ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

संकट व्यवस्थापनमा बैंकिङ प्रविधिको भूमिका

२०७७ सावन, १५  
लेख | दृष्टिकोण
Image Not Found

कोरोना संकटको वर्तमान अवस्थामा आवश्यक रकम जम्मा गर्ने, भुक्तानी लिने, रकम ट्रान्सफर गर्नेलगायत कार्यमा मोबाइल, इन्टरनेट, एटीएमजस्ता अनलाइन प्रविधिको प्रयोग बढेको छ । नेपालमा लामो समयसम्म ढड्डे प्रणालीमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरू प्राविधिक रूपमा फड्को मारेका छन् । नेपालको बैंकिङ बजारमा पहिलोपटक विसं २०४२ सालमा कृषि विकास बैंकले रत्नपार्क शाखामा कम्प्युटरको प्रयोग ग¥यो । यो नै प्रविधि प्रयोगको शुरुआत विन्दु हुन गयो । तथ्यांक हेर्दा बचत तथा चल्ती खाता खोलेकामध्ये एकदमै न्यून व्यक्तिले मात्र मोबाइल बैंकिङ, इमेल बैंकिङजस्ता इलेक्ट्रोनिक प्रविधिको प्रयोग गरेको देखिन्छ । हाल बैंकिङ प्रविधिको प्रयोग सामान्य जस्तै मानिए तापनि कुल जनसंख्याको करीब १५ प्रतिशतमा मात्रै यसको सहज ज्ञान पाइन्छ । २०७६ जेठ मसान्तमा नेपालको कुल जनसंख्यामध्ये ६० दशमलव ९ प्रतिशतको बैंक तथा वित्तीय संस्था (लघुवित्तीय वित्तीय संस्थाबाहेक) मा निक्षेप खाता रहेको छ । यसर्थ पनि करीब ८५ प्रतिशत ग्राहक अहिलेको महामारीको संकटमा चेक लिएर बैंकसम्म जानुपर्ने बाध्यता देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाहरूले नयाँ वस्तु तथा सेवामा विविधता ल्याई नयाँ प्रविधिको अधिकतम प्रयोग गर्न प्रविधिको विकास र विस्तारमा जोड दिई यसको जोखिम विश्लेषणमा समेत ध्यान केन्द्रित गर्दै डाटाबेस व्यवस्थापनमा ध्यान दिनुपर्छ ।

आजको आधुनिक बैंकिङ प्रणालीको युगमा प्रविधिको विकासले गर्दा ग्राहकलाई नगद भुक्तानी गर्नेदेखि लिएर अन्य बैंकिङ कार्यमा क्रान्ति नै आएको भए तापनि जटिल सुरक्षा र साइबरसम्बन्धी जोखिमलगायत यन्त्रीकरण सम्बन्धी जोखिमले यस क्षेत्रलाई त्यति नै पिरलिरहेको पाइन्छ । बैंकिङ क्षेत्रमा यन्त्रीकरण हुनु मात्रै समस्याको समाधान होइन । यन्त्रीकरण भइसकेपश्चात् त्यसको क्षमता, मर्मतसम्भार, सम्बद्ध कर्मचारीलाई उचित तालीमको अभावमा यसको सही सञ्चालन देखिँदैन । सम्भावित जोखिम पहिचान गरी सोको न्यूनीकरण गर्ने उपायहरू अवलम्बन गर्ने कार्यमा बैंकिङ क्षेत्र चुकेको देखिन्छ । प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्न युग सुहाउँदो प्रविधिको विकास आजको आवश्यकता हो ।

सरकारको स्वामित्वको बैंकहरूमा भन्दा संयुक्त लगानीका निजी बैंकहरूमा नयाँ प्रविधिको प्रयोग बढेको छ । हिमालय बैंकले विसं २०५० मा अटोमेटिक टेलरिङ मेशिन ल्याएपछि भुक्तानी प्रणालीमा विद्युतीय प्रविधिको प्रयोग शुरू भएको हो । एक अध्ययनका अनुसार नेपालको बैंकिङ क्षेत्र प्रविधिको प्रयोगमा दक्षिण एशियामा अब्बल मानिन्छ । विगतमा नेपाल राष्ट्र बैंकले क्लियरिङ हाउसको कार्य गर्थ्याे, जसमा एउटा चेक क्लियरिङमा दिएर आप्mनो खातामा डिपोजिट हुन झन्डै ४ दिन कुर्नुपर्ने अवस्था थियो । तर, विसं २०६५ पुस ८ मा नेपाल क्लियरिङ हाउस स्थापना भएपछि भुक्तानी प्रणालीमा प्रविधिले थप फड्को मारेको देखिन्छ । हाल एउटा चेक द्रुत क्लियरिङमा दिएर आफ्नो खातामा डिपोजिट हुन करीब २ घण्टाभन्दा बढी लाग्दैन । सामान्य रूपमा २४ घण्टाभित्र सबै विनिमय पत्रहरूको राफसाफ हुने स्थिति छ । विदेशबाट होस् वा स्वदेश, नगद बोकेर हिँड्दाको पीडा अर्कै हुन्छ । तर, हालको महामारीमा बैंकिङ क्षेत्रमा नयाँ प्रविधिले भौगोलिक वा अन्य कारणले पछि परेका समुदायलाई बैंकिङ पहुँचमा ल्याउन सहयोग गरेको छ । प्रविधिले सर्वसाधारणलाई सहज तुल्याएको मात्र नभई बैंक र त्यहाँ कार्यरत कर्मचारीलाई समेत मितव्ययी र सहज तुल्याएको छ । बिजुली, खानेपानी, टेलिफोनलगायतको खरीद र भुक्तानी, अन्तरबैंक र अन्तरव्यक्ति रकम भुक्तानी प्रणालीलाई सहज बनाएको छ ।
 
बैंकिङ क्षेत्रले नोटको जतन सम्बन्धमा सचेतनामूलक सन्देश र निर्देशन जारी गरे तापनि नेपाली समाजमा नोटको जतनसम्बन्धी निर्देशनको पालना भएको छैन । अब नेपालले नोटको प्रयोग हटाई क्यासलेस प्रणालीतिर जान ढिला भइसकेको छ । अहिले स्मार्ट मोबाइल फोन प्रयोगकर्ता उच्च रहेको देखिन्छ । यसैलाई दृष्टिगत गर्दैै बंैक तथा वित्तीय संस्थाहरूले क्यासलेस प्रणालीलाई छिटो कार्यान्वयनमा ल्याउन सकेमा अधिकांश ग्राहक रकम निकाल्न बैंकसम्म धाउनुपर्ने स्थिति रहँदैन । इन्टरनेट र मोबाइल बैंकिङमा रहेको पेमेन्ट गेटवेको विकासका लागि प्रविधिमैत्री कानून बनाउन ढिला भइसकेको छ । त्यसो त नेपालका बैंकिङ क्षेत्रको प्रविधि त्यति भरपर्दो हुन सकेको छैन । एटीएम मेशिनमा आम ग्राहकले धेरै समस्या झेल्दै आएका छन् । एटीएमबाट रकम भुक्तानी नहुने तर खातामा रकम काटिने, मोबाइल बैंकिङ कारोबार गर्दा खातामा रकम कट्टी हुने तर सम्बद्ध ठाउँमा ट्रान्सफर नहुने समस्या छ । यसरी बीचमा रहेको रकमको हिसाबमिलानमा महीनौं लाग्ने समस्या पनि ग्राहकले भोग्नुपरेको छ ।

हालको बैंकिङ तथ्यांकलाई हेर्दा २०७६ असोज मसान्तसम्ममा वाणिज्य बैंकको संख्या २८, विकास बैंकको संख्या २५, वित्त कम्पनीको संख्या २२, लघुवित्त वित्तीय संस्थाको संख्या ८९ र पूर्वाधार विकास बैंकको संख्या १ रहेको छ । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७६ असार मसान्तमा ८६८६ रहेकोमा २०७६ असोज मसान्तमा ९११० पुगेको छ । २०७६ असोजसम्ममा ७४१ स्थानीय तहमा वाणिज्य बैंकहरूको उपस्थिति रहेको छ । कोरोना महामारीको यस्तो बेलामा बैंकिङ प्रविधिले लगाएको गुन र भूमिकालाई निक्षेपकर्ताले भुल्न सक्दैनन् भन्नु अत्युक्ति नहोला ।

बैंक तथा वित्तीय संस्थाहरूले नयाँ वस्तु तथा सेवामा विविधता ल्याई नयाँ प्रविधिको अधिकतम प्रयोग गर्न प्रविधिको विकास र विस्तारमा जोड दिई यसको जोखिम विश्लेषणमा समेत ध्यान केन्द्रित गर्दै डाटाबेस व्यवस्थापनमा ध्यान दिनुपर्छ । तर, पछिल्लो समय अर्को बैंकको एटीएम बुथबाट पैसा झिक्दा शुल्क लाग्न थालेको छ । अन्तरबैंकिङमा पनि शुल्क लिन थालिएको छ । यसले क्यासलेस प्रणालीलाई सहयोग गर्दैन । बैंकिङ व्यवसायका लागि संकट व्यवस्थापनका अतिरिक्त आगामी दिनहरू अवश्य पनि उत्साहप्रद र ग्राहकमैत्री रहने कुरामा कसैको दुईमत नहोला ।

लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्