ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धनगढीमा सातओटा सडक निर्माण गरिँदै

२०७७ सावन, १८  
सुदूरपश्चिम प्रदेश
NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । धनगढी उप महानगरपालिकामा व्यवस्थित सडक निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ । क्षेत्रीय शहरी विकास कार्यक्रम अन्तर्गत २ वर्षभित्र सातओटा स्तरीय सडक बनाउन गत आइतवार निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको हो ।

गतवर्ष जेठमा टेण्डर आह्वान गरिएका सातओटा सडक गरेर १० किलोमिटर १८७ मिटर र सोसँगै २० किलोमिटर ४६६ मिटर नालीको निर्माणका लागि क्षेत्रीय शहरी विकास परियोजना प्रमुख परिक्षित कडरिया र कालिका कन्ष्ट्रक्शन प्रालिका प्रतिनिधि प्रकाशचन्द्र खरेलबीच सम्झौता भएको हो ।

यी आयोजनाको लागत ६८ करोड ५ लाख ९८ हजार ७०४ रुपैयाँ रहेको छ । संघीय आयोजना कार्यान्वयन इकाइ, धनगढीका सूचना अधिकारी ई. श्याम बुढाथोकीले सम्झौता भएको २१ दिनभित्र निर्माण कार्यको थालनी हुने बताए । ‘सम्झौता मितिदेखि २१ दिनसम्म कामको तयारीका लागि निर्माण कम्पनीलाई समयावधि तोकिएको छ ।’ यी सडक निर्माण कम्पनीले २०७७ साउन १८ गतेदेखि लागू हुनेगरी २०७९ साउन १८ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सो सम्झौतापत्रमा उल्लेख छ ।

धनगढीमा पहिलो चरणमा निर्माण गर्ने सम्झौता भएका सडकहरू धनगढी मेनरोड (ट्राफिक चौराहदेखि कैलाली नाला) १ किलोमिटर ३८ मिटर, प्रहरी गुल्मदेखि चर्चसम्म २ किलोमिटर ७ मिटर र चटकपुरदेखि क्याम्पस गेटसम्म ३ किलोमिटर ६५ मिटरका छन् । त्यस्तै, धनगढी–क्याम्पसगेट–जोखरताल सडक ७० मिटर, धनगढी–खुटिया (स्याउले) सडक अन्तर्गत डिभोटी होटलदेखि पिपलचौतारासम्म ८७० मिटर, हसनपुर रोड १ किलोमिटर १५ मिटर र मालपोत रोड ४३ मिटरका छन् । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले पहिलो चरणको काम समयमै सम्पन्न भए दोस्रो चरणको कामको प्रारम्भ गरिनेछ । उनले भने, ‘सडक निर्माण समयमा सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएकाले धनगढी अवको २ वर्षमा सुविधासम्पन्न शहरको रूपमा विकास हुनेछ, यसमा सबैको सहयोग आवश्यक छ ।’ एशियाली विकास बैंकले धनगढी उपमहानगरपालिकाका लागि सन् २०१५ मा छुट्ट्याइएको १ अर्ब ३५ करोड रुपैयाँ बजेटमा सवा १० किलोमिटर सडक मात्रै निर्माण गर्न सकिने भएकाले २ चरणमा निर्माण गरिन लागेको आयोजनाका सूचना अधिकारी बुढाथोकीले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्