ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बाढी-पहिरो प्रभावितको उद्धारका लागि सरकारका संयन्त्रले सम्पूर्ण सामर्थ्यसहित काम गर्दैछ : प्रधानमन्त्री

२०७७ असार, २६  
समाचार
Image Not Found

असार २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरोलगायत प्राकृतिक विपद्का स्थितिमा सरकारका संयन्त्रले सम्पूर्ण सामर्थ्यसहित कुनै कसर नराखी जोखिम मोलेर उद्धार र सहयोग गरिरहेको बताउनुभएको छ । 

बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोना रोकथामका सम्बन्धमा शुक्रवार साँझ नेपाल टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सेना, प्रहरी, कर्मचारी, सिङ्गो संयन्त्र र सम्बद्ध निकाय नेपालका जुनसुकै भूभागमा आइपर्ने यस्ता संकट र समस्यामा आफ्ना नागरिकको साथमा रहँदै आएको बताउनुभयो । 

केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी र पहिराले पुर्‍याएको जनधनको क्षतिको जानकारीले आफूलाई स्तब्ध र दुःखित तुल्याएको जनाउँदै उहाँले प्रभावितको उद्धारमा आवश्यक सुरक्षाकर्मी परिचालन तथा संघीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिएको र प्रभावितलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको स्पष्ट गर्नुभयो ।

‘उद्धारका साथै नागरिकहरु विपत्तिमा पर्नै नपरोस् भनेर असुरक्षित बसोबासका स्थानलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा विपद् न्यूनीकरणका उपायहरू अवलम्बन गर्नेजस्ता अनेकाँैं दूरगामी महत्वका कार्यक्रम पनि सँगसँगै सञ्चालन गरिएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यतिबेला मेरो ध्यान आम नागरिकको जीवनरक्षामा केन्द्रित रहेको छ । 

हामीले महामारी र प्राकृतिक विपत्तिप्रति खेलबाड गरेर महाविपत्ति निम्त्याउन किमार्थ मिल्दैन । तसर्थ, जहाँ विपद् र विपत्ति आइलागेको छ, त्यहाँ सरकारका तीनओटै तह, जनप्रतिनिधि, राजनीतिक नेता, कार्यकर्ता, सबै जनता एकजुट भएर सम्भव सबै प्रकारका उद्धार, सहयोग र तत्काल उपचारको कामलाई प्रभावकारी रुपमा अघि बढाउन म विशेष आग्रह गर्दछु ।’

कोरोना रोकथामका लागि सचेत हुन आग्रह
नेपाल कोरोना महामारीको असर एवं त्यसबाट अर्थतन्त्रमा आइपरेको प्रभावलाई व्यवस्थापन र पुनरुत्थानमा लागेको उल्लेख गर्दै उहाँले संक्रमितमध्ये हालसम्म ज्यान गुमाउनेको संख्या ० दशमलव २१ प्रतिशत भएको जनाउनुभएको छ । कोरोना रोकथामका लागि सुरक्षाकर्मीसँगै चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति अग्रिम मोर्चाका ‘सिपाही’का रुपमा उपचारमा अहोरात्र खटिएको र यही बलले महामारीलाई परास्त गरिरहेको प्रधानमन्त्रीले बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले बन्दाबन्दीलाई केही खुकुलो पारिएसँगै संक्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेकाले  समुदायमा फैलिन गए भयावह अवस्था सिर्जनासमेत हुने भएकाले सबैमा थप गम्भीरता, अनुशासन र सचेतना आवश्यक रहेको बताउनुभयो ।

‘राजधानी उपत्यकालाई महामारीबाट जोगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चिकित्सक/स्वास्थ्यकर्मीहरुबाट सुझाइएको सुरक्षित रहने उपाय कुनै पनि हालतमा अपनाउनुपर्दछ’,  उहाँले भन्नुभएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्