ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अनुभव नभएको शैलुङलाई ८० हजार मेट्रिकटन मल आयातको ठेक्का

२०७७ असार, २४  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । अधिकांश पूर्वाधार आयोजना अलपत्र पारेर छाडेको शैलुङ कन्स्ट्रक्शनको सहायक संस्था शैलुङ इन्टरप्राइजेजलाई कृषि सामग्री कम्पनी लिमिटेडले करीब ८० हजार मेट्रिक टन मल आयात गर्न ठेक्का दिएको छ । सरकारको अनुदानमा किनेर मल विक्रीवितरण गर्दै आएको छ ।

कम्पनीले ५५ हजार मेट्रिक टन रासायनिक मल किन्न शैलुङ इन्टरप्राइजेजलाई ठेक्का दिइसकेको छ भने २५ हजार मेट्रिक टन मल आयातको जिम्मासमेत शैलुङलाई नै दिन लागिएको छ ।

शैलुङ इन्टरप्राइजेजसँग मल आयात तथा खरीदसम्बन्धी कुनै पनि अनुभव छैन । यसको माउ संस्थाले सडक, पुल बिजुली र अन्य पूर्वाधार निर्माणसम्बन्धीका अधिकांश आयोजना ठेक्कामा लिएर अलपत्र पार्ने गरेको छ ।

शैलुङ इन्टरप्राइजेजले गत जेठमा २५ हजार मेट्रिक टन युरिया मल आयात गर्ने ठेक्का पाएको थियो । कृषि सामग्री कम्पनीले गत साता मात्रै शैलुङसँग नै थप ३० हजार मेट्रिक टन मल ल्याउन सम्झौता गरिएको थियो ।

सत्तारूढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरभेटी शारदाप्रसाद अधिकारी अध्यक्ष रहेको शैलुङ ग्रूप अफ कम्पनीले नै शैलुङ इन्टरप्राइजेज सञ्चालन गरेको हुनाले राजनीतिक पहुँचका आधारमा अनुभव नभएको कम्पनीलाई ठेक्का दिइएको आरोप सरोकारवालाहरूको छ ।

तर, कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक नेत्रबहादुर भण्डारीले भने सार्वजनिक खरीद ऐन र नियमावलीअन्तर्गत नै रहेर ४६ दिने ग्लोबल टेन्डरको सूचना निकाल्दा ६ जना बोलपत्र दातामध्ये सबैभन्दा कम रकम बोलकबल गरेकाले उसले नै ठेक्का पाएको बताए ।

‘हामीले गरेको बोलपत्रमा शैलुङ इन्टरप्राइजेजले सम्पूर्ण मापदण्ड पूरा गरेकाले नै उसले ठेक्का पाएको हो । यदि समयमा काम गरेन भने भोलि कारबाही हुन्छ,’ उनले भने ।
नेपाल सरकारले अनुदानमा खरीद गरी वितरण गर्ने रासायनिक मलका लागि छुट्ट्याएको कुल बजेटमध्ये कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशनले ३० प्रतिशत मल ल्याउने गरेका छन् ।

यसै सम्झौताअनुसार गत आवका लागि कृषि सामग्री कम्पनीले ३ लाख ४ हजार ५ सय मेट्रिक टन मल आयात गर्ने जिम्मा पाएको थियो । यसमध्ये युरिया, डीएपी र पोटास समेत गरेर करीब २ लाख ३० हजार मेट्रिक टन मल आयात गरेर विक्रीवितरण गरिसकिएको छ । पछि थप गरिएको बजेटमार्पmत थप ५० हजार मेट्रिक टन युरिया आउन बाँकी नै छ ।

आव २०७७/७८ का लागि करीब ४० हजार मेट्रिक टन डीएपी, १० हजार मेट्रिक टन पोटास र ८० हजार मेट्रिक टन युरिया आयात प्रक्रिया अघि बढेको कम्पनीले जानकारी दिएको छ ।

हाल कम्पनीसँग ३ सय टन युरिया, २८ टन डीएपी र २ हजार ४ सय टन पोटास मौज्दात रहेको छ । कम्पनीको भण्डारण रित्तिँदै गएका बेला मल खरीदका लागि कुनै पनि अनुभव नभएको कम्पनीलाई खरीदको ठेक्का दिइनुले किसानले मल पाउन नसक्ने अवस्था देखिएको छ । अहिले नै पर्याप्त मल नहुँदा कृषकहरू चिन्तित हुन थालेका छन् ।
शैलुङ इन्टरप्राइजेजले ठेक्का पाउँदैमा आत्तिहाल्नुपर्ने अवस्था नभएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले बताए । काम गर्ने क्रममा गल्ती देखियो भने कारबाही हुने उनले दाबी गरे ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्