ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन : सुर्खेतमा रू. ७० करोडको ‘ड्रिम प्रोजेक्ट’ शुरू हुँदै

२०७७ सावन, १८  
कर्णाली प्रदेश
NA
author avatar आकाश तारा बयक

सुर्खेत । कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन विस्तार आयोजनाको काम शुरू हुने भएको छ । कर्णाली प्रदेशको ‘ड्रिम प्रोजेक्ट’को रूपमा रहेको यो आयोजना करीब ३२ वर्षपछि शुरू हुन लागेको हो ।

यो आयोजनाका लागि यहाँका बासिन्दाले वर्षौंदेखि प्रतिक्षा गरिरहेका छन् । लामो प्रयासपछि गएको असार २२ गते आयोजनाले भारतीय निर्माण कम्पनी ‘आरएस इन्फाप्रोजेक्ट प्राइभेट लिमिटेड’सँग निर्माणका लागि सम्झौता गरेको छ । आयोजना निर्माण कम्पनीले अबको दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी करीब रू. ७० करोडमा सम्झौता भएको हो ।
निर्माण सम्झौतासँगै कोहलपुरदेखि सुर्खेतसम्म जोड्ने विद्युत् लाइन विस्तारका लागि काम अगाडि बढ्ने भएको छ । अब निर्माण कम्पनीले विद्युत् लाइन प्रसारणका लागि डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरीदलगायत सम्पूर्ण काम अबको दुई वर्षभित्र गरिसक्नु पर्ने छ ।

आयोजनाका प्रमुख रविकुमार चौधरीका अनुसार पहिलो चरणमा इकाउन्टिङ र लाइन विस्तार गर्ने क्षेत्रमा रहेका रुख कटान लगायत कामहरू हुने छन् । २०४५ सालमै १३२ केभीए प्रसारण लाइन सुर्खेतसम्म ल्याउने कसरत थालिएको थियो । तर, लामो समयसम्म विद्युत् लाइन विस्तार हुन सकेको थिएन । यसले गर्दा यस क्षेत्रमा विद्युत् सेवा भरपर्दो बन्न सकेको छैन ।

उपभोक्ताले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् । तोकिएकै समयमा १३२ केभीए लाइन विस्तार भएमा यस क्षेत्रको विद्युत् आपूर्ति सहज हुने अपेक्षा गरिएको छ । साथै अहिलेको लो–भोल्टेजको समस्या पनि समाधान हुने बताइएको छ । लाइन विस्तार नभएकै कारण सुर्खेत, सल्यान, रूकुमपश्चिम, जाजरकोट र दैलेखका नागरिकले लो–भोल्टेजका कारण हैरानी भोग्दै आएका छन् । आयोजना सम्पन्न भएपछि कर्णाली प्रदेशलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।

आयोजनाबाट ३ जिल्लाका ६ स्थानीय तहमा प्रभाव
कोहलपुरदेखि सुर्खेतसम्म कुल १४५ ओटा पोल रहने छन् । जसमा २६ ओटा एंगल टावरहरूको प्रस्ताव गरिएको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार आयोजना क्षेत्रको उचाइगत फरक १६० मिटरदेखि १ हजार ११५ मिटरसम्म छ । प्रसारण लाइन मार्गमा बाँके राष्ट्रिय निकुञ्ज तथा यसको बफरजोन, बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसको बफर जोन तथा सामुदायिक र सरकारी वन पर्ने छ ।

प्रसारण लाइनको ७० दशमलव ५४५ भाग वनको क्षेत्र, १६ दशमलव १३५ खेतीयोग्य जमीन, २ दशमलव २६५ बाँझो जमीन तथा ११ दशमलव ०६५ अन्य भागले ओगटेको छ ।
विद्युत् प्रसारण लाइन विस्तार कार्यान्वयनका लागि विभिन्न जग्गा, जमीन, सामुदायिक वन, तथा सरकारी वन क्षेत्रका गरेर जग्गाको क्षेत्रफल कुल २२५ वर्गमिटर हुने छ । आयोजना कार्यान्वयन गर्दा कुल ९८ दशमलव ०५७ हेक्टर जग्गामा टावर निर्माण, सव–स्टेशन तथा क्षेत्राधिकारका लागि आवश्यक पर्ने छ । जसमध्ये ३ दशमलव ७२४ हेक्टर स्थायी रूपमा सव–स्टेशन निर्माणका लागि र ३ दशमलव ३०७५ हेक्टर टावरको जग निर्माणको लागि अधिग्रहण गरिनेछ ।

बाँकी ९१ दशमलव ०२५५ हेक्टर जमीन अस्थायीरूपमा प्रयोग गरिने छ । आयोजना कार्यान्वयन गर्दा बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका, सुर्खेतको भेरीगंगा, लेकवेशी र वीरेन्द्रनगर नगरपालिकाहरू प्रभावित हुने छन् ।

७ हजार बढी रुख कटान गरिँदै
कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइनको विस्तार गर्दा सात हजार बढी रुखहरू कटान हुने छन् । आयोजना प्रमुख चौधरीका अनुसार कोहलपुरदेखि सुर्खेतसम्म ७ हजार भन्दा बढी रुखहरू काटिने भएका छन् । निकुञ्ज क्षेत्र भएर लाइन विस्तार हुने भएकाले पनि धेरै रुख काट्नु पर्ने अवस्था आएको हो ।

बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग रुख कटानका लागि अनुमति मागिएको र फाइल वातारण मन्त्रालयमा पेश भएको छ । रुख कटानका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउनु पर्छ । मन्त्रीपरिषद्ले निर्णय गरेपछि मात्रै रुखहरू काट्न शुरू गरिने आयोजना प्रमुख चौधरीले जानकारी दिए ।

रुख कटानको अनुमति नपाउँदासम्म निर्माण कम्पनीले प्राविधिक कामहरू गर्ने छ । आयोजनाको कुल लम्बाई करीब ५१.४६२ किलोमिटर लम्बाई डबल सर्किटको रहने प्रस्ताव गरिएको छ ।

आयोजना विस्तारमा जनप्रतिनिधिको पहल
आयोजना विस्तारका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री एवं सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य नवराज रावतको विशेष पहल रहेको छ । ३२ वर्षदेखि बेवारिसे बनेको सुर्खेतको ‘ड्रिम प्रोजेक्ट’ कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन विस्तारको काम जनप्रतिनिधिले पहल गरेअनुसार सरकारले बनाउन लागेको राज्यमन्त्री रावतले बताए ।

उनले उद्योग व्यवसायको चौतर्फी विकासका लागि अति महत्त्वपूर्ण मानिएको कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन विस्तारले सुर्खेतवासीलाई मात्र नभई कर्णालीका बासिन्दालाई समेत सुविधा पुग्ने बताए । कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन विस्तारका लागि रकम अभाव हुन नदिने उनको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्