ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कृषि, रोजगारी र स्वास्थ्य प्यूठानका स्थानीय तहको प्राथमिकतामा

२०७७ असार, १६  
प्रदेश ०५
Image Not Found
author avatar राजेश जीसी

असार १६, प्यूठान । प्यूठानका स्थानीय तहले आगामी आर्थिक वर्षमा कृषि, रोजगारी तथा स्वास्थ्यलाई प्राथमिकता दिएका छन् । गत वर्षहरुमा सडक, खानेपानी, भौतिक पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता दिएका स्थानीय तहले यस वर्षमा कृषि, रोजगारी तथा स्वास्थ्यलाई प्राथमिकता दिएका हुन् । 

कोरोना भाइरसका कारण जनताहरु बेरोजगार तथा देशको अर्थतन्त्रमा ठूलो क्षती भएकाले यस वर्ष कृषि, रोजगारी तथा स्वास्थ्यलाई प्राथमिकता दिएको प्यूठानका स्थानीय तहले बताएका छन् ।

जिल्लाको प्यूठान नगरपालिकाले आगामी आव २०७७/०७८ का लागि स्वास्थ्य र कृषिमा जोड दिएको छ । नगरपालिकाले स्वास्थ्य संस्थाको स्तरवृद्धि, कोरोना भाइरस रोकथाम तथा सरुवा रोगका लागि करीब रू. ५ करोड ६५ लाख बजेट विनियोजन गरेको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले बताए । त्यस्तै कोरोनाका कारण अर्थतन्त्र कमजोर भएको हुँदा श्रममा आधारित रोजगारी सिर्जना गर्न कृषि क्षेत्रमा बजेट विनियोजन गरेको उनले बताए । 

‘कोरोनाले स्वास्थ्य तथा रोजगारी क्षेत्र प्रभावित भएको छ’ उने भने, ‘देशको अर्थतन्त्र उकास्न यस्ता क्षेत्रलाई प्राथमिकता दिएका हौँ ।’  नगरपालिकाले कृषि तथा रोजगारीका क्षेत्रमा झन्डै रू. ३ करोड विनियोजन गरेको छ ।

त्यस्तै नौबहिनी गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनका लागि समेत बजेट विनियोजन गरेको छ । व्यवस्थापनमा रू. १ करोड र गाउँ फर्केका व्यक्तिलाई रोजगारी दिने गरी कार्यक्रम सञ्चालन गर्न रू. १ करोड छुट्याइएको छ । 

पछिल्लो समय भारत तथा अन्य देशबाट रोजगारी गुमाएर आउने जनताको संख्या बढेको र देशमै रोजगारी सिर्जना गर्न यस्तो प्रयास थालनी गरेको नौबहिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए । गाउँपालिकाले कृषि, स्वास्थय, रोजगारीलाई लक्षित गरी आगामी आवका लागि रू. ४८ करोड २६ लाख बजेट विनियोजन गरेको छ ।

‘विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड १९ नियन्त्रण तथा सो बाट उत्पन्न हुने सक्ने समस्या समाधानका लागि बजेटमा प्राथामिकता दिएका छौँ’ उनले भने ।

त्यस्तै ऐरावती, गौमुखी, माण्डवी, मल्लरानी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका लगायतका स्थानीय तहले वैदेशीक रोजगारबाट फर्केनेको संख्या अधिक हुने भएकाले उनीहरुलाई रोजगारी दिलाउन सक्ने योजनालाई उच्च प्राथमिकता दिएका छन् ।

अघिल्ला आर्थिक वर्षमा सडक र पूर्वाधारका योजनालाई प्राथमिकता दिएका प्यूठानका स्थानीय तहले आगामी आर्थिक वर्षमा कृषि, स्वास्थ्य, शिक्षा र श्रममा आधारीत रोजगारलाई प्राथमितामा राखेका हुन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्