ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ठप्प भयो नौबिसे– नागढुंगा सुरुङमार्ग निर्माणको काम 

२०७७ असार, १७  
समाचार
Image Not Found
प्रतिकात्मक तस्वीर

असार १७, काठमाडौं । नागढुंगास्थित नेपालको पहिलो सुरुङमार्ग निर्माणको काम अघि बढ्न सकेको छैन । कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीमा सुरुङमार्ग निर्माण ठप्प भएको हो ।     
     
 सो आयोजनाको निर्माण शुरु भएको केही दिनमा नै बन्दाबन्दी कारण यहाँ कार्यरत विदेशी र नेपाली सबै फर्किएपछि निर्माणको काम ठप्प भयो । निर्माण कम्पनीले आवश्यक सबै सामग्री निर्माणस्थलमा ल्याए पनि जनशक्तिका अभावमा काम हुन नसकेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले बताएको छ ।     
     
 सरकारले ४२ महीनामा निर्माण सक्ने गरी हाज्मा आङ्लो कर्पोरेशनलाई निर्माणको जिम्मेवारी दिएको थियो । जापान सरकारको ऋण सहयोगमा निर्माणाधीन सो आयोजनामा लामो समयसम्म काम नहुँदा निर्धारित समयमा निर्माण सम्पन्न नहुने देखिएको महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।     
     
 उनका अनुसार निर्माणस्थलमा अहिले १०/ १२ स्थानीय कामदार मात्रै छन् । उनले भने, ‘पाँचसात सय जना काम गरिरहेकामा १०/ १२ जनाले के गर्नु छ र ?’
 सरकारले गत चैत ११ मा बन्दाबन्दी लागू गरे पनि कम्पनीले निर्माणको काम रोकेको थिएन । स्थानीयवासीले विरोध गरेपछि काम रोकेर कामदारलाई उनीहरुको घरघर फर्काइएको प्रमुख थापाले बताए ।

जापानी संस्थाले सरकारको नियमको पालना गर्दा नेपालीलाई पनि घर फर्काएको थियो भने विदेशी कामदार पनि फर्किएका थिए । 

बन्दाबन्दी लागू भएको एक महिनापछि विकानिर्माणलाई निरन्तरता दिइने भने पनि निर्माणस्थलमा काम गर्ने वातावरण नबनेको उनले बताए ।     
     
 उनले भने, ‘टाढा–टाढाका जिल्लामा गएकालाई फर्काएर ल्याउन सक्ने अवस्था थिएन ।’ निर्माण कम्पनीले गत असोजदेखि काम शुरु गरे पनि शुरुको महीनामा कामदार र निर्माण सामग्री व्यवस्थापनको काम गरेको थियो । कतिपय सामग्री नेपाली भए पनि कतिपय जापानबाट ल्याइएको उनले बताए ।

कम्पनीले विस्फोटक पदार्थका लागि अनुमति पाइसकेको छैन  ।उनले भने, ‘हामीले मागेभन्दा आधाको मात्रै स्वीकृति पाएका छौं  ।’    
     
 निर्माण शुरु भएको पाँच छ महीनाको अवधिमा कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन गर्ने, जनशक्ति ल्याउनेलगायत काम अघि बढाएको सडक विभागले बताएको छ ।

कम्पनीले अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक निर्माण शुरु गरिसकेको छ । सोही आयोजनाअन्तर्गत काठमाडौंतर्फ बलम्बुसम्म २ दशमलव ५ किमी र धादिङतर्फ ५०० मिटर सडक निर्माण हुँदैछ । आयोजना हेर्ने गरी शिविर कार्यालय निर्माण र निर्माणस्थललाई पर्खालले घेर्ने काम भइसकेको छ ।     

सुरुङको कुल लम्बाइ २ दशमलव ७ किमिको हुनेछ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई ओटा सुरुङ निर्माण हुनेछ । दुई ओटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३ दशमलव १ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुख र सतुंगलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ ।

अन्तरराष्ट्रिय मापदण्डानुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुने विभागले बताएको छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन ओटा सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुई ओटै गाडी चल्न सक्नेछन् । सहायक टनेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँ–ठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ ।     
     
 सुरुङमार्ग खन्दा आएका मजबुत ढुंगा र माटो त्यहीं निर्माणका क्रममा प्रयोग हुने प्रमुख थापाले बताए । माटोलाई भने सिस्ने खोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिने छ । सो स्थानमा बसपार्क, तरकारी संकलन केन्द्रलगायत कक्ष हुने बताइएको छ ।

निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेंसी नगरपालिकामा नै हस्तान्तरण हुनेछ । केन्द्रबाट सेवा शुल्क उठाएर नगरपालिकाले आर्थिक उपार्जन गर्ने र त्यसैको व्यवस्थापनमा खर्च गर्ने गरी योजना बनाइएको थियो ।     
     
 काठमाडौं उपत्यका छिर्ने मुख्य नाकाको चाप कम गर्न निर्माण गर्न लागिएको सो सुरुङमार्गले सञ्चालन भएको सात वर्षमा लगानी बराबरको प्रतिफल दिने अध्ययनमा उल्लेख छ । 
आयोजना सम्पन्न गर्न रू. २२ अर्ब लाग्नेमा जाइकाले रू. १६ अर्ब सहयोग गर्ने र रू.६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुंगा सुरुङमार्ग निर्माण महाशाखाले बताएको छ । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्