ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अन्तरराष्ट्रिय उडान इजाजतका लागि यती एयरलाइन्सको मन्त्रालयमा निवेदन

२०७७ असार, २६  
समाचार
Image Not Found

असार २६, काठमाडौं । सरकारले अन्तरराष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीसँग मागेको प्रस्ताव आह्वानमा एक मात्र कम्पनीको प्रस्ताव परेको छ ।

आन्तरिक उडान मात्र गर्दै आएको यती एयरलाइन्सले अन्तरराष्ट्रिय उडान इजाजतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको हो । यतीले आफ्नो भगिनी संस्था तारा एयरमार्फत अन्तरराष्ट्रिय चार्टर उडानका लागि निवेदन दिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले अन्तरराष्ट्रिय उडान अनुमतिका लागि मुलुकमा सञ्चालनरत आवश्यक मापदण्ड पूरा गरेका इच्छुक आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव मागेको थियो ।

यती एयरलाइन्सले यसअघि पनि अन्तरराष्ट्रिय उडानको इजाजत (लाइसेन्स) लिएको थियो । विसं २०६३ मा ‘यति इन्टरनेशनल’ नाममा इजाजत लिएको यति एयरलाइन्सले चीनसँगको सहकार्यमा अहिलेको अवस्थामा हिमालय एयरलाइन्स नाममा अन्तरराष्ट्रिय उडान सञ्चालन गरिरहेको जानकारी दिइएको छ ।

कम्पनीले अन्तरराष्ट्रिय चार्टर उडानका लागि मात्रै इजाजतका लागि निवेदन दिएको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । मन्त्रालयको हवाई महाशाखाका अनुसार यतीले ‘सेडुअल’ उडानका लागि नभई चार्टर उडानका लागि मात्रै इजाजत मागेको छ । 

इजाजतका लागि प्राप्त कागजातको अध्ययन गरी निर्णय गर्न मन्त्रालयको हवाई महाशाखा प्रमुखसमेत रहनुभएका सहसचिव आचार्यको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ । 

समितिमा नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रतिनिधि तथा आमन्त्रित विज्ञ सदस्य रहनेछन् । उक्त समितिले सम्पूर्ण कागजातको अध्ययन गरी मूल्यांकनको आधार किटान गर्नेछ । 
समितिले सातदेखि १५ दिनभित्र इजाजतबारे टुंगो लगाउनेछ । मन्त्रालयबाट इजाजत प्राप्त भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुयान सञ्चालन अनुमति एयर अपरेटर सर्टिफिकेट (एओसी) लिनुपर्ने हुन्छ । 

सहसचिव आचार्यले अध्ययन कमिटिले साउनको शुरुदेखि मूल्यांकन प्रक्रिया अघि बढाउने बताए । यतीले अन्तरराष्ट्रिय चार्टर उडानमा पुरानो श्री एयरलाइन्सको इजाजतजस्तै यात्रु र कार्गो चार्टरको लागि निवदेन दिएको जानकारी दिइएको छ ।

निकट भविष्यमै सञ्चालनमा आउने निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नजिकका अन्तरराष्ट्रिय गन्तब्यमा उडान भर्ने गरी यतीले उडान अनुमतिको प्रक्रिया अघि बढाएको बुझिएको छ । 

आगामी डिसेम्बरभित्र निर्माण सकिने गरी भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम द्रुत गतिमा अघि बढिरहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत रहेको छ ।

नेपालमा अहिले निजी क्षेत्रका यतीसहित बुद्ध एयर र श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडानको इजाजत (लाइसेन्स) पाएका छन् । यीमध्ये श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडान गर्न पाएको छैन । 

छोटा गन्तब्यमा चार्टर र कार्गो उडान गर्दै आएको छ । यी कम्पनीले दक्षिण एशियाली विभिन्न मुलुकमा कार्गो र चार्टर उडान भने गर्दै आएका छन् ।  बन्दाबन्दीको अवधिमै पनि बुद्ध एयरले बङ्गलादेश र यतीले सिङ्गापुर र अफ्रिकी मुलुक सुडानमा चार्टर उडान गरेको थियो । बुद्ध एयरले यसअघि भारतको बनारस र कोलकात्तामा व्यावसायिक उडान गरेको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्