ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रदेश नं २ का एकपछि अर्को जिल्लामा निषेधाज्ञा घोषणा

२०७७ सावन, २१  
प्रदेश ०२
Image Not Found

साउन २१, महोत्तरी । लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोरोना संक्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ संक्रमित थपिएका छन् ।

साउन ६ गतेसम्म कुल संक्रमितको संख्या चार हजार २६४ रहेकोमा अहिले संक्रमितको संख्या पाँच हजार ४५ पुगेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जानकारी दिएको हो । प्रदेशमा हालसम्म संक्रमणबाट १९ जनाको ज्यान गइसकेको छ ।

साउन ७ गतेयता संक्रमण झन् बढेपछि प्रदेश नं २ मा एकपछि अर्को जिल्ला र नगरमा खुला आवागमन रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्दैछन् ।

प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा सोमवार मध्यरातदेखि नै सात दिनको निषेधाज्ञा लागू छ । त्यसैगरी वीरगञ्ज महानगरमा मात्र रहेको निषेधाज्ञालाई पर्सा जिल्ला प्रशासन कार्यालयले मंगलवारदेखि जिल्लाभरमै लागू गरेको छ । 

सप्तरी जिल्लाको राजविराज र महोत्तरीको जलेश्वर नगरमा तीन दिन अघिदेखि नै निषेधाज्ञा जारी छ भने सर्लाही जिल्ला प्रशासनले बुधवारदेखि लागू हुने गरी सात दिनको निषेधाज्ञा आदेश जारी गरेको छ ।

लकडाउन हटेसँगै सबैतिर भीडभाड बढेको, भौतिक दूरीको ख्याल नगरिएको, मास्क नलगाई हिँडडुल गर्ने क्रम बढेको र भारतसँगको खुलासीमाबाट दोहोरो आवतजावत निकै बढेपछि संक्रमणको थप जोखिम बढेको विज्ञ बताउँछन् । प्रदेशमा लकडाउन हटेयता महोत्तरी, पर्सा, सप्तरी र धनुषा बढी संक्रमण जोखिममा देखिएका छन् ।

यसैबीच प्रदेश नं २ सरकारले कोरोना संक्रमण बढ्न नदिन आवश्यकतानुसार प्रभावित जिल्ला र त्यसभित्रका खास क्षेत्रमा लकडाउन लगाउने, भारतसँगको सीमाक्षेत्रमा आवागमन कडाइ गर्ने, पीसीआर जाँच बढाउने र उपचार प्रबन्ध व्यवस्थित गर्न स्वास्थ्य उपकरण बढाउने रणनीति तय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन् । 

यस क्रममा प्रादेशिक अस्पतालमा पीसीआर मेशिन थप गर्ने, प्रदेशका अस्पतालमा थप ५० भेन्टिलेटर बढाउने र ५०० शय्याको आइसोलेसन अस्पताल थप्ने निर्णय गरिएको मन्त्री यादवको भनाइ छ । अब पीसीआर जाँच बढाउँदै दैनिक एक हजार स्वाब परीक्षण गरिने गरी प्रादेशिक अस्पतालको क्षमता पुर्‍याइने मन्त्री यादवले बताएका छन् ।

प्रदेशमा सबैभन्दा बढी रौतहटमा हालसम्म एक हजार २५९ जनामा संक्रमण पुष्टि भएको छ । यद्यपि लकडाउन हटेयता त्यहाँ संक्रमण दर घटेको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए । रौतहटमा लकडाउन हटेयता पाँच जनामात्र संक्रमित बढेका छन् । 

पछिल्लोपटक लकडाउन हटेको साउन ७ देखि २० गतेबीचको १४ दिनमा पर्सा जिल्लाको संक्रमण निकै बढेको छ । त्यहाँ यस अवधिमै ३९८ नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी यसै अवधिमा सप्तरीमा १३६, धनुषामा १२७ र महोत्तरीमा ८७ नयाँ संक्रमित थपिएको मन्त्रालयको अभिलेखले देखाएको छ । 

तथ्यांकअनुसार अहिलेसम्म महोत्तरीमा ८३८, धनुषामा ७४१, सर्लाहीमा ७१२, पर्सामा ५७५, सप्तरीमा ५२२, सिरहामा २१५ र बारामा १७८ जनामा संक्रमण पुष्टि भएको छ । लकडाउन हटेयताको अवधिमा कम संक्रमण देखिएका जिल्लामा रौतहटका अतिरिक्त सर्लाही, सिरहा र बारा छन् । यस अवधिमा सर्लाहीमा पाँच, सिरहामा आठ र बारामा १५ मा संक्रमण पुष्टि भएको छ ।

प्रदेशभित्र हालसम्म ६२ हजार २८८ जनाको स्वाब परीक्षण गरिएको छ ।  यसमा ५४ हजार ७०५ को जाँच नतिजा नेगेटिभ छ । प्रयोगशालाबाट नतिजा आउन बाँकी दुई हजार ५३८ छन् ।

प्रदेशमा उपचारपछि निको भएर घर फर्कनेको संख्या तीन हजार २११ पुुगेको छ । अहिले दुई हजार २३७ आइसोलेसन शय्या छन् । यिनमा ६८० जनाको उपचार हुँदैछ । तीमध्ये ३६१ गम्भीर प्रकृतिका रहेका जानकारी दिइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्