ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बजार खुला, व्यवसाय ठप्प

२०७७ सावन, १८  
प्रदेश ०२
Image Not Found
author avatar कमलेश ठाकुर

जनकपुरधाम । लकडाउनअघि जनकपुरको शिवचोकस्थित एकतारे होटल वेलकममा निकै भीडभाड हुन्थ्यो । होटलमा सेवाग्राहीको चापका कारण कोठा लिन कम्तीमा २ दिन पहिले र कुनै पार्टी वा सभा–समारोह गर्नुपरे एक हप्ता पहिले नै बुकिङ गर्नुपथ्र्यो । होटलका सञ्चालक अभिषेक झुनझुनवालका अनुसार होटलमा ९० प्रतिशतसम्म अकुपेन्सी हुन्थ्यो । साथै त्यतिबेला प्रतिमहिना ३० लाखदेखि ४० लाख रुपैयाँसम्मको कारोबार हुने गरेको उनले बताए ।

लकडाउनसँगै करीब ४ महीना बन्द भएको होटल हाल खुलेको छ । तर सेवाग्राही शून्य रहेको उनको भनाइ छ । सरकारले लकडाउन हटाए पनि व्यवसाय ठप्प रहेको गुनासो उनले गरे । पहिला होटलमा दिनकै ३५ ओटासम्म कोठा बुक हुने गरेकोमा अहिले महीनामा मुश्किलले ३० ओटा कोठा बुक हुने गरेको उनले सुनाए ।

होटल तथा पर्यटन व्यवसाय धनुषाका अध्यक्ष समेत रहेका होटल व्यवसायी सुरेन्द्र भण्डारीले अहिले होटल खोल्ने र बन्द गर्ने काम मात्रै भएको बताउँछन् । ‘करीब ५ महीनाको बन्दाबन्दीपछि बजार खुला छ, तर व्यवसाय शून्यप्रायः छ,’ उनले भने, ‘५ महीनायता १ रुपैयाँको पनि कारोबार भएको छैन । तर कर तिर्न र बैंक ब्याज तिर्न दिनहुँ फोन आउँछ ।’ कर्जा लिएर व्यापार सञ्चालन गरेका व्यवसायी कारोबार ठप्प हुँदा डिप्रेशनमा जाने खतरा बढेको उनले बताए ।

बैंकले ब्याज बुझाउन ताकेता गरेको मात्र नभई कतिपयले साविकभन्दा बढाएर ब्याज लिएको उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साहले बताए । यही अवस्था रहे जनकपुरका ५० प्रतिशत व्यापारी पलायन हुने उनको अनुमान छ । ‘मासिक १४ हजार त बैंकको ब्याज मात्रै बुझाउनुपर्छ । व्यापार छैन । तैपनि बैंकले ताकेता गरिरहेको छ,’ पंकज वस्त्रालयका सञ्चालक अरविन्द साहले भने । तर, आम्दानी नभएपछि ब्याज अहिलेसम्म तिर्न नसकेको उनको भनाइ छ ।

लकडाउन खुकुलो भएसँगै जनकपुर बजारका पसल खुलेका हुन् । मुख्य बजार पिडारी चोक, रामानन्द चोक, जनक चोक, शिव चोक, जानकी मन्दिर लाइनमा ठूला ठूला वस्त्रालय र फेन्सी पसल सञ्चालनमा छन् । तर ग्राहक छैनन् । सधैं भीड हुने पसल सुनसान देखिन्छन् । ग्राहकको प्रतीक्षामा दिन बिताउनु परेको सञ्चालकहरू बताउँछन् । व्यापार नै सुकेका बेला कर्जा–ब्याज बुझाउन बैंकले गर्ने ताकेताले आफूहरू आजित भएको उनीहरूको भनाइ छ ।

लामो समयको बन्दाबन्दीका कारण व्यवसाय नै बन्द गर्ने स्थिति आएको जकनपुरधामका व्यापारीले बताएका छन् । कतिपय व्यवसायीले कर्जाको दबाब थेग्न नसकेर व्यवसाय नै बन्द गर्न थालेका छन् । ‘कर्जा तिर्न सक्ने अवस्था नहुँदा २ महीना पहिले पसल नै विक्री गर्नुप¥यो,’ स्थानीय शिव ग्यास स्टोर्स सञ्चालक आर्यन यादवले भने । जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले यकिन तथ्यांक नभए पनि लकडाउनले धेरै व्यापारी विस्थापित भएको बताए ।  

‘दिनभर कुर्दा एउटै ग्राहक आउँदैनन् । पसल खोले पनि व्यापार शून्य छ,’ विक्री गर्ने मनस्थितिमा रहेका फेन्सी पसलका सञ्चालक क्रिस साहले भने, ‘ऋण गरेर खोलेको व्यापार चौपट भयो । हामी धराशयी भयौं । ऋण लिएर किनेका सामान पसलमा थन्किएका छन् । तर बैंकले ब्याजमाथि ब्याज खप्टाएको छ । घरबेटीले घरभाडा जोडिरहेका छन् ।’ बैंकबाट दिनहुँ फोन गरेर ब्याज बुझाउन ताकेता गर्ने गरेको उनले सुनाए । तर व्यापार नै नभएकाले बैंक ब्याज बुझाउन सक्ने अवस्था नभएको उनको भनाइ छ ।

जनकपुर बजारमा व्यापार हुन स्थानीय मात्र आएर नहुने आसपासका क्षेत्रका साथै जिल्लाबाहिरका व्यक्ति समेत किनमेलका लागि आउनुपर्ने व्यापारी व्यवसायी बताउँछन् । तर सार्वजनिक यातायात नचल्दा बाहिरी ग्राहक आएका छैनन् । बजार क्षेत्रकै मानिस समेत किनमेलका लागि नआएको उनीहरूको भनाइ छ । यस्तै विवाह, व्रतबन्ध, पूजा जस्ता धार्मिक र सामाजिक क्रियाकलाप नहुँदा पनि जनकपुरधामको व्यापार ठप्प छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्