ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

परम्परागत कलाको औद्योगिकीकरण संरक्षण र आधुनिकीकरणका उपाय

२०७७ सावन, १२  
लेख | दृष्टिकोण
Image Not Found

हाम्रा शास्त्रहरूमा ६४ ओटा विभिन्न कलाका बारेमा उल्लेख गरिएको छ । कलाको परिभाषा र व्याख्यालाई उक्त समयमा मन्त्र (ज्ञान) भनिथ्यो भने मन्त्र (ज्ञान)हरूको प्रयोगविधि (विनियोग)सम्बन्धी ज्ञानदातालाई ब्राह्मण भनिन्थ्यो, जसले मन्त्र र विनियोगबमोजिम वस्तु तथा सेवाको सृजना गर्न सक्थे तिनलाई कलाकार भनिथ्यो । यसरी मन्त्र, विनियोग र कलाकारको संयुक्त अभ्यास वास्तवमा पूर्वीय कलाको आधारस्तम्भ थिए । हिमवत्खण्डमा विस्मृतिको युगको आरम्भसँगै समयक्रममा उपर्युक्त तीनओटा त्रिकोणलाई जोड्ने भुजाहरूको टुट्ने क्रम शुरू भयो । कलामा रहेको मन्त्र र विनियोग पक्ष तथा कलाकारको सम्बन्ध विच्छेद हुँदै गर्दा परम्परागत कला विशेष जातिमा श्रुति, स्मृति परम्परामा एनकेन प्रकारेण कलाहरू जीवितै रहेको पाइन्छ । पछि गएर यस क्षेत्रमा विद्या र कला विपरीत ध्रुवका रूपमा व्यवहार हुन थाल्यो । विद्या हुनेलाई कलामा निषेध र कला हुनेलाई विद्यामा निषेधको अचम्मको प्रथा शुरू भयो, जसको पराकाष्ठाका रूपमा छुवाछूत प्रथा समाजमा देखा पर्‍यो ।

विश्वभरि नै परम्परागत कलाको संरक्षण गर्दै ती कलाको आधुनिकीकरण, औद्योगिकीकरण र बजारीकरणका माध्यमबाट मुलुकको समग्र आर्थिक जग बलियो बनाउने प्रयत्न भइरहेको छ ।

यसरी विस्मृतिको पहिलो चरणमा मन्त्र, ब्राह्मण र कलाकारको त्रिभुज ध्वस्त भइसकेपछि विक्रमको दशौं शताब्दीपछि बचेखुचेको कला विकासको परम्परा पनि ध्वस्त हुन पुग्यो । सिंगो हिमवत्खण्डमा आफ्ना ज्ञान र कलाको घृणा अपहेलना र तिरस्कार गर्ने र विदेशी कलाको अन्धानुकरण गर्ने प्रथाको जन्म हुन थाल्यो । यूरोपको पुनरोदयपश्चात् विश्वभरि स्थापित भाष्यमा पश्चिमी मूल्यमान्यता र शैलीको स्थापना हुन थाल्यो । यसको सबैभन्दा गम्भीर प्रभाव परम्परागत रूपमा हस्तान्तरण हुँदै आएका कलाहरूमा पर्न गयो ।

परिणामस्वरूप त्यही प्रकृतिका पश्चिमा सृजित कलाहरू समाजमा स्थापना हुँदै छ भने परम्परागत नेपाली कला विस्थापित हुँदै छ । नेपाली समाजबाट मध्यकलाको विस्थापन यसको ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ । नेपालमा प्रायशः जातिहरूमा विद्यमान मध्यकलालाई कसरी प्रताडित गर्दै विस्थापित गरिँदै छ र कथित औद्योगिकीकरणमा नाममा कसरी विदेशी कला र प्रविधिमा आधारित मध्यकलालाई समाजमा स्थापित गरिँदै छ भन्ने विषय नेपालमा सबैलाई ज्ञात नै छ । परिणामस्वरूप परम्परागत नेपाली शैली, शिल्प, प्रविधि तथा कच्चापदार्थमा आधारित कलाहरू विलुप्त हुँदै छन् । विकल्पमा आयातित शैली, शिल्प, प्रविधि तथा कच्चापदार्थका कलाहरू समाजमा स्थापित हुँदै छन्, जो महँगो, अस्वाभाभिक र विदेशी शिल्प, प्रविधि र कच्चापदार्थमा आधारित हुँदै गएको पाइन्छ ।

परम्परागत कलाको हिमवत्खण्डको मौलिक स्वरूपमा संरक्षण हुन नसक्दा देहायका नकारात्मक प्रभावहरू समाजमा व्याप्त भएको पाइन्छ । पहिलो, सम्बद्ध कलाका पोख्त समुदाय आफ्ना परम्परागत पेशाबाट विस्थापित हुने, नयाँ पेशामा पनि सिद्धहस्त हुन नसक्ने भई समाजको एउटा तप्का चरम गरीबीको दुश्चक्रमा फस्न बाध्य हुन पुगेको छ । दोस्रो, परम्परागत मौलिक कलामा सिद्धहस्त जातिहरूलाई समाजमा उचित मर्यादा र सम्मान प्राप्त नहुँदा ती कलामा स्वदेशमा जनशक्तिको चरम अभाव हुन थालेको छ र विदेशी कालिगढ र कलाकारहरूले परम्परागत रूपमा सिद्धहस्त जातिहरूको पेशालाई विस्थापन गर्न थालेका छन् । नेपालको सुनचाँदी व्यवसाय यसको ज्वलन्त उदाहरण हाम्रासामु स्पष्ट देखिन्छ । कलाक्षेत्रमा संलग्न कलाकारका शीपको परिवर्तित सन्दर्भमा उचित आधुनिकीकरण, बजारीकरण र औद्योगिकीकरण हुन नसक्दा ती क्षेत्रबाट प्रतिभा पलायन र संकुचनको अवस्था सृजना भएको छ । नेपालका काष्ठका भाडाकुँडा र फर्निचर उत्पादन क्षेत्रमा परम्परागत रूपमा संलग्न राउटे समुदायका उत्पादनको बजार अभाव यसको पछिल्लो उदाहरणमा रूपमा सबैले महसूस गरेको विषय नै हो । यस्ता कयौं क्षेत्र छन्, जसको औद्योगिकीकरण, आधुनिकीकरण र बजारीकरणको अभावमा त्यस्ता जातिहरूमा विद्यमान परम्परागत शीप समयक्रमसँगै विलीन हुने चरणमा छन् । यी क्रियाकलापको अन्तिम परिणति भनेको कलाक्षेत्रमा मुलुक दिनप्रतिदिन परनिर्भर हुनु र सेवा र वस्तुको आपूर्ति आयातमा निर्भर हुनु नै हो । यी परिस्थितिको मिहीन विश्लेषण गर्दै नेपालले पनि आप्mना परम्परागत कलाहरूको संरक्षण, प्रचारप्रसार र प्रवद्र्धन गर्न आवश्यक देखिन्छ ।

विश्वभरि नै परम्परागत कलाको संरक्षण गर्दै ती कलाको आधुनिकीकरण, औद्योगिकीकरण र बजारीकरणका माध्यमबाट मुलुकको समग्र आर्थिक जग बलियो बनाउने प्रयत्न भइरहेको छ । पहिलो, परम्परागत शीपयुक्त जातिहरूको सशक्तीकरण अनुसन्धान, शिक्षण, तालीम र उद्यमशीलता विकासमा माध्यमबाट स्वदेशी कलाको संरक्षण गर्ने र त्यसबाट आर्थिक गतिविधिहरू सृजना गरी मुलुकको समग्र अर्थतन्त्रलाई चलायमान गराउने रणनीति विश्वभरि आम रूपमा प्रचलनमा रहेको छ । बेलायतमा काठका सामान उत्पादन गर्ने विशेष गरी मदिरा भण्डारण गर्ने काठका भाडा उत्पादन गर्ने कार्यमा विशेष जातिलाई सशक्तीकरण गर्ने प्रचलन छ । इटालीको छाला उद्योग, स्वीट्जरल्यान्डको घडी उद्योग, फ्रान्सको वाइन उद्योगमा यसप्रकारको प्रचलन पाइन्छ । मेरो परिवार यत्ति सय वर्षदेखि, यति पुस्तादेखि यस व्यवसायमा संलग्न छ भने पछि ती उद्योगका उत्पादनको महŒव र ख्याति ठूलो सकारात्मक प्रभाव पारिरहेको हुन्छ । नेपालमा पनि यो मोडेल लागू गर्न सकिने सम्भावना प्रशस्त छ । यसका लागि परम्परागत रूपमा जुन जातिले जुन कलालाई पुस्ता दर पुस्ताले थामिरहेको र हस्तान्तरण गरिरहेको छ ती जातिलाई सोही क्षेत्रमा सशक्त र सक्षम बनाउन आवश्यक छ । यसका लागि सम्बद्ध कलालाई सम्बन्धित जातिका लागि आरक्षण गरिनुपर्छ । उनीहरूलाई आवश्यक पर्ने पूँजीको सहज, सुलभ र सरल उपलब्धताको व्यवस्था हुनु पनि जरुरी छ । त्यस्तै सम्बद्ध जातिले आप्mना परम्परागत कलामा आधारित उद्योग, व्यवसाय सञ्चालन गर्दा अनन्तकालीन करमुक्तिको व्यवस्था गर्न पनि आवश्यक देखिन्छ । सम्बद्ध कलाको अध्ययन, अनुसन्धान, उद्यमशीलता विकास, तालीम, प्रचारप्रसार र नीतिगत सुधारजस्ता क्रियाकलापमा पनि सम्बद्ध जातिको नेतृत्वदायी भूमिकाको प्रत्याभूति हुन पनि त्यत्तिकै जरुरी छ ।  

कलागत संस्थानहरूको स्थापना र ती संस्थानमार्फत अनुसन्धान, शिक्षण, तालीम र उद्यमशीलता विकासका माध्यमबाट पनि परम्परागत कलाको विकासबाट समृद्धि प्राप्त गर्ने दोस्रो मोडेल विश्वभरि प्रख्यात रहेको छ । विश्वका अधिकांश विकासशील देशमा यस्ता संस्थागत व्यवस्थाबाट परम्परागत कलाको विकास गर्ने गरिन्छ । भारतमा वस्तुगत अनुसन्धान संस्थाहरूका माध्यमबाट यी क्रियाकलाप सञ्चालित छन्, जसले परम्परागत कलाको संरक्षण, अनुसन्धान, शिक्षण, तालीम र उद्यमशीलता विकास कार्यलाई अनवरत रूपमा निरन्तरता दिइरहेका छन् । परम्परागत कलालाई आधुनिक परिपे्रक्ष्यमा समयसापेक्ष बनाउँदै यसको उपयोग र उपादेयतामा वृद्धि गर्न पनि मद्दत गरिरहेका छन् । परम्परागत कलाको प्रवद्र्धनको तेस्रो मोडल हो, परम्परागत शीपयुक्त जातिको नेतृत्वदायी भूमिकामा यस्ता कलाको विकास गर्दै जाने जसलाई अर्को भाषामा मिश्रित मोडल पनि भन्न सकिन्छ । भारतमा सिलाई उद्योग यस मोडलमा विकास भएको हो । शीपहरूको संस्थागतीकरणमा परम्परागत शीपयुक्त जातिको नेतृत्वदायी भूमिकामा सबै वर्ग र क्षेत्रहरूमा परम्परागत कलाको विस्तार गर्दै कलाको विकासका माध्यमबाट मुलुकको समग्र आर्थिक वृद्धि गर्ने यो मोडल कलाको संरक्षण, विविधीकरण, नवप्रवर्तन र विस्तारमा पनि माथिल्ला दुईओटा मोडलझैं उपयुक्त छ ।

उपर्युक्त तीनओटा मोडेललाई कार्यान्वयन गर्दै नेपालको परम्परागत कलाको संरक्षणका माध्यमबाट आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र देशमा व्याप्त चरम गरीबीको अन्त्य गर्न देहायका कार्यहरू तत्का प्रारम्भ गर्न आवश्यक छ । परम्परागत कलाको संरक्षण र संवर्द्धनका लागि कला सृजनामा संलग्नहरूको पेशाको मर्यादा बढाउनु हो । परम्परागत कलाको निरन्तरताका लागि ती क्षेत्रलाई अनुदान, अनन्तकालीन करमुक्ति, प्रोत्साहन, अनुसन्धान र विकासलगायत क्षेत्रमा सरकारको व्यापक लगानी आवश्यक देखिन्छ । यी दुईओटैै क्रियाकलापको मूल ध्येय कलाबाट सृजित वस्तु तथा सेवाको प्रतिस्पर्धात्मक क्षमताको विकास, गुणस्तर सुधार, रूप र उपयोगितामा सुधार नै हुुनुपर्छ ता कि ती कलाले आयातित वस्तु र सेवासँग मात्र होइन, बाह्य बजारमा पनि प्रतिस्पर्धा गर्न सक्षम होऊन् । यस्तो गर्न सकेको खण्डमा नेपालको परम्परागत कला नेपालको समृद्धिको प्रमुख आधार बन्ने निश्चित छ ।
 
लेखक व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्