ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अर्थतन्त्रमा अर्को त्रास

२०७७ सावन, १५  
सम्पादकीय
Image Not Found

बारा–पर्सा औद्योगिक कोरिडोरमा रहेका उद्योगमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि औद्योगिक क्षेत्र त्रस्त बनेको छ । मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा पनि समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि त्रास छाएको छ । सरकारले बन्दाबन्दी हटाएसँगै आर्थिक गतिविधि केही सहज हुन थालेको अवस्थामा प्रमुख आर्थिक केन्द्रहरूमा कोरोनाका संक्रमित बढ्न थालेपछि अर्थतन्त्र संकटको अर्को चक्रमा फस्न सक्ने त्रास पैदा भएको छ ।

हचुवाका अव्यावहारिक निर्देशन दिएर सरकारले जोखिम झनै बढाएको छ । यदि सरकार कोरोनाविरुद्ध केही गर्न सक्ने सामर्थ्य राख्दैन भने जनतालाई तिमीहरू आफै जोगिओ, आफै उपचार गर, सरकारले केही गर्दैन भन्न सक्नुपर्छ ।

महामारी नियन्त्रण गर्ने जिम्मा सरकारको हो । तर, यसकै नाममा नागरिकको स्वतन्त्रताको हक भने खोसिन हुँदैन । बन्दाबन्दी लगाउनुअघि पनि सरकारले पर्याप्त तयारी गरेको थिएन । बन्दाबन्दीकै समयमा रोकथाम तथा उपचारका लागि तयारी गर्नुुपर्ने थियो, त्यसमा पनि सरकार चुक्यो । व्यापक जनदबाबपछि बन्दाबन्दी खुकुलो बनाएको सरकारले राजस्व उठाउनकै लागि विनातयारी बन्दाबन्दी अन्त्य गर्‍यो । बन्दाबन्दी अन्त्य गरेपछि संक्रमित बढेमा के गर्ने, बढ्न नदिन के गर्ने आदि चरणबद्ध कार्ययोजना तयार पार्नुपर्थ्यो । तर, हचुवाका अव्यावहारिक निर्देशन दिएर सरकारले जोखिम झनै बढाएको छ । यदि सरकार कोरोनाविरुद्ध केही गर्न सक्ने सामर्थ्य राख्दैन भने जनतालाई तिमीहरू आफै जोगिओ, आफै उपचार गर, सरकारले केही गर्न सक्दैन भन्न सक्नुपर्छ । यसो भए बरु जनता बढी सचेत भएर काम गर्न सक्छन् ।

बन्दाबन्दी खुकुलो भएसँगै उद्योगहरू बिस्तारै खुल्न थालेका थिए । यो हटेपछि उद्योगहरू सञ्चालन हुने क्रम बढ्दै छ । यी विषय सकारात्मक भए पनि सरकारले कोरोनाविरुद्धको अभियानलाई थप सुस्त बनाउँदै लगेकाले अर्को चरणको संक्रमणको चेतावनी जनस्वास्थ्यविद्हरूले दिन थालेका छन् । सरकारले विनायोजना काम गरेको देख्दा एकडेढ महीनापछि फेरि बन्दाबन्दी घोषणा गर्न निहुँ खोजेको जस्तो देखिन्छ ।

खुला सिमाना रहेको दक्षिणी छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण निकै उच्चदरमा बढिरहेको छ । विश्वकै तेस्रो बढी संक्रमित भएको देश भारतको नेपाली सीमावर्ती क्षेत्रमा पनि कोरोना संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ । राजधानी काठमाडौंमै फेला परेको केही संक्रमित भारतबाट नेपाल आएको देखिएको छ । यस्तो अवस्थामा सरकारले कोरोनाका परीक्षण, कन्ट्याक्ट ट्रेसिङलगायत काम बढाउनुपर्ने हो । बन्दाबन्दी अन्त्य गरेपछि सरकारको भूमिका र जिम्मेवारी झनै बढेको छ । तर, सरकारले योजनाबद्ध ढंगले काम गर्नुपर्नेमा त्यसो गरेको देखिँदैन ।

बन्दाबन्दी हटेपछि स्वाभाविक रूपमा सामाजिक जनजीवनका साथै आर्थिक क्षेत्र सक्रिय हुन थालेको छ । यद्यपि पर्याप्त आर्थिक गतिविधि नहुँदा व्यवसायीहरूले खासै लाभ लिन सकेका छैनन् । औद्योगिक उत्पादन विक्री हुन सकेको छैन । पसलहरूमा चहलपहल देखि“दैन । साउन १६ गतेदेखि होटेल, रेन्टुराँका साथै विभिन्न पर्यटकीय क्षेत्रहरू खुला हुँदै छन् । त्यस्तै भदौ १ गतेदेखि नै आन्तरिक र बाह्य उडान पनि सञ्चालन गर्ने तयारी भइरहेको छ । तर, संक्रमण समुदायस्तरमा गयो भने वीरगञ्ज र विराटनगरमा जस्तो निषेधाज्ञा लगाउनुपर्ने हुन्छ । यस्तो अवस्था आयो भने आर्थिक क्षेत्र झनै समस्यामा पर्ने देखिन्छ । कोरोनाकै कारण अर्थतन्त्र संकटको भुवरीमा फसेको छ । यद्यपि कोरोना संक्रमण शुरू हुनुअगावै पनि अर्थतन्त्र सकारात्मक बाटोमा थिएन । तर, कोरोनापछि भने अर्थतन्त्रका सबै चरहरू कमजोर भएका छन् । यस्तोमा अर्थतन्त्र जोगाउनकै लागि भए पनि कोरोनाविरुद्धको अभियान तीव्र र सशक्त पार्नैपर्ने बाध्यता छ । विनाकार्ययोजना बन्दाबन्दी हटाउनु गलत थियो भने हटेपछि पनि यसविरुद्धको रणनीति नबनाउनु अर्को ठूलो गल्ती भएको छ ।

जनस्वास्थ्यमा गम्भीर संकट पर्नुका साथै अर्थतन्त्रै नै ध्वस्त हुन लाग्दा पनि सरकार भने शक्तिसंघर्षमा रुमलिएको छ । यस्तोमा संक्रमण फैलिए सरकारले बन्दाबन्दीको सजिलो अस्त्र प्रयोग गर्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्