ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मुख्यमन्त्रीले असम्भव भनेको स्थानमा सडक बनाउने प्रतिपक्षी दलको उद्घोष

२०७७ सावन, १४  
वाग्मती प्रदेश
Image Not Found
author avatar भानुभक्त आचार्य

साउन १४, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले राक्सिराङ गाउँपालिकाको परेवाभीरमा प्रदेश सरकारले सडक नबनाए आफ्नो निजी खर्चमा भए पनि बनाउने बताएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका बानियाँले बुधवार हेटौंडामा पत्रकार सम्मेलन गरी राक्सिराङ गाउँपालिका–५ स्थित परेवाभीरमा सडक बनाएरै छाड्ने उद्घोष गरे । परेवाभीरमा बाटो बनाउन आफूले प्रदेश सरकारलाई पहल गर्ने र प्रदेश सरकारले त्यसमा चासो नदेखाए निजी खर्चमै बनाइदिने दाबी उनले गरेका हुन् ।

विगतदेखि राष्ट्रियस्तरमा चर्चा पाइरहेको परेवाभीरप्रति मुख्यमन्त्री डोरमणि पौडेलले केही दिन अघिमात्र परेवाभीरको बाटो असम्भव भएकाले विकल्प खोज्नुपर्ने बताएका थिए ।

मुख्यमन्त्री पौडेलको यस्तो धारणा आउनासाथ पश्चिम मकवानपुरका स्थानीय बासिन्दा र जनप्रतिनिधिले उनको भनाइको चर्को विरोध गरेका थिए । परेवाभीर खण्डमा मुख्यमन्त्री पौडेलले भनेजस्तो वैकल्पिक रूपमा वारिपारि सडक बनाउने ठाउँ भने छैन ।

नेपाली कांग्रेसका नेता बानियाँले आफूले त्यही क्षेत्रबाट चुनाव लडेको र त्यहाँका जनताको समस्या समाधानको प्रयास गर्ने बताए । सडक निर्माणका लागि प्रदेश सरकारलाई धेरैपटक पहल गरेको तर, सुनुवाइ नभएको उनको भनाइ छ । ‘त्यहाँका जनता बाटो नहुँदा विभिन्न रोजगारीको अवसरबाट वञ्चित भएका छन्, गाँजा बोकेर जीवन धान्नुपर्ने स्थानीय युवाको बाध्यता अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘कि गाँजालाई वैधानिकता दिलाउन पहल गर्छु, कि सडक बनाएर रोजगारीको अवसर सृजनामा सघाउँछु ।’

बानियाँले आफूले त्यस क्षेत्रको विकास गर्ने वाचा जनतासँग गरेकोले चालू आर्थिक वर्षमा प्रदेश सरकारले परेवाभीरमा बाटो निर्माणका लागि बजेट नराखे पनि प्रदेश सरकारलाई बाटो बनाउन दबाब दिने बताए । मकवानपुरको पश्चिम क्षेत्रका जनताको विकासका लागि सडक निर्माण जरुरी रहेको उनले औंल्याए ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आफूले परेवाभीरको बाटो कुनै पनि हालतमा बनाउने अठोट लिएको पत्रकारसामु बताए । प्रदेश र संघीय सरकारसँग पनि पहल भइरहेको र गाउँपालिकाबाट पनि आफूले परेवाभीरमा सडक बनाउन सकेसम्म धेरै बजेट विनियोजन गरिने उनको भनाइ छ ।

राक्सिराङमा सडक निर्माणको विषयबारे पश्चिम मकवानपुरका स्थानीय सरकार, प्रदेशसभाका प्रतिनिधि र संघीय संसद्का प्रतिनिधिले समेत चासो देखाएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्