ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भनाइ र गराइमा फरक

२०७७ सावन, ९  
पाठक विचार
NA

नेपालमा उद्योगको विकास हुन नसक्नुमा सरकारी नीति नै गलत रहेको देखिन्छ । नेपालमा उद्योग खोलेरभन्दा बाहिरबाट सामान ल्याएर बेच्न सजिलो छ, मुनाफा सुनिश्चित छ र मुनाफा बढी पनि छ । कतिपय सामग्रीमा कच्चा पदार्थमा महँगो भन्सार छ भने तयारी वस्तुमा कम भन्सार लगाइएको छ । स्वदेशी उद्योगलाई संरक्षण गर्ने भन्ने सरकारको नीति नभएको होइन तर पनि उद्योगले भोगिरहेका समस्या समाधान गर्न भने सरकार उदार देखिएको छैन ।

मूल्य वृद्धिलाई नियन्त्रण गर्न पनि कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा धेरै फरक गर्न नहुने अर्थमन्त्रीको भनाइ आएको छ । तर, कतिपय वस्तुमा नेपाली उत्पादनलाई बढी अन्तःशुल्क लगाइएको छ ।

त्यसो त स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सार्वजनिक खरीद ऐनमा १५ प्रतिशत महँगो भए पनि स्वदेशी वस्तु किन्नुपर्ने व्यवस्था गरेको छ । तर, कार्यालयहरूले सामान किन्दा यसलाई अनिवार्य गरेको पाइँदैन । अर्को, स्वदेशी उत्पादनबीच प्रतिस्पर्धा गर्ने गरिएको छैन । वस्तुको गुणस्तर, आपूर्ति नियमितताजस्ता विभिन्न प्रश्न गरेर नेपाली उद्योगलाई हतोत्साही पार्ने गरिएको छ । सरकारले व्यावसायिक वातावरण बनाइदिने, कानून निर्माण गर्ने, पूर्वाधार तयार गर्ने, आपूर्ति व्यवस्थालाई व्यवस्थित गर्ने तथा शान्ति सुरक्षा दिने काम राम्ररी गरे उद्योगमा लगानी बढ्छ । उत्पादन बढ्छ । विक्री बढेपछि व्यवसायीबाट सरकारले कर पनि पाउँछ । औद्योगिक उत्पादनको एउटा चक्र हुन्छ । त्यो चक्र पूरा गर्ने वातावरण सरकारले बनाइदिनुपर्छ । तर, निजीक्षेत्रप्रति सरकारी दृष्टिकोण सधैं नकारात्मक रहिआएको छ । यसले पनि उद्योग खोल्नभन्दा व्यापारतिर लाग्न व्यवसायीलाई प्रोत्साहित गरेको हो ।

जुनजुन कारणले उद्योग विकास हुन सकेको छैन ती कारण सरकारलाई पनि थाहा छ र निजीक्षेत्रलाई पनि राम्रै थाहा छ । यस्तोमा सबै मिली स्वदेशमै उद्योग खोल्नुपर्छ । शुरूमा एसेम्ब्लिङ उद्योग खोले पनि हुन्छ । तर, नेपालमा एसेम्ब्लिङलाई नराम्रो दृष्टिले हेर्ने गरिएको छ । यहाँ एसेम्बल गरिएका सामानको मूल्य पनि खासै सस्तो छैन । मूल्यमा धेरै फरक नपरेपछि बाहिरकै उत्पादन किन्नु स्वाभाविक हो । एसेम्बल गरिएको सामानले बजार लिन थाले भने पनि बिस्तारै उद्योग खुल्ने क्रम बढ्नेछ ।

हरि कार्की
मण्डिखाटार, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्