ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सडक विभागको वार्षिक प्रतिवेदन : पी वान आयोजनामध्ये ६ ओटाको मात्र ८० प्रतिशत प्रगति

२०७७ सावन, २१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सडक विभागअन्तर्गतका प्रथम प्राथमिकता (पी–वान) आयोजनाहरूको प्रगति गत आर्थिक वर्षमा निराशाजनक पाइएको छ । विभाग मातहतका ४२ ओटा पी वान आयोजनामध्ये ८० प्रतिशतभन्दा बढी प्रगति गरेकाको संख्या ६ ओटा मात्रै छ ।

विभागका अनुसार ५० देखि ८० प्रतिशतसम्म प्रगति भएका आयोजनाको संख्या १९ र ५० प्रतिशतभन्दा कम प्रगति भएकाको संख्या १७ छ । त्यस्तै, राष्ट्रिय गौरवका अन्य आयोजनामा पनि उल्लेख्य प्रगति हुन सकेको छैन ।

विभागले गत आर्थिक वर्षमा सडकसम्बन्धी गौरवका आयोजनादेखि प्राथमिकताप्राप्त आयोजना र पुल निर्माणको लक्ष्य भने भेटाउन सकेको छैन । कोरोना महामारीसहितका आधा दर्जन समस्याका कारण सडक विभागलाई वार्षिक लक्ष्य नै भेटाउन मुश्किल भएको विभागको भनाइ छ ।

१ खर्ब २७ अर्ब रुपैयाँ बजेट पाएको विभागले गतवर्ष ६७ दशमलव २९ प्रतिशत अर्थात् ६९ अर्ब ४८ करोड रुपैयाँ मात्रै खर्च गर्न सक्यो । विगतका वर्षमा यस्तो खर्च ८० प्रतिशतभन्दा बढी हुने गरेको विभागको दाबी छ । कोरोना भाइरस रोकथामका लागि चैतदेखि गरिएको बन्दाबन्दीले वार्षिक लक्ष्य प्राप्त हुन बाधा पुर्‍याएको विभागका प्रवक्ता शिवहरि सापकोटाको दाबी छ ।

विभागले गत आवमा मुलुकको सडक सञ्जालमा १ वर्षमा ७२९ किलोमीटर (किमी) कालोपत्र सडक थपेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा १ हजार २०० किमी नयाँ कालोपत्र सडक स्तरोन्नति गर्ने लक्ष्य राखे पनि त्यसको ६० दशमलव ७५ प्रतिशत मात्र कालोपत्र थपिएको हो ।

वैदेशिक स्रोतको बजेट निकासा तथा फुकुवामा कठिनाइ, आयोजना क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकनको अन्तिम प्रतिवेदन स्वीकृतिमा अत्यधिक समय, पुराना ठेक्काहरूमा मुआब्जा तथा क्षतिपूर्तिको समस्या यथावत् रहेको र नयाँ योजनाहरूमा समेत जग्गा प्राप्तिमा कठिनाइ भएको एवम् स्थानीयले अधिक मुआब्जा माग गरेको, प्रदेशमा हस्तान्तरण भएका सडक डिभिजनहरूमा जनशक्ति व्यवस्थापनलगायत समस्या भएकाले निर्माण अघि बढाउनै समस्या भएको विभागको भनाइ छ । विभागको वार्षिक प्रतिवेदनअनुसार गतवर्ष ७५७ किमी सडक ग्राभेल भएको छ र कच्ची सडक ३६५ किमी थप भएको छ । कालोपत्रस्तरको सडक पुनर्निर्माण तथा पुनःस्थापना गरी ३५२ किमी र आवधिक मर्मतसम्भारबाट ३६० किमी सडक स्तरोन्नति भएको विभागले जानकारी दिएको छ ।

यसैगरी गतवर्ष २१० ओटा मोटरेबल पुल निर्माण भएका छन् । वार्षिक लक्ष्यअनुसार ३०० ओटा पुल सम्पन्न गर्नुपर्ने भए पनि विभागले ७० प्रतिशत प्रगति मात्रै प्राप्त गरेको छ । ३६५  किमी नयाँ ट्र्याक निर्माण र ७५७ किमी सडक ग्राभेल स्तरमा स्तरोन्नति भएको छ ।

विभागले गतवर्ष ७ हजार ५६० किमी सडक मर्मतसम्भार गरेको छ । विभागको वार्षिक प्रतिवेदनअनुसार काठमाडौं उपत्यकाका प्रमुख तीन चोक चक्रपथको ग्वार्काे, सातदोबाटो,  एकान्तकुनामा निर्माण गरिने फ्लाइओभर डिजाइन गर्न परामर्शदाता छनोट भएको छ र चालू आवमा डिजाइन सम्पन्न गरी कार्य शुरू गरिनेछ । विभागले नेपालमा पहिलोपटक सुरुङ मार्ग निर्माणका लागि आवश्यक पर्ने नम्र्स र स्पेसिफिकेशन तयार गरेको छ भने सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ठेक्का प्रक्रिया शुरू गर्ने तयारी पनि गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्