ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लेखापरीक्षक र लेखापरीक्षण

२०७७ सावन, १८  
लेख | दृष्टिकोण
Image Not Found

लेखाप्रणालीको विकास कहिले कसरी भयो भन्ने सम्बन्धमा ठ्याक्कै यसरी भयो भन्न सकिने अवस्था देखिँदैन । लेखाको प्रारम्भिक विकास मेसोपोटामिया सभ्यतादेखिको हो भने तापनि हजाराैं वर्ष पुरानो हो भनेर अनुमान गर्न सकिन्छ । दोहोरो खाता राख्ने लेखाको विकास मध्यकालीन युगमा भएको पाइन्छ । कतिपय इतिहासकारहरूले लेखाको जन्मदाता लुका पसिकोलीलाई मानेका छन् । वस्तु विनिमयका कालखण्डमा लेखा राख्न कठिन थियो । घोडाको साटोमा गाई, तेल, मसाला, चामल आदि एकै स्थानबाट किनबेच गर्न नसकेर ठगिन्थ्यो । मुद्रा विनिमयले नठगिनका लागि सहज पनि बनाएको छ । जे भए पनि लामो इतिहासको फड्कोमा परिमर्जित हुँदै आएको लेखापद्धतिलाई विश्व अर्थतन्त्रले विश्वासका साथ अंगीकार गरेको छ । विश्वको अर्थ बजारले अपनाएको लेखापद्धति अनुसार लेखांकन भएको छ वा छैन भनेर कामको जाँच गर्नेलाई लेखापरीक्षक भनिन्छ ।

लेखापरीक्षक र लेखापरीक्षण एकआपसमा गहिरो अन्तरसम्बन्ध भएका शब्द हुन् । सामान्य भाषामा लेखापरीक्षक भनेको नाफानोक्सान हिसाब निकाली दिने पेशागत व्यवसाय गर्ने प्राकृति व्यक्ति भन्ने अधिकांशको बुझाइ रहेको छ । कतिपय निकायका पदाधिकारीले आफ्नो कम्पनीको वार्षिक साधारणसभामा लेखापरीक्षकले निकालेको हिसाब हो भनेर निर्धक्कसँग सभामा उदघोषण गर्ने गरेको समेत देखिन्छ । वास्तवमा त्यस्तो होइन । लेखापरीक्षक भनेको कुनै पनि निकाय वा कम्पनीका व्यक्तिले सञ्चालन गरेको व्यवसायको आर्थिक कारोबारको लेखाजोखा गरेको पद्धतिलाई आधार मानेर कुनै निश्चित समयको वित्तीय अवस्था, कुनै एक अन्तरालमा गरेको नाफानोक्सान हिसाब, वित्तीय विवरणमा भएका परिवर्तन र नगद तथा नगद सरहका उपकरणहरूका परिचालन गतिविधिबाट कम्पनीमा गरेका कामकारबाहीको सकारात्मक वा नकारात्मक विश्लेषण गरेर आफ्नो धारणासहित रायसुझाव दिने प्राकृतिक व्यक्ति लेखापरीक्षक हो ।

विश्वमा २ दशकअगाडिको लेखापरीक्षण र अहिलेको लेखापरीक्षण प्रणालीमा आमूल परिवर्तन भएको छ । पहिला लेखापरीक्षकहरूको कर्तव्य भनेको कम्पनीहरूमा साझेदारहरू बीचको वित्तीय कथनहरूलाई मात्र सुनिश्चितता गर्नुपथ्र्याे  । तर, अहिले धितोपत्र विनिमय बजारका कारणले साझेदारीमा मात्र सीमित नरहेर सबैको जवाफदेहिता लेखापरीक्षकमा रहेको छ । अब लेखापरीक्षकहरू विषयगत विधाको अधीनमा बसेर लेखापरीक्षण गर्नुपर्ने पद्धतिको विकास भएको छ । विषयगत विधाभित्र वित्तीय विवरण लेखापरीक्षण, श्रम लेखापरीक्षण, पारिश्रमिक लेखापरीक्षण, सामाजिक लेखापरीक्षणको वर्गीकरण भएको छ । विषयगत विधाको छुट्टाछुट्टै लेखापरीक्षण गर्नुपर्ने विश्वव्यापी सिद्धान्तको विकास भएको छ । यसले लेखापरीक्षकहरूमाथि थप जिम्मेवारी दिएको छ । लेखापरीक्षकहरूले कानूनी रूपले मान्यताप्राप्त व्यक्ति (कम्पनी) वा संस्थाका सञ्चालक वा व्यक्ति विशेषमा नभई संस्था वा कम्पनीले गरेका नीतिगत विषयको कामकारबाहीको निष्ठामा देखिएका व्यावहारिक र सैद्धान्तिक रायसुझाव छुट्टाछुट्टै दिनुपर्छ । कम्पनीले अंगीकार गरेका मूल्य, मान्यता, सिद्धान्त र उद्देश्यको परिपालना गरेर प्रचलित कानूनबमोजिम प्रतिफल वा नोक्सानी गरेको हो वा होइन सोको उत्तरदायी कसले लिनुपर्छ भन्ने रायसुझाव दिनुपर्छ । आफूलाई नियमन गर्ने निकायसँगको समन्वय, प्रचलित कानूनबमोजिम अनुपालन र त्यसबाट भविष्यमा सृजना हुनसक्ने सम्भावित दायित्वका बारेमा लेखापरीक्षकले सुझाएका हुन्छन् । व्यापार व्यवसायले विगत, वर्तमान र भविष्यमा हुन सक्ने अनुमानको परिकल्पनासमेत लेखापरीक्षकहरूले औंल्याएका हुन्छन् ।

प्राचीनकालमा मिस्र र बेबीलोन भित्रबाहिर आए गएको भित्तामा कोरेको रेखाको गणनाको जाँच गर्न लेखा राख्ने प्रणाली थियो । त्यसको निरन्तर परिमार्जन र संशोधनको प्रयासबाट विश्वका सबै देशले स्वीकार गरेको लेखापरीक्षण प्रणालीको विकास भयो । अहिलेका लेखापरीक्षकहरूलाई नियामक निकायले दिएको मार्गनिर्देशनको अधीनमा रहेर स्वतन्त्र रूपमा टिप्पणी, रायसुझाव र विश्लेषण गर्न सक्ने स्वतन्त्रता छ । विषयगत विधामा आफू अनभिज्ञ भएमा अर्को विज्ञको सहयोगमा समेत विश्लेषण गरेर सकेसम्म लेखामा चित्रण भएका विवरणहरूमा यथार्थको नजीक पुग्ने प्रयास गर्छन् । लेखापरीक्षकहरूले कोही कसैप्रति द्वेषराग, लोभलालच र मुलाहिजामा नपरी निष्पक्ष भएर कम्पनीका विषयमा सम्भावित हानिनोक्सानी तथा जोखिमको रायसुझाव दिनुपर्ने हुन्छ । आफूले लेखापरीक्षण गरेको निकाय अविच्छिन्न उत्तराधिकारी भएर सञ्चालित हुन सक्छ कि सक्दैन भन्ने समेत विश्लेषण गर्छन् । तर पनि यदाकदा अपवादका रूपमा लेखापरीक्षकहरूले गरेका कमीकमजोरीका केही छिटपुट घटना भएको पनि पाइन्छ । यद्यपि यस्तो गहन जिम्मेवारीपूर्ण काम गर्दा जानी नजानी कमीकमजोरी हुन सक्छ । अज्ञानताका कारण भएकोलाई लेखापरीक्षकहरूले ज्ञान र शीपको विकास गर्न सक्नुपर्छ ।

लेखापरीक्षकहरू गैरसरकारी कर्मचारी हुन् भन्दा अत्युक्ति नहोला । सरकारले तय गरेको वार्षिक राजस्व असुली र परिचालन सम्बन्धमा ल्याएको आर्थिक प्रशासन ऐन तथा नियमावलीको कार्यान्वयनको पाटोमा लेखापरीक्षकहरूको ठूलो भूमिका रहेको हुन्छ । सरकारले जारी गरेको वार्षिक कर राजस्व प्रशासन अनुसार व्यवसायीहरूले आर्जित गरेको आयमा राज्यलाई तिर्नु/बुझाउनुपर्ने कर दायित्वको हिसाब लेखापरीक्षकहरूले तय गरिदिन्छन् । पारिश्रमिक तथा व्यवसायबाट आर्जन गरेको मध्येबाट राज्यले प्राप्त गर्ने राजस्व संकलनको गणना गरिदिने व्यक्ति भनेको लेखापरीक्षक नै हुन् । लेखापरीक्षकहरूले निर्धारण गरेबमोजिमको कर राजस्व व्यक्ति, उद्यमी र व्यवसायीहरूले राज्यलाई बुझाउनुपर्ने कानूनी व्यवस्था रहेको छ ।

व्यापार व्यवसाय सञ्चालन गरेका व्यक्ति, संघसंस्था वा निकायहरूले पनि लेखापरीक्षकहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न जरुरी छ । लेखापरीक्षकहरूको काम भनेको केवल वित्तीय विवरणलाई प्रमाणीकरण गर्न रबरको छाप लगाउने मात्र हो भन्ने सोचविचारलाई त्याग्नुपर्छ । आफ्नो कम्पनीले राखेको हिसाब बहिखाताका विषयमा कुनै व्यक्ति वा निकायले प्रश्न गर्दा लेखापरीक्षकले के गरिदियो भन्ने दोष थोपर्ने काम गर्नु हुँदैन । लेखापरीक्षकले आफूले गरेको कुनै निश्चित अवधिमा आफूलाई दिएका सकारात्मक र नकारात्मक विश्लेषणात्मक सुझावले आफ्नो व्यापार व्यवसायलाई कसरी कतापट्टि विस्तार, संकुचन वा नयाँ व्यवसायको थालनी गर्ने तथ्यगत विचारको विकास हुन्छ । यसले व्यवसायमा सकारात्मक सोचको विकास हुन्छ ।

लेखक पूर्व बैंकर हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्