ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आजबाट शुरु भयो चौथो चरणको अन्तरराष्ट्रिय हवाई उद्धार

२०७७ सावन, १६  
समाचार
Image Not Found

साउन १६, काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि शुक्रवारदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन शुक्रवारदेखि यही साउन २४ गतेसम्म उद्धार उडान हुने भएको हो ।

नेपालका दुई एयरलाइन्स नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरिसकेका छन् भने नेपालीलाई घर फर्काउन विभिन्न मुलुकका एयरलाइन्सको पनि उडान तालिका बनेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिकाअनुसार नेपाल एयरलाइन्सले सो अवधिसम्म जम्मा १८ उडान गर्नेछ । युएईको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेशियाको क्वालालम्पुर र जापानको नारितामा चार्टर उडान हुने निगमले जानकारी दिएको छ ।

हिमालयले पनि साउन २३ सम्म कुल १८ उडान गर्ने जानकारी दिएको छ । चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर उडान गर्ने जानकारी दिएको छ । यस्तै नेपालीको उद्धारका लागि विदेशी एयरलाइन्सले पनि चार्टर उडान गर्नेछन् । जजिरा एयरले कुवेत, इतिहाद एयरले अबुधाबी, एयर अरेबियाले सारजाह, फ्लाइ दुबईले दुबई, कतार एयरवेजले दोहाबाट उद्धार उडान गरी नेपाली फर्काउनेछन् । 

नेपाल एयरलाइन्सले शुक्रवार कुवेत र दुबईबाट चार्टर उडान गर्दैछ । हिमालय एयरलाइन्सले दोहा र अबुधाबीबाट नेपाली काठमाडौं ल्याउनेछ । हिमालययकै जहाज शुक्रवार बिहान ७ः०० बजे चीनको कुनमिङ र श्री एयरलाइन्सको जहाज बैंकक प्रस्थान गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । मालिन्दो एयरले क्वालालम्पुरबाट आजै नेपाली ल्याउँदैछ । 

सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयअनुरुप चौथो चरणको उडानका लागि ५४ ओटा उडान अनुमति दिएको छ । 

अहिलेसम्म ३६ हजारभन्दा बढी नेपाली स्वेदश फर्किसकेका छन् । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने निर्णय गरिसकेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्