ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जमानतसम्बन्धी करार

जमानीकर्ताको दायित्व, जमानीमुक्त र बदर

२०७७ सावन, १५  
लेख | दृष्टिकोण
Image Not Found

जमानत, व्यावसायिक कारोबारको सिलसिलामा प्रचलनमा रहेको व्यावसायिक कानूनको एक महत्त्वपूर्ण विषय हो । सामान्य अर्थमा भन्दा करारको कुनै एक पक्षले आफूले गरेको प्रतिज्ञा वा प्राप्त गरेको ऋणको दायित्व पूरा गर्न वा चुक्ता गर्न नसकेमा उक्त प्रतिज्ञा वा ऋण कुनै तेस्रो पक्षले पूरा वा चुक्ता गरिदिने गरी भएको करारलाई जमानतसम्बन्धी करार भनिन्छ । अर्थात् कुनै पनि एउटा व्यक्तिले पूरा गर्नुपर्ने दायित्व वा तिर्नुपर्ने ऋण निजले तिर्न वा पूरा गर्न नसकेमा म पूरा गरिदिन्छु भनी पहिलो पक्षसँग तेस्रो पक्षद्वारा गरिएको करार नै जमानतसम्बन्धी करार हो । विशेष करारको रूपमा रहेको यस्तो करार लिखित रूपमा हुनु अनिवार्य छ ।

कुनै एक व्यक्तिले लिएको ऋण वा कबुल गरेको दायित्व चुक्ता नगरेमा वा पूरा नगरेमा तेस्रो पक्षले चुक्ता वा पूरा गरिदिने गरी करार भएकोमा जमानतसम्बन्धी करार भएको मानिनेछ ।

यसअघि करार ऐन २०५६ को दफा १७ (१) को खण्ड (क) मा यससम्बन्धी व्यवस्था गरिएको थियो भने हाल मुलुकी देवानी संहिता २०७४ को दफा ५६३ मा यससम्बन्धी व्यवस्था गरिएको छ । दफा ५६३ : जमानतसम्बन्धी करार भएको मानिने : (१) कुनै एक व्यक्तिले लिएको ऋण वा कबुल गरेको दायित्व चुक्ता नगरेमा वा पूरा नगरेमा तेस्रो पक्षले चुक्ता वा पूरा गरिदिने गरी करार भएकोमा जमानतसम्बन्धी करार भएको मानिने छ । (२) उपदफा (१) बमोजिम तेस्रो पक्षले जमानत दिएकोमा ऋण तिर्नुपर्ने व्यक्तिले नतिरेमा वा पूरा गर्नुपर्ने दायित्व पूरा नगरेमा करारबमोजिमका शर्त त्यस्तो ऋण वा दायित्व जमानत (ग्यारेन्टी) दिने व्यक्तिले पूरा गरिदिनुपर्नेछ । (३) जमानतका शर्तहरू करारमा निर्धारण भएबमोजिम हुनेछन् । (४) जमानतसम्बन्धी करार लिखित रूपमा भएको हुनुपर्नेछ । उक्त कानूनी व्यवस्था हेर्दा कुनै ऋणीले लिएको ऋण निजले चुक्ता गर्न नसकेमा म चुक्ता गरिदिनेछु भनी तेस्रो पक्षले साहूसँग प्रतिज्ञा गरी सृजना भएको र कुनै एक व्यक्तिले कबुल गरेको दायित्व निजले पूरा नगरेमा म पूरा गरिदिनेछु भनी तेस्रो पक्षले प्रतिज्ञा गरी सृजना भएको करार नै जमानतसम्बन्धी करार हो भन्ने बुझिन्छ । यससम्बन्धी करारमा मुख्य ऋणी, साहू र जमानीकर्तासमेत तीन पक्ष हुन्छन् र उनीहरूका बीचमा त्रिपक्षीय सहमतिसहित तीन अलगअलग करार हुन्छ । यस्तो करारमा जमानतसम्बन्धी शर्तहरू सम्बद्ध मूल करारको आधारमा सृजना हुन्छ । तेस्रो पक्षले जमानत दिएपछि ऋणीले ऋण नतिरेमा वा दायित्व पूरा गर्नुपर्नेले नगरेमा त्यस्तो ऋण वा दायित्व जमानत दिनेले तिरिदिने वा पूरा गरिदिनुपर्छ । जमानतका शर्तहरू भने करारमा निर्धारण भएबमोजिम हुन्छ ।

जमानत दिने व्यक्तिको दायित्व
संहिताको दफा ५६४ मा यससम्बन्धी व्यवस्था गरिएको छ । जमानीकर्ताले अरूको ऋण चुक्ता गर्ने वा दायित्व पूरा गर्ने जिम्मेवारी लिएको हुन्छ । जब दायित्व पूरा गर्नुपर्नेले दायित्व पूरा गर्दैन, ऋण लिएकाले ऋण तिर्दैन तब जमानीकर्ताको दायित्व शुरू हुन्छ । जमानीकर्ताको दायित्व कबुलको हदसम्म हुन्छ । ऋणीको जति दायित्व साहूप्रति रहेको हुन्छ, सोही बराबरको दायित्व जमानीकर्ताको साहूप्रति हन्छ । तिर्ने या पूरा गर्नुपर्ने दायित्वबाट ऋणी मुक्त नभएसम्म जमानीकर्ता मुक्त हुँदैन । साहूको हकाधिकार सुरक्षणका लागि जमानीकर्तालाई निश्चित समयावधिका लागि जवाफदेही बनाउने उद्देश्यले यो व्यवस्था गरिएको हो । ऋण वा दायित्वबापत ऋणीले सुरक्षण र जमानत दुवै दिएको रहेछ भने त्यसरी दिएको सुरक्षणले खामेको हदसम्म जमानीकर्ताको दायित्व हुँदैन । साहूले सुरक्षणबाटै असुलउपर गर्नुपर्छ । यस सम्बन्धमा मुख्य ऋणीको दायित्व पहिलो र जमानीकर्ताको दायित्व दोस्रो हुन्छ । साहूलाई तिर्न वा पूरा गर्नुपर्ने दायित्व तिर्नु वा पूरा गर्नुपर्ने व्यक्तिबाट उल्लंघन हुनासाथ यससम्बन्धी करार प्रभावकारी हुन्छ । करार प्रभावकारी भएपछि मात्र साहूले जमानीकर्ताबाट दायित्व पूरा गराउन सक्ने कानूनी व्यवस्था छ ।

जमानत दिने व्यक्ति दायित्वबाट मुक्त हुने अवस्था
संहिताको दफा ५६५ मा यससम्बन्धी व्यवस्था गरिएको छ । जमानतसम्बन्धी करारमा साहू, ऋणी र जमानी गरी तीन पक्ष हुने भएकामा साहू र ऋणी मात्र मिली करारका शर्तहरू हेरफेर गर्न पाउँदैनन् यदि जमानीकर्ताको सहमतिविना करारका शर्तहरू हेरफेर गरियो भने, जमानीकर्ताको दायित्व समाप्त हुनेगरी करारीय पक्षहरूले आपसी सम्झौता गरेछन् भने, साहूको कामकारबाहीले ऋणी वा दायित्व पूरा गर्नुपर्ने व्यक्ति मुक्त भएमा वा साहूले मुख्य ऋणीलाई ऋणबाट मुक्त गरिदिएमा, साहूले ऋणीबाट लिनुपर्ने रकमभन्दा कम रकम लिई दायित्व मुक्त गर्ने वा निजलाई ऋण चुक्ता गर्न थप समय दिने वा मुद्दा नचलाउने गरी सहमति भएमा, साहूको काम कारबाहीबाट जमानीकर्ताको ऋण तिर्नुपर्ने वा दायित्व पूरा गर्नुपर्ने व्यक्तिउपरको कानूनी उपचारमा प्रतिकूल असर परेमा, साहूले जमानत दिने व्यक्तिको सहमति नलिई ऋणीबाट लिएको कुनै सुरक्षण ऋणीलाई फिर्ता गर्छ वा बिगारिदिन्छ वा हराउँछ भने मुख्य ऋणीले साहूलाई करारबमोजिम तिर्नुपर्ने ऋण रकम तिरेमा वा पूरा गर्नुपर्ने दायित्व पूरा गरेमा जमानत दिने व्यक्तिको दायित्व समाप्त हुन्छ ।

जमानत दिने व्यक्ति र ऋणीको सम्बन्ध
संहिताको दफा ५६६ मा यससम्बन्धी व्यवस्था गरिएको छ । जमानीकर्ता र ऋणीबीचको सम्बन्धका बारेमा करारमा छुट्टै व्यवस्था गरिएकोमा बाहेकको अवस्थामा मात्र यो दफा क्रियाशील हुन्छ । जमानीकर्ताले ऋणी वा दायित्व पूरा गर्नुपर्ने व्यक्तिलाई करारबमोजिमको दायित्व पूरा गर्न लगाउन सक्छ । ऋणीले आफ्नो दायित्व पूरा नगरेमा त्यसबाट जमानीकर्ताको दायित्व सृजना भएकाले यो व्यवस्था गरिएको हो । ऋणीले जमानत दिने व्यक्तिलाई जमानत दिएबापत कुनै धनमाल या सुरक्षण दिएको रहेछ भने ऋणीको मन्जुरीविना जमानत दिने व्यक्तिले सो धनमाल वा संरक्षण धितो बन्धक राख्न, बेचबिखन गर्न वा अन्य कुनै किसिमले हक हस्तान्तरण गर्नु हुँदैन । त्यस्तो धनमाल वा सरक्षण यथावत् रूपमा सुरक्षित तरीकाले राख्ने कर्तव्य जमानीकर्तामा हुन्छ ।

जमानत दिने व्यक्ति साहूका रूपमा प्रतिस्थापन हुने
संहिताको दफा ५६७ मा यससम्बन्धी व्यवस्था गरिएको छ । जमानत दिने व्यक्तिले ऋणीका तर्फबाट तिर्नुपर्ने ऋण वा करारबमोजिम पूरा गर्नुपर्ने दायित्व साहूलाई तिरे वा पूरा गरेपछि त्यस्तो ऋण वा दायित्वका सम्बन्धमा जमानत दिने व्यक्ति साहूका रूपमा प्रतिस्थापन हुने र निजले साहूसरह निजबाट ऋण असुल गर्न वा ऋणीउपर कानूनी कारबाही चलाउन सक्ने, भनिएको छ ।

जमानतसम्बन्धी करार बदर गराउन सक्ने अवस्था
संहिताको दफा ५६८ मा यससम्बन्धी व्यवस्था गरिएको छ । जुन कारोबारका सम्बन्धमा जमानत दिएको हो, त्यस्तो कारोबारसँग सम्बद्ध विषयका बारेमा साहू स्वयम्ले वा निजको सहमतिमा अरू कसैले जमानत दिने व्यक्तिलाई गलत वा भ्रामक सूचना वा जानकारी दिई जमानत प्राप्त गरेको भएमा, जमानतको विषय, धनमाल वा तथ्य नै लुकाएको वा उल्लेख नगरेको भएमा, कुनै तेस्रो व्यक्तिसमेत जमानी रहने गरी करार भएकोमा त्यस्तो व्यक्तिले जमानत दिन सहमति नदिएको भएमा करार बदर गराउन सक्ने अवस्था रहन्छ ।

जमानत दिने व्यक्तिहरूको दायित्व बराबर हुने
संहिताको दफा ५६९ मा यससम्बन्धी व्यवस्था गरिएको छ । दुई वा दुईभन्दा बढी व्यक्तिले संयुक्त रूपमा मिली वा छुट्टै कुनै ऋण या दायित्वबापत संयुक्त रूपमा जमानत दिएकोमा त्यस्तो ऋण वा दायित्व ऋणले पूरा नगरेमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जमानत दिने व्यक्तिहरूले बराबरीको हिसाबले त्यस्तो ऋण वा दायित्व तिर्नु वा करार परिपालन गर्नुपर्ने छ । संयुक्त रूपमा जमानत दिँदा खण्ड खण्ड गरी जमानत दिएको भएमा त्यस्तो जमानत दिने व्यक्तिले आपूmले जमानत दिएको खण्डको हदसम्मको दायित्वमात्र तिर्नु बेहोर्नुपर्ने व्यवस्था छ ।

यसरी आजको व्यावसायिक युगमा अत्यधिक प्रचलनमा रहेको जमानतसम्बन्धी करारका बारेमा मुलुकी देवानी संहिता २०७४ ले स्पष्ट व्यवस्था गरेको छ । यसले व्यापारिक जगत्मा हुने कारोबारलाई सहज बनाएको छ ।

लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्