ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुगर मिल बन्दको संकेत

२०७७ सावन, १४  
सम्पादकीय
Image Not Found

गत केही वर्षदेखि घाटामा गइरहेको रौतहटमा सञ्चालित श्रीराम सुगर मिल्स कोरोनाको कारण देखाउँदै सधैंका लागि बन्द गर्न निर्णयमा पुगेको छ । मिल्सले अत्यधिक घाटा भएको र उद्योग चलाउने वातावरण नभएको भन्दै उद्योग बन्द गर्न बाध्य भएको सूचना सरकारी निकायहरूलाई समेत दिएको छ । एउटा कम्पनी बन्द हुनु सामान्य भए पनि नेपालको सन्दर्भमा यो घटनाका निकै अर्थ लाग्ने र विभिन्न क्षेत्रमा प्रभाव पार्ने देखिन्छ ।

कृषिप्रधान मुलुकमा कृषि उद्योग नै बन्द हुने अवस्था आउँदा नयाँ लगानी निकै चुनौतीपूर्ण हुने देखिन्छ ।

विगत २ दशकदेखि सञ्चालनमा आएको उद्योगले शुरूमा राम्रै मुनाफा कमाएको देखिन्छ । तर, पछिल्ला केही वर्षमा भने कम्पनी निरन्तर घाटामा गएको छ । उद्योगको कुल घाटा २ अर्ब १७ करोड पुगेपछि बन्द गर्न बाध्य भएको कम्पनीले जानकारी दिएको छ । यसमा उखु किसानहरूलाई तिर्न बाँकी करोडौं रुपैयाँ पनि जोडिएको छ । कम्पनीले चलअचल सम्पत्ति विक्री गरेर पनि बाँकीबक्यौता तिर्ने बताएको छ । यसरी कम्पनी बन्द हुँदा निकै प्रश्न उठेका छन् ।

पहिलो, नेपालका चिनी उद्योगको भविष्यमा प्रश्न उठेको छ । धेरै चिनी मिलले चिनी विक्री नभएको, मुनाफा नभएको भन्दै उखु किसानलाई उखुको मूल्य तिरेका छैनन् । सरकारले भुक्तानी गर्न दबाब दिएर मिति तोके पनि थोरैले मात्रै भुक्तानी दिएका छन् । गतवर्षको यो विवादमा एकातिर उखु किसानले रुँदै धर्ना दिएका थिए भने चिनी मिलका सञ्चालकहरू पनि रुँदै आफ्नो समस्या सुनाइरहेका थिए । तर, यी दुवै पक्षको समस्या सम्बोधन गर्न सरकार चुक्नुको परिणति हो, चिनी मिल बन्द हुनु । अन्य चिनी मिल पनि बन्द भए भने उखु किसानको समस्या झनै भयावह हुनेछ ।

दोस्रो, चिनी मिल कोरोनाका कारण समस्यामा परेको होइन तर यही कारण देखाएर बन्द गरिएको छ । यसले गलत नजीर स्थापना गर्न सक्छ । विभिन्न कारणले उद्योगी र कामदारबीच समस्या भएका अन्य कम्पनी पनि यसै गरी बन्द गर्ने गलत परम्परा स्थापित भयो भने औद्योगिक विकासको यात्रामा धक्का लाग्नेछ ।

तेस्रो, उत्पादनमूलक उद्योग खुल्ने क्रम तीव्र नबनेको, उद्योग खोल्नुभन्दा व्यापार गर्नतिर व्यावसायिक घरानाहरू सक्रिय भइरहेको अवस्थामा यो मिल बन्द हुँदा औद्योगिक उत्पादन झनै घट्ने सम्भावना हुन्छ । चिनी उत्पादन गर्नुभन्दा आयात गरेर विक्री गर्न बढी फाइदा हुने भएपछि उद्योग चलाउने टन्टा कसले बोकोस् ?

चौथो, श्रीराम सुगर मिल्स कम्पनी पूरै बन्द भएको हो कि उत्पादन बन्द भएको हो, सूचनाले स्पष्ट पार्दैन । सूचनाले ‘कम्पनी सञ्चालन गर्न अनुकूलता नभएसम्म उद्योग स्थायी रूपमा सदाका लागि बन्द’ भन्ने जानकारी दिन्छ । तर, कुनै पनि कम्पनी बन्द गर्न कानूनले त्यति सजिलो बाटो दिएको छैन । कम्पनी बन्द गर्ने हो भने कम्पनी रजिस्ट्रार कार्यालयमा निवेदन दिनुपर्छ, लिक्वीडेटरको नियुक्ति गर्नुपर्छ । यी कुरा सूचनामा खुलाइएको छैन । त्यसैले कम्पनीले उत्पादन बन्द गरेको हो वा कम्पनी नै खारेज गर्न आ“टेको हो, स्पष्ट छैन । यद्यपि कम्पनीले चलअचल सम्पत्ति विक्री गरी बाँकीबक्यौता तिर्ने र यसका लागि सरकारी अनुमति लिने प्रक्रिया शुरू गरेको बताएको छ ।

पाँचाैं, शेयरबजारमा उत्पादनमूलक कम्पनीलाई प्रवेश गराउन निकै प्रयास भइरहेको छ । रू. १०० को यो कम्पनीको शेयरबजारमा सोमवार मात्रै रू. ३३८ रुपैयाँमा कारोबार भयो । कम्पनीले ३ सय प्रतिशत हकप्रदका लागि दिएका आवेदन थन्किएर बसेको छ । उत्पादनमूलक कम्पनी शेयरबजारमा प्रवेश गराउने विषयमा यसले नकारात्मक सन्देश दिने देखिन्छ ।

कुनै पनि उद्योग बन्द हुनु अर्थतन्त्रका लागि खराब संकेत हो । त्यसमा पनि कृषिप्रधान मुलुकमा कृषि उद्योग नै बन्द हुने अवस्था आउँदा नयाँ लगानी निकै चुनौतीपूर्ण हुने देखिन्छ । कसैले उद्योग बन्द गर्छु भन्दा त्यसका लागि बाटो खुला गरिदिनुपर्छ तर त्यसमा निश्चित कानूनी प्रक्रिया पूरा गर्नैपर्छ । श्रीराम सुगर मिल्सले त्यो प्रक्रिया पूरा गरेको छैन, त्यसमा गलत आशय लुकेको छ भने त्यसमा ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्