरूदेखि नै बजार निकै उतारचढावपूर्ण देखियो ।

१ हजार १९७ दशमलव शून्य ९ विन्दुबाट खुलेको बजार १ हजार १४९ दशमलव ५५ विन्दुसम्म झरेको थियो । बजार खुलेको ४० मिनेटमै ४ प्रतिशतको नकारात्मक सर्किटको सामना पनि यस दिन बजारले गर्‍यो ।

तर, ४ प्रतिशत नकारात्मक सर्किटको सामना गरी पुन :  खुलेको बजारमा ३९ दशमलव १५ अंकको बाउन्स ब्याक भएको छ । १२ दशमलव ८७ अंकले बजार घटेर बजार बन्द भए पनि यस दिनको उच्च गिरावटलाई ३९ दशमलव १५ अंकले बाउन्स ब्याक गर्न बजार सफल देखिएको छ । कारोबार खुला भएको १ घण्टा १४ मिनेटमा बजार ५२ दशमलव शून्य २ अंकले घटेको थियो । सोमवार ४८ करोड ५३ लाखको १५ हजार रुपैयाँको कारोबार भयो ।

लामो समयपछि खुलेको बजार के होला भन्नेमा अन्योल भई शुरूको अवस्थामा आत्तिएर कारोबार गरेकाले नकारात्मक सर्किट लागेको शेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बाँस्तोलाले बताए ।

शुरूमा आत्तिएका लगानीकर्ता पछि सचेत भएका कारण बजारको उच्च गिरावट थामिएको बाँस्तोलाको भनाइ छ । उनले अझै पनि अनलाइन कारोबारमा समस्या भएकाले केही सुधार गर्नुपर्ने बताए ।

सोमवारको अनलाइन कारोबारमा मार्केट डेप्थ नदेखिएको र कारोबार प्रविष्टि गर्न पनि समस्या भएको बाँस्तोलाले बताए । पछिल्लो समय बजार सुधारका धेरै पक्ष बलियो रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

नियामकीय सुधारको प्रतिबद्धता, ब्याजदर सहजीकरण आदि कारणले बजार तल नझरेको प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालको भनाइ छ । उनले भने, ‘पहिले नै धेरै झरेकाले अहिले प्यानिक सेल नभएको हो । यसले बजारमा आत्मविश्वास छ भन्ने देखायो ।’

नेप्सेको वेबसाइटमा समस्या

पूर्ण अनलाइनमा जाने र बजार बन्द हुन अवस्था नआउने गरी बजार सञ्चालन गर्ने भनेर धितोपत्र बोर्डले निर्देशन दिए पनि लकडाउनपछि खुलेको बजारमा पहिलो दिनमा नै नेप्सेको वेबसाइटमा समस्या देखापर्‍यो । लगानीकर्ताले मार्केट डेप्थ हेर्न पाएनन् ।

त्यस्तै वेबसाइटले कारोबार रकम र कारोबार संख्या पनि गलत देखायो । ३४ करोड ७७ लाख ७१ हजार बराबरको कारोबार भएको तथ्यांक देखाएकोमा पछि ४८ करोड, ५३ लाख १५ हजार देखायो । विश्लेषक विष्णु बस्याल नेप्सेको आईटी इन्फ्रास्टक्टरमै समस्या भएकाले रियल टाइममा बारम्बार समस्या आउने गरेको बताउँछन् । यसलाई सुधार गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्