ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दूधको खपत नबढ्दा व्यवसायी चिन्तित

२०७७ सावन, १६  
बजार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । बन्दाबन्दी अन्त्य भए पनि दूध तथा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा वृद्धि नभएपछि दूध उत्पादक किसान तथा व्यवसायीहरू चिन्तित बनेका छन् ।

बन्दाबन्दीको समयमा बजारमा दूधको खपत ८० प्रतिशतसम्म घटेको थियो । बन्दाबन्दी हटे पनि दूधको खपत करीब ३० प्रतिशतभन्दा माथि जान नसकेको सरोकारवालाहरूले बताएका छन् । साथै, मौज्दात धूलो र बटरलगायत अन्य दुग्धजन्य पदार्थको खपतमा समेत सुधार हुन सकेको छैन ।

हुनुपर्ने जति खपत नहुँदा समग्र दुग्ध उद्योगमा समस्या सृजना भइरहेको नेपाल डेरी एशोसिएशनका पूर्वअध्यक्ष सुमित केडियाले जानकारी दिए । उनका अनुसार अहिले निजी र सरकारी क्षेत्रका दुग्ध उद्योगहरूसँग करीब ४ अर्ब बराबरको बटर र धूलो दूध मौज्दात रहेको छ । ‘यसमध्ये दुग्ध विकास संस्थानको मात्रै १ अर्ब र निजीक्षेत्रका उद्योगहरूको ३ अर्ब मूल्यको धूलो र बटर मौज्दात रहेको छ,’ उनले भने ।

गर्मी याम भएकाले दही र आइसक्रिमलगायतको मागमा केही वृद्धि भएको देखिए पनि समग्र खपतमा त्यसले खासै प्रभाव नपारेको उनले बताए । सामान्य अवस्थामा दैनिक करीब ७ लाख लिटर दूध उपभोग हुने गर्छ । बन्दाबन्दी खुले पनि करीब ३ लाख लिटरभन्दा बढी दूध र दुग्धजन्य वस्तुको उपभोग हुन सकेको छैन ।

बन्दाबन्दीका कारण नेपालमा दुग्धजन्य पदार्थको खपत घट्न गई मौज्दात बढ्दै गएपछि व्यवसायीहरूले आपूmले भण्डारण गरिराखेको धूलो दूधलाई अन्तरराष्ट्रिय बजारमा निर्यात गरेर मौज्दात घटाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई आग्रह गरेका थिए । तर, नेपालमा भन्दा अन्तरराष्ट्रिय बजारमा दुग्धजन्य पदार्थको मूल्य कम भएकाले सरकारी निकाय यसबाट पछि हट्यो ।

त्यसपछि अवस्था सामान्य भएपछि व्यवसायीहरूले नै किन्ने शर्तमा तत्कालका लागि सरकारले नै दूधको मौज्दात गरेर राख्नुपर्ने माग व्यवसायीहरूले राखेका थिए । यो माग पनि पूरा नभएपछि व्यवसायीहरू निराश हुँदै गएको नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए ।
‘भदौदेखि माघसम्म दूधको उत्पादन बढी हुन्छ । खपत कम हुने समयमा गरिने मौज्दातका लागि ३१ प्रतिशत लागत बढी पर्छ । त्यसकारण यो मौज्दातमा किसान, सरकार र

व्यवसायी सबैको बराबर लगानी हुनुपर्छ नभए व्यवसायीहरू टाट पल्टिन सक्छन्,’ उनले भने । फागुनदेखि साउन महीनासम्मको अवधि दूधको उत्पादन कम हुने र माग बढ्ने समय भएकाले मौज्दात सक्नुपर्ने बेला हो तर मौज्दात घट्न सकेको छैन । बरु, खपत घट्दा व्यवसायीहरू स्टक बढाउन बाध्य भएका छन् ।

काठमाडौं उपत्यकाबाहिर विराटनगर, धरान, पोखरा, बुटवललगायत शहरमा दूधको खपत विस्तारै बढ्दै जाने क्रम भए पनि काठमाडौंको बजारमा भने खासै प्रगति नभएको बताइएको छ । बन्दाबन्दीको समयको तुलनामा करीब १० प्रतिशत मात्र बजार बढेको छ र यसले खपतमा खासै प्रभाव नपार्ने व्यवसायीहरूको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्