ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अस्ट्रेलियाले दियो गूगल र फेसबुकलाई समाचार प्रयोग गरेबापत मध्यस्थता गर्न आदेश

२०७७ सावन, १६  
अन्तरराष्ट्रिय
Image Not Found
अस्ट्रेलियाली अर्थमन्त्री जस फ्राइडेनबर्गको अप्रिल २०, २०२० मा खिचिएको फाइल फोटो । तस्वीर : एपी

साउन १६, क्यानबेरा । अस्ट्रेलिया सरकारले अस्ट्रेलियाली संचार माध्यमका समाचार सामग्री प्रयोग गरेबापत भुक्तानीको व्यवस्था मिलाउन तीन महीनाभित्र मध्यस्थता गर्न गूगल र फेसबुकलाई आदेश दिएको छ ।     
     
शुक्रवार सार्वजनिक गरिएको अनिवार्य आचार संहिताको मस्यौदामा व्यावसायिक मिडिया कम्पनीबाट उत्पादित समाचार सामग्रीको प्रयोग गरेबापत गूगल र फेसबुकले रकम तिर्नुपर्ने उल्लेख छ । विश्वका अन्य मुलुकले यस्तो प्रयोग गरेपनि असफल भएका छन्, तर अस्ट्रेलियाले आचार संहितामार्फत नै गूगल र फेसबुकलाई रकम भुक्तानीको व्यवस्था गराउन लागेको छ ।     
     
गूगलले अस्ट्रेलिया सरकारले अघि सारेको मस्यौदा एकतर्फी रहेको र त्यसले डिजिटल अर्थतन्त्रका लागि बाधा सृजना गर्ने बताएको छ ।अस्ट्रेलियाली अर्थमन्त्री जस फ्राइडेनबर्गले गूगल र फेसबुकलाई पहिलो चरणमा लक्षित गरिएको र अन्य डिजिटल प्लेटफर्ममा पनि यो नियम क्रमशः लागू गरिने जानकारी दिए ।     
     
अस्ट्रेलियाका संचारगृहको आर्थिक अवस्थामा सुधार ल्याउन र कर्मचारी कटौतीको समस्या सुल्झाउन यसले थोरै भएपनि मद्दत गर्ने अस्ट्रेलियाली संचार माध्यमहरुले बताउँदै आएका छन् । अस्ट्रेलियाको प्रस्तावित मस्यौदामा अमेरिकी यी दुई कम्पनीले अस्ट्रेलियाली संचार माध्यमसँग रकमका बारेमा सम्झौता नगरे तीन महीनापछि सरकारले नै मध्यस्थकर्ता नियुक्त गरी काम थाल्ने बताइएको छ ।     
     
उक्त मस्यौदामाथि सुझाव दिन अगस्ट २८ सम्मको समयावधि दिइएको छ । अर्थमन्त्री फ्राइडेनबर्गले भने, ‘त्यसपछि उक्त मस्यौदालाई संसदमा पेश गरिने छ ।’ प्रस्तावित मस्यौदामा नियम उल्लंघन गरेमा त्यस्ता प्लेटफर्मको वार्षिक कारोबारको १० प्रतिशतसम्म वा ७२ लाख अमेरिकी डलर जरिवाना गरिने उल्लेख छ ।     
     
गूगल र फेसबुकका अस्ट्रेलियाली प्रतिनिधिहरुले सरकारले अघि सारेको प्रस्तावमाथि अध्ययन भइरहेको बताएका छन् ।   रासस/ एपी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्