ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

थाहा नगरमा औद्योगिक ग्राम स्थापनाको तयारी

२०७७ असार, १७  
वाग्मती प्रदेश
Image Not Found
author avatar भानुभक्त आचार्य

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाले नगर क्षेत्रमा औद्योगिक ग्राम स्थापना गर्ने तयारी गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरी नगरपालिकाले थाहा–११ नौखण्डेको देउरालीमा औद्योगिक ग्राम स्थापनाको प्रक्रिया अघि बढाएको हो । स्थानीय कच्चापदार्थमा आधारित औद्योगिक प्रतिष्ठानहरू स्थापनाका लागि सम्भाव्यता अध्ययन भइरहेको नगरपालिकाले बताएको छ ।

मनकामना मन्दिरको आसपासमा रहेको करीब १ सय रोपनी जमीनमा औद्योगिक ग्राम स्थापनाका लागि प्राविधिक अध्ययन थालिएको नगरप्रमुख लवशेर विष्टले बताए । ‘हामीले जमीन हेरेर स्थानीयको रायसल्लाह लिएका छौं,’ उनले भने, ‘कच्ची सडक पुगेको भए पनि त्यसको स्तरोन्नति गर्ने, पानी, विद्युत् लगायत पूर्वाधार उपलब्ध गराउने विषयमा अध्ययन भइरहेको छ ।’

थाहानगरमा छरिएर रहेको पूँजी सहकारीको माध्यमबाट एकत्रित गरी सहकारी र नगरपालिकाको साझेदारीमा विभिन्न शीपमूलक र आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने याजना समेत नगरपालिकाले अघि सारेको छ । शीपमूलक तालीम सञ्चालन गरी घरेलु तथा साना उद्योग सञ्चालन गर्न चाहने व्यक्ति वा फर्मलाई अनुदान र मेशिनरी सहायता उपलब्ध गराउने व्यवस्था नगरको नीति तथा कार्यक्रममा रहेको नगर प्रमुख विष्टले बताए ।

वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्थानीय कच्चापदार्थमा आधारित उद्यम व्यवसायमा लगाउन तालीम, अनुदान लगायतमा सघाउन आफूहरूले बारम्बार आग्रह गरेको थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले बताए । स्थानीय सरकारले उद्याग वाणिज्य संघको प्रस्तावमा खासै चासो नदेखाएको गुनासो अध्यक्ष खत्रीको छ । ‘हामीले बारम्बार भनिरहेका छौं, तर सुनुवाइ नै भएको छैन,’ उनले गुनासो गरे । निजीक्षेत्रसँग साझेदारी गरेर अगाडि बढ्दा स्थानीय सरकारको सफलता मिल्ने भए पनि स्थानीय सरकार एकलौटी रूपमा अगाडि बढेको भन्दै उनले रोष व्यक्त गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्