ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भ्रष्टाचार किन हटाउने ?

२०७७ सावन, १६  
तीतो मीठो
author avatar मदन लम्साल

गर्छु कसैले नभन्ने, अर्काले गरेकोमा तीव्र विरोध गर्ने तर गर्न कसैले बाँकी नराख्ने कर्म के हो ? उत्तर हो – भ्रष्टाचार । अब सबैले गर्ने कर्म भएपछि यसलाई हटाउने वा घटाउने भनेर किन भनिहिँड्ने हो ? बरु यसलाई बढाउने पो हो कि !

‘घूस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन्’ भनेर पृथ्वीनारायण शाहले भनेका थिए रे । यो त पुरानो जमानाको कुरा पो हो । अहिलेको आधुनिक जमानामा त यो नारा ‘घूस लिने र दिने दुवै राष्ट्रका गन्यमान्य हुन्’ भनेर परिवर्तन गर्न ढिला भइसक्यो । समय अनुसार चल्नुपर्‍यो नि !

अहिले संघीयताको कार्यान्वयनसँगै जनताको घरघरमा विकास बोकेर सिंहदरबार पुगेको छ, साथसाथै भ्रष्टाचार पनि । फरक यत्ति हो, सिंहदबार दुब्लाएर स्याल बन्न पुगेको छ भने भ्रष्टाचार चाहिँ मोटाएर सिंहजत्रो बनेर पुगेको छ ।

नेपालमा जति पनि शासक बनेर आए, उनीहरूले अरू क्यै गर्न नसके पनि दुईटा काम चैं गरेरै गएका छन् है ! त्यो हो भेदभाव र भ्रष्टाचारको बीउ हामीलाई नासोको रूपमा छाडेर जानु । यो उनैले दिएको संस्कृति हो, जसलाई हामी संरक्षण र संवर्द्धन गरिरहेका छौं । भ्रष्टाचारलाई दिन दुई गुणा रात चौगुणा बढाइरहेका छौं । र यसलाई संस्थागत बनाइसकेका छौं ।

उनीहरूले नयाँ पुस्तालाई दिएको मूलमन्त्र नै यही हो कि ‘राजकाज जसरी चले चल्छ चलाउनू, तर भ्रष्टाचार र भेदभावरूपी नासोलाई प्रत्येक पुस्तामा सुरक्षित सुम्पँदै जानू ।’ यो मूलमन्त्रलाई हामीले इमानदारीका साथ निर्वाह गरिनै रहेका छौं ।

पछिल्ला शासकहरूले भ्रष्टाचारको नयाँ जमीन खोजे र त्यहाँ भेदभावको बिरुवा रोप्दै गए । अनि त के चाहियो ? मानिसले पनि बाँच्नका लागि इमानदारी र नैतिकतालाई तिलाञ्जली दिँदै भ्रष्टाचारको बिरुवा हुर्काउन शासकहरूलाई साथ र गाथ दिँदै गए ।

स्थिति यस्तो देखिँदै छ कि भलै देशको विकास पछि पर्दै गए पनि भ्रष्टाचारले नै देशलाई अघि बढाउनेछ । किनकि भ्रष्टाचारबाट कमाएको पैसाले पनि अर्थतन्त्रलाई नै चलायमान बनाउँछ नि त !

त्यसैले होला नयाँ राजाहरूले देशको ढुकुटी सम्हाल्न थालेदेखि इमानदारी र सदाचारको बंगारा फुक्लेको छ र भ्रष्टाचारको ग्राफ धेरै माथि उक्लेको छ । अझ अहिलेको सरकारको शासनकालमा त भ्रष्टाचार सफल र एक सर्वसिद्ध सत्यको पर्याय बनिसकेको छ ।

धर्म निरपेक्षताका साथसाथै आज हामी भ्रष्टाचारको धर्म पनि निर्वाह गरिनै रहेका छौं र देशमा चलेको स्थापित परम्परा अनुसार नै चलिरहेका पनि छौं । यो गर्वको कुरा हो कि विगतका शासकले सुम्पेको भ्रष्टाचारको बिरुवालाई अहिलेका शासकले सम्हाल्दै हुर्काउँदै गएपछि आज एक ठूलै वटवृक्षको स्वरूप धारण गरिसकेको छ ।

‘म भ्रष्टाचार गर्दिनँ र म भ्रष्टाचार हुन दिन्नँ’ भनेर प्रत्येक सरकारी कार्यालयमा ब्यानर पनि टाँगिएकै छन् । किन नियन्त्रणमा नआएको त भ्रष्टाचार ? किनकि यो कसैलाई पनि नियन्त्रण गर्नु नै छैन । चिन्तनमन्त्र जपेर नियन्त्रण हुने भए त उहिल्यै भइसक्थ्यो नि त !

भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने र गर्न सकिने कुरा नै हैन । नियन्त्रण हुने भए त उहिल्यै भइसक्थ्यो । नियन्त्रण गर्न त यो रोगको जीवाणु पत्ता लगाउनु पर्‍यो नि ! अब नियन्त्रण नै गर्न नसकिने कुरालाई गर्छु भनेर कराउँदैमा हुन्छ ? राष्ट्रपति, सरकार, प्रधानमन्त्री, मन्त्रीहरू, कर्मचारी प्रशासन, प्रहरी, पत्रकार आदि सबैलाई थाहा छैन र देशमा यत्रतत्र सर्वत्र भ्रष्टाचार छ भनेर ? खै त नियन्त्रणमा आएको ?

आचार्य विष्णुगुप्त चाणक्यले भनेजस्तै ‘जसरी जिब्रोमा राखेको महको स्वाद नलिन असम्भव हुन्छ, त्यसरी नै पदमा पुगेपछि राज्यकोषको अंश भक्षण नगर्नु असम्भव हुन्छ ।’

अहिले संघीयताको कार्यान्वयनसँगै जनताको घरघरमा विकास बोकेर सिंहदरबार पुगेको छ, साथसाथै भ्रष्टाचार पनि । फरक यत्ति हो, सिंहदबार दुब्लाएर स्याल बन्न पुगेको छ भने भ्रष्टाचार चाहिँ मोटाएर सिंहजत्रो बनेर पुगेको छ । तर यो त फूलसँगै झार पनि झांगिएजस्तै स्वाभाविक हो ।

यसो विचार गर्दा भ्रष्टाचार रोक्ने हो भने विकास पनि रोकिन्छ । त्यसैले अहिले कोरोनासँगै ‘लिभिङ टुगेदर’मा बसेजस्तै भ्रष्टाचारसँग पनि ‘डाइनिङ टुगेदर’मै जानुपर्छ ।

भनिन्छ, भ्रष्टाचार पूँजीवादको छाँया हो । तर ए हजुर, हामी त दलाल पूँजीवादमा पो छौं त ! दलाल पूँजीवादमा त सरकार चैं दलालहरूको छहारीमा हुन्छ ।

भ्रष्टाचारलाई साँच्चिकै नियन्त्रणमा ल्याउने नै हो भने नागरिक समाज हुनुपर्‍यो नि त । अनि ऊ आफै सदाचारी हुनुपर्‍यो र सक्रिय पनि हुनुपर्‍यो नि । तर खै त ? तमाम विकृति र विसंगति विरुद्ध बेलाबेलामा त्यै एकजना डा. गोविन्द केसीजी लडिरहन्थे, यसो अनसन गरिरहन्थे । हिजोआज उनी पनि थाकेजस्तो छ । ‘इनफ इज इनफ’वाला युवाहरूको जोश पनि सेलाउँदै गएजस्तो छ ।

अनि आजको यस्तो विषम परिस्थितिमा भ्रष्टाचारलाई सामाजिक सांस्कृतिक विरासतकै रूपमा स्वीकार गरेर जानुको विकल्प छ र हामीसँग ? भ्रष्टाचारको विषयमा कुरा गरीसाध्य पनि छ र ? त्यसैले छाडौं यो भ्रष्टाचारका कुरा । बरु आउनोेस्, भ्रष्टाचारकी जय ! भन्दै एक चियर्स चैं गरौं । हुन्न ?

प्रतिक्रिया [2]
User Image

Raja Ram Shrestha

[Aug 2, 2020 03:05am]

भ्रष्टहरु बानेश्वर, सिहदर्बार बालुवाटार जहाँ जताको दुलोबाट हुन्छ छिरेकै छ । मुसाले दुलोमा धान थुपारे झै धन थुपारेकै छ, भुडी भरेकै छ । जनता बोल्दैन, अख्तियार ठुलालाई चिन्दैन । दुईचार जना सानालाई समाए नि तारतम्य मिलाएर अदालतबाट निस्की हालेकै छ । अनि जती लेखे नि, कराए नि यस्तै हो । वर्ष भरि सधै गाइजात्रा । अब भ्रष्टहरु सबैलाई नाडिमा हैन, घाटिमा डोरो बाड्नु पर्ने भैसक्यो ।


User Image

Keshav NS Adhikari

[Jul 31, 2020 02:33am]

हाँसो हाँसो मा नै तीतो मीठो चासोको टाँसो बनेछ, नेतागिरीमा चासो जगाउने नासोको रहश्य खुलेछ, राज, प्रजा, लोक, सबै तंत्रको नासो पासो भएछ, तर यो भ्रष्टतंत्रको साँचो पाएसी सबै गुनासो बिलाएछ, हाँसोको चासोमा नासोको पासोको गुनासो - लाह्स्सो लाह्स्सो ।


प्रतिक्रिया दिनुहोस्