ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

व्यावसायिक गोपनीयताको व्यावहारिक महत्त्व

गोपनीयता बौद्धिक सम्पत्ति बन्ने आधार

२०७७ सावन, १८  
लेख | दृष्टिकोण
Image Not Found

हरेक व्यवसाय सञ्चालकहरूले आफ्ना उत्पादनसम्बन्धी क्रियाकलापहरू, आर्थिक व्यवस्थापन र व्यवस्थापन विधिजस्ता महŒवका विषय प्रतिस्पर्धीहरूले छनक नपाउने गरी गोप्य राख्न मन पराउँछन् ताकि उनीहरूले अनावश्यक फाइदा नउठाउन् र आफूलाई प्रतिस्पर्धामा पछाडि नपारून् । अतः व्यावसायिक गोपनीयताभित्रका गोपनीयता, उपयोगिता र विश्वस्तताजस्ता कारक तत्त्वहरूले गोपनीयताको संरक्षण गर्न उत्प्रेरित गर्छन् । यसै कारणले बौद्धिक सम्पत्तिका रूपमा व्यावसायिक गोपनीयताको संरक्षण गर्ने लहर विश्वव्यापी भएको हो ।

सामान्यतया व्यावसायिक गोपनीयताको धनीलाई संरक्षण गरिएको गोपनीय कुरा खुलासा गर्न बाध्य तुल्याइँदैन ।

कुनै व्यक्तिसँग भएको व्यावसायिक गोपनीयता भन्नाले सहजै भेद नखुल्ने गरी गोप्य राख्न सकिने, गोपनीयताको कारणले औद्योगिक वा व्यापारिक महत्त्व हुने र गोपनीयता निर्वाह गर्न निश्चित कदम चालिएकोे कुनै प्रकारको गोप्य जानकारी हो । त्यस्ता गोप्य जानकारीको सूची धेरै लामो हुन सक्छ । जस्तो सूत्र, वस्तुको सम्मिश्रण, बनावट, ढाँचा, जडान, प्रक्रिया, तरीका, विधि, आविष्कार, सूचना, कार्यक्रम, प्रविधि, वस्तुको ढाँचा, कार्ययोजना, ग्राहकको सूची, वस्तुको आपूर्ति स्रोत, वित्तीय व्यवस्था, लेखापालन, उत्पादन रेकर्ड, पूँजीलगानी ढाँचा, व्यावसायिक योजना, परीक्षण अभिलेख, अनुसन्धान प्रतिवेदन निरीक्षण प्रतिवेदन, लिखित सल्लाह–सुझाव, प्राविधिक तालीम, सोर्सकोड, कामदारको विवरण, प्राविधिक शीप, पक्वान्न शीप अदि । यस्ता गोप्य जानकारीहरूको सूची अझै धेरै लामो हुन सक्छ । यिनको गोपनीयता निर्वाह गर्दा वा उत्पादन प्रणालीमा उपयोग गर्दा बजार प्रतिस्पर्धामा विपक्षीलाई पछाडि पार्न सकिन्छ ।

व्यावसायिक गोपनीयताको संरक्षणका लागि खास कुनै किसिमको औपचारिकता निर्वाह गर्नु पर्दैन तर केही शर्तहरू पालना हुनुपर्छ । अनि मात्र त्यस्ता खालका व्यावसायिक जानकारीलाई व्यावसायिक गोपनीयताको रूपमा संरक्षण प्रदान गर्न सकिन्छ । त्यस्ता शर्तहरू हुन सक्छन्– सम्बद्ध विषयको कारोबार गर्ने वा जानकारी राख्ने व्यक्तिले कुनै वस्तुको संरचना वा सम्मिश्रण वा जडान वा विधि यसरी भएको छ भनी स्पष्ट पार्न नसक्ने भई त्यस्तो सूचना वा प्रविधि गोप्य रहन सक्ने खालको भएमा, गोपनीयताले गर्दा त्यस्तो सूचनाबाट व्यावसायिक उपयोगिता वा मूल्य सृजना हुने भएमा र सम्बद्ध व्यक्तिले आफ्नो व्यावसायिक सूचनालाई गोपनीय राख्न परिस्थितिअनुसार कानूनसम्मत उपयुक्त खालका उपायहरू अपनाएमा ।

संरक्षणका लागि शर्तका रूपमा नभए तापनि सार्वजनिक जानकारी र अभिलेखका लागि भए पनि व्यावसायिक गोपनीयताका सम्बद्ध धनीले सम्बद्ध व्यावसायिक गोपनीयताको प्रयोग हुने प्रविधि वा कारोबारको नामसमेत उल्लेख गरी तोकिएबमोजिम कार्यालयमा आवेदन दिन सक्छ । सामान्यतया व्यावसायिक गोपनीयताको धनीलाई संरक्षण गरिएको गोपनीय कुरा खुलासा गर्न बाध्य तुल्याइँदैन । व्यावसायिक गोपनीयताको प्रयोगका लागि इजाजत प्राप्त गर्ने व्यक्तिले वा कुनै तेस्रो पक्षले जानीजानी वा दुराशयपूर्ण मनसाय राखी कसैको व्यावसायिक गोपनीयता खुलासा गरेमा कसुरदार भएको मानिन्छ ।

ट्रिप्सको प्रावधानअनुसार गोपनीय राखिएका औषधि वा कृषि रसायनसँग सम्बद्ध नव–उत्पादित वस्तुको हकमा बेचबिखन गर्नुभन्दा पहिले बेचबिखनको स्वीकृति लिँदा सार्वजनिक स्वास्थ्य र हितको लागि, सार्वजनिक सुरक्षाका लागि र अस्वस्थ व्यापारिक क्रियाकलाप हटाउन उपयुक्त कदम चालिएको अवस्थामा कार्यालयले आवश्यक देखेमा परीक्षण नतीजासम्बन्धी सूचना तथा तथ्याङ्कहरूको विवरण पेश गराउन भने सक्छ । यसरी विवरण पेश गराएको भए पूर्ण सुरक्षाको प्रत्यभूतिसहित कार्यालयले व्यावसायिक गोपनीयता खुलासा हुन नपाउने व्यवस्था गर्नुपर्छ । सम्बद्ध धनीलाई कार्यालयसमक्ष पेश गरिएको विवरण सम्बन्धमा गोपनीयताको प्रत्याभूति पाउने हक हुन्छ ।

व्यावसायिक गोपनीयताका धेरै फाइदा छन्, जस्तो– धनीले आफ्नो व्यावसायिक गोपनीयता निर्बाध प्रयोग गर्न पाउँछ र अरूलाई आफ्नो हक हस्तान्तरण गर्न सक्छ । व्यावसायिक गोपनीयताको संरक्षण अवधि पेटेन्ट, डिजाइन वा प्रतिलिपि अधिकारको जस्तो म्यादी हुँदैन । संरक्षणको शर्त पूरा गरेसम्म यसको बहाली म्याद अनन्तकालीन हुन्छ । संरक्षण पाउन अन्य बौद्धिक सम्पत्तिहरूमा जस्तो विशेष औपचारिकता पूरा गर्न र शुल्क तिर्नु पर्दैन । कानूनतः कुनै कारणले पेटेन्ट हुन नसकेका प्रविधि, रासायनिक सूत्र, वस्तुको बनोट वा अविष्कारलाई यस विधिबाट संरक्षण प्रदान गर्न सकिन्छ । पेटेन्ट गर्दा विभिन्न औपचारिकता पूरा गर्दैमा समय व्यतीत हुन्छ र अनेक झै झमेला बेहोर्नुपर्ने हुन्छ । तर, व्यावसायिक गोपनीयतामा कुनै नौलो विधि, वस्तु वा जानकारी प्राप्त हुँदासाथ संरक्षण पाउन सकिन्छ ।

व्यावसायिक गोपनीयतामा पेटेन्टमा जस्तो नवीनता, उपयोगिता र आविष्कारको चरण जस्ता आवश्यकता पूूरा गर्नु पर्दैन । पेटेन्टको प्रविधि सार्वजनिक हुने भएकाले त्यसको जानकारी प्रतिस्पर्धीहरूको पहुँचमा हुन्छ र चाहेमा उल्लंघन वा नक्कल गर्न सक्छन् । पेटेन्टको धनीलाई कसले उल्लंघन गरेको हो भन्ने कुरा पत्ता लगाउन हम्मेहम्मे पर्छ । तर, व्यावसायिक गोपनीयताको प्रविधि खुलासा नहुने हुँदा त्यसरी उल्लंघन गर्ने डर हुँदैन । व्यावसायिक गोपनीयता जस्तो एउटै बौद्धिक सम्पत्तिको उपकरणबाट पेटेन्ट जस्तो विचारप्रधान विषय र प्रतिलिपि अधिकारजस्तो स्वरूपप्रधान विषय दुवैलाई संरक्षण दिन सकिन्छ । कुनै प्रविधिलाई पत्ता लाग्ने बित्तिकै व्यावसायिक गोपनीयताबाट संरक्षण गर्न सम्भव हुन्छ । तर, पेटेन्टको हकमा स्वीकृति पाउन आवेदनको अवधिमा केही वर्ष बित्छ । सो अवधिमा प्रविधि नै पुरानो हुने र प्रतिस्पर्धीहरूले वैकल्पिक विधिबाट त्यही नतीजा प्राप्त गर्दा अघिल्लो पेटेन्टको पक्षाघात हुने डर हुन्छ । अन्य बौद्धिक सम्पत्तिको दाँजोमा व्यावसायिक गोपनीयताबाट संरक्षण प्राप्त गर्नु सबैभन्दा छिटोछरितो काम हो । स्वदेश वा विदेशमा प्राविधिक जानकारी (टेक्निकल नोहाउ) सम्बन्धी सम्झौता गरी कारोबार विस्तार गर्ने अवसर व्यावसायिक गोपनीयतामा प्रशस्त हुन्छ ।

जसरी व्यावसायिक गोपनीयताका धेरै फाइदा छन्, त्यसैगरी केही बेफाइदा पनि छन् । यसको संरक्षण हुने गोपनीयताको रहस्य अरूले पत्ता नलगाउँदासम्म मात्र हो । तर, कसैले छनक पाउँदासाथ अस्तित्व समाप्त हुन्छ वा कम्तीमा उपादेयता न्यून हुन्छ । व्यावसायिक गोपनीयतालाई कालान्तरमा गएर आविष्कारकले दर्ता गर्न सक्छ । यसो गरेमा व्यावसायिक गोपनीयताका प्रयोगकर्ताका लागि त्यसको उपादेयता समाप्त हुन्छ । कुनै आविष्कारलाई व्यावसायिक गोपनीयताको विधिबाट संरक्षण गर्न यस अर्थमा जोखिमपूर्ण हुन्छ । जब कसैले विपरीत इन्जिनीयरिङ विधिबाट वा वस्तुको विन्यासबाट वा अन्य विधिबाट गोपनीयता पत्ता लगाउन पनि सक्छ । यस किसिमका आविष्कारका लागि यो विधि उपयुक्त हुँदैन । सार्वजनिक हितको दृष्टिकोणले व्यावसायिक गोपनीयताभन्दा पेटेन्ट विधि यस अर्थमा राम्रो मानिन्छ– पेटेन्ट सार्वजनिक भएपछि विश्वविद्यालयहरू, अनुसन्धानमूलक संस्था वा अरू कसैले पनि पेटेन्ट उल्लंघन नगरीकन त्यसको फाइदा लिन सक्छन् । तर, यस्तो अवसर व्यावसायिक गोपनीयतामा हुँदैन ।

जे भए तापनि व्यावसायिक गोपनीयतामा चुनौतीभन्दा अवसरहरू नै बढी हुने भएकाले बौद्धिक सम्पत्तिका यस्ता सृजनशील कार्यहरूको संरक्षण र प्रवद्र्धन गर्न सम्बद्ध सबै पक्षले चासो देखाउन आवश्यक छ ।

लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका महासचिव हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्