ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

निकासीमा वीरगञ्ज भन्सार सबैभन्दा अगाडि

२०७७ सावन, १८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । मुलुकको मुख्य भन्सार नाकाका रूपमा रहेको वीरगञ्ज भन्सार कार्यालयबाट गत आर्थिक वर्ष (२०७६/७७) मा सबैभन्दा बढी निर्यात भएको छ । गत आवमा नेपालको समग्र निर्यात कारोबारमा झीनो (शून्य दशमलव ६२) वृद्धि भए पनि यो नाकाबाट हुने निकासी भने ३२ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।

आव २०७६/७७ मा वीरगञ्जबाट ३२ अर्ब २७ करोड रुपैयाँ बराबरका विभिन्न मालसमान निर्यात भएको वीरगञ्ज भन्सारले बताएको छ । अघिल्लो वर्ष (२०७५/७६) मा यस्तो निर्यात २४ अर्ब ५३ करोड रुपैयाँ बराबरको भएको थियो ।

नेपालको कुल निकासी गत आर्थिक वर्षमा ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको थियो । जबकि आव २०७५/७६ मा नेपालले ९७ अर्ब १० करोड रुपैयाँ बराबरका मालसमान निर्यात गरेको थियो ।

वीरगञ्जबाट सबैभन्दा बढी प्रशोधित पाम आयल निकासी भएको भन्सारका सूचना अधिकृत विमल साहले बताए । ‘बितेको वर्ष यो नाकाबाट रू. ११ अर्ब ७२ करोड मूल्य बराबरको १ लाख ७ हजार ५३५ मेट्रिकटन प्रशोधित पाम आयल निकासी भएको छ,’ साहले आर्थिक अभियानसँग भने ।

पाम आयल निकासीको यो परिमाण अघिल्लो वर्षको तुलनामा करीब दोब्बर हो । त्यस वर्ष ५७ हजार ५७६ मेट्रिकटन यस्तो तेल भारत निकासी भएको थियो । भारतले आयात प्रतिबन्ध लगाएका करण करीब ३ महीनादेखि पाम आयलको निर्यात रोकिएको छ । यसअघि वीरगञ्जमा खुलेका १४ ओटा तेल उद्योगले पाम आयल निर्यात गर्दै आएका थिए ।

यस नाकाबाट जूस जाम, भटमासको तेल, सेन्थेटिक यार्न, स्पोर्टस सुज, दन्तमन्जन, पिनालगायत वस्तु निकासी भएको भन्सारको तथ्यांकमा उल्लेख छ ।

समग्र निकासी व्यापारमा वीरगञ्ज भन्सारको अंश करीब ३३ प्रतिशत रहेको भन्सार विभागले बताएको छ । दोस्रोमा विराटनगर २९ प्रतिशत र तेस्रोमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार (२० प्रतिशत) छ ।

आयातमा समेत वीरगञ्ज भन्सार सबैभन्दा अगाडि देखिएको छ । मुलुकको कुल आयात ११ खर्ब ९६ अर्ब ७९ करोडमध्ये वीरगञ्जबाट मात्रै ४ खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ बराबरको वस्तु भित्रिएको छ । यो समग्र आयातको ३४ प्रतिशत भएको भन्सार विभागले बताएको छ । गतवर्ष वीरगञ्जबाट हुने आयात अघिल्लो वर्षभन्दा १७ प्रतिशतले घटेको छ । वर्ष २०७५/७६ मा यो नाकबाट कुल रू. ४ खर्ब ९५ अर्ब ८३ करोडको मालसामान भित्रिएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्