ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सवस्टेशनमा केबुल जलेपछि सल्यान र रुकुममा विद्युत अवरुद्ध 

२०७७ सावन, १४  
कर्णाली प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

साउन १४, सल्यान । सल्यानको सितलपाटीमा रहेको ३३ केभि क्षमताको सवस्टेशनमा आगलागी हुँदा मंगलवारदेखि दुई जिल्लामा विद्युत अवरुद्ध भएको छ । सवस्टेशनमा जोडिएको केबुल आगो लागेर जलेपछि सल्यान र रुकुम पश्चिममा विद्युत सेवा बन्द भएको हो ।

जिल्लामा मर्मत गर्ने जनशक्तिको अभाव भएकोले नेपालगञ्जबाट प्राविधिक आएर मर्मत कार्य शुरु गरिएको नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख अर्जुन कुमार पोखरेलले जानकारी दिए । 

आगलागीबाट कति क्षति भएको छ भन्ने अहिलेसम्म थाहा नभएको उनले बताए । ‘अहिले मर्मतको काम शुरु भएको छ आगलागीले केबुल मात्र जलेको भए छिट्टै विद्युत शुचारु हुन्छ, ट्रान्समिटरमा क्षति भएको भए विद्युत शुचारु हुन केहि दिन लाग्न सक्छ’ पोखरेलले भने । लगातारको वर्षाले मर्मत कार्य समेत प्रभावित भइरहेको उनको भनाइ छ ।

मंगलवार राती सवस्टेशनमा रहेको ट्रान्समिटरमा जोडिएको केबुलमा आगलागी भएको थियो । आगलागीबाट केबुल पूर्णरुपमा जलेको प्राधिकरणको भनाइ छ ।

जिल्लामा वर्षात शुरु हुने वितिकै विद्युत अनियमित हुँदै आएको छ । सितलपाटीमा सवस्टेशन सञ्चालनमा आएपछि समस्या समाधान हुने भनिएपनि विद्युत अनियमितताको समस्या जस्ताको तस्तै छ । पुरानो लाइन भएकोले पनि समस्या भएको प्राधिकरणको भनाइ छ ।

दाङको तुलसीपुरदेखि पश्चिम रुकुमको लाइनमा समस्या आइरहन्छ, पत्ता लगाउन एकदम गाह्रो छ’ प्रमुख पोखरेलले भने । वर्षातमा हावा लाग्ने तथा रुखहरु समेत ढल्ने भएकोले पनि विद्युत नियमित हुन नसकेको पोखरेलको भनाइ छ ।

लकडाउनका कारण नराम्ररी थला परेका व्यवसायीहरु बिजुली अनियमितताले झनै थला परेका छन् । ‘दिनभर काम गर्ने बेला बिजुली हुँदैन काम गर्न नपाएर व्यापार नै डुब्ला भन्ने लाग्न थाल्यो’ स्थानीय उद्योगी कर्ण बहादुर डागीले भने ।

विद्युत अबरुद्ध भएपछि जिल्लामा सञ्चालित उद्योग कलकारखानाहरु ठप्प भएका छन् । विद्युत अबरुद्ध भएसँगै सरकारी कार्यालय तथा बैंकिङ सेवा समेत प्रभावित भएको छ । विद्युत नहुँदा श्रीनगरमा रहेको ल्याण्डलाइन टेलिफोन सेवा समेत अबरुद्ध  भएको  छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्