ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

१० हजार मेट्रिकटन चामल खरीद गर्दै खाद्य व्यवस्था कम्पनी

२०७७ सावन, ७  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १० हजार मेट्रिकटन चामल खरीद गर्ने भएको छ । आपूmसँग भएको खाद्यान्नको मौज्दात घट्दै गएपछि कम्पनिले चामल खरीदका लागि गएको चैतदेखि पटकपटक टेन्डर आह्वान गरे पनि तेस्रो पटकसम्म पनि आवेदन परेको थिएन । चौथोपटक आह्वान गरिएको टेन्डरमा न्यूनतम दर कबुल गर्ने विभिन्न ६ ओटा कम्पनीले चामल खरीदका लागि बोलपत्र हालेका छन् ।

बोलपत्रदातालाई कम्पनीले १५ दिनभित्र सम्झौता गर्न आउन समय तोकेको छ । कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार चामल खरीद गर्ने कम्पनीहरूले खरीद तथा ढुवानीका लागि २ महीना समय पाउनेछन् । हाल कम्पनीसँग खाद्यान्नको मौज्दात समेत घट्दै गएकाले अब तत्काल चामल खरीद गर्नुपर्ने उनले बताइन् ।

कम्पनीसँग यतिबेला धान, चामल र गहुँ सहित करीब १४ हजार मेट्रिकटन, कर्णालीको सिमी ४ सय ७० क्वीन्टल, केराउ ५० क्वीन्टल, मसुरोको दाल १० क्वीन्टल, रहर दाल ४० क्वीन्टल र घीउ ६ सय ३ लिटर मौज्दात छ । कम्पनीले खरीद गरेको ५ सय ८० क्वीन्टल तिते फापर विक्री हुन नसकेकाले त्यसको लिलाम विक्री गर्ने तयारी भइरहेको कम्पनीका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।

देशमा आईपर्ने विभिन्न महामारी, बाढी, पहिरो र भोकमरी जस्ता समस्याका लागि सरकारी कम्पनीले करीब ३३ हजार मेट्रिकटन चामल अनिवार्य रूपमा मौज्दात राख्नुपर्ने प्रावधान छ । तर मौज्दात भने घट्दै गएको छ ।

कोरोना महामारीका कारण कम्पनीको खरीदकार्यमा समस्या सृर्जना हुनु र अघिल्ला वर्षहरूको तुलनामा कम्पनीको विक्री बढ्नुले मौज्दात कम भएको कम्पनीको भनाइ छ । कम्पनीले बेलैमा चामल खरीदका लागि टेन्डर आह्वान गरे पनि लकडाउनकै प्रभावका कारण टेन्डर पर्न सकेन । आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले १ लाख ८० हजार क्वीन्टल खाद्यान्न विक्री गरेको थियो । गत आर्थिक वर्ष २०७६/७७ मा २ लाख ६२ हजार ६ सय क्वीन्टल खाद्यान्न विक्री गरेको छ ।

लकडाउनका समयमा कम्पनीले काठमाडौंसहित विभिन्न जिल्लामा रहेका विक्री केन्द्रहरूमार्फत खाद्यान्न विक्री गरेको थियो । राहत वितरणका लागि विभिन्न स्थानीय निकायले समेत कम्पनीसँग ठुलो परिमाणमा खाद्यान्न खरीद गरेकाले अघिल्ला वर्षको तुलनामा यस वर्ष विक्री बढेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्