ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

पर्वतीय पर्यटनमा आवद्ध डेढ लाखभन्दा बढी श्रमशक्ति बेरोजगार

तत्कालै ४ हजार अल्पकालीन रोजगारी सिर्जना गर्ने मन्त्रालयको योजना    

२०७७ सावन, २३  
समाचार
Image Not Found
author avatar टीपी भुसाल

साउन २३, काठमाडौं । कोरोना भाइरसका कारण पर्वतीय पर्यटन (ट्रेकिङ र पर्वतारोहण) क्षेत्रमा आवद्ध डेढ लाखभन्दा बढी श्रमशक्ति बेरोजगार बनेका छन् । 

यस्तै सिजनको साढे चार महीना यो क्षेत्र पूर्ण रुपमा ठप्प हुँदा यस क्षेत्रमा आवद्ध नेपालको पर्वतीय पर्यटन क्षेत्रले करीब रू. १० अर्बभन्दा बढिको नोक्सानी ब्यहोर्नु परेको ट्रेकिङ तथा पर्वतारोहणसँग सम्बन्धित संस्थाहरुले जानकारी दिएका छन् । 

नेपाल माउण्टेनियरिङ एशोसिएशन (एनएमए) का अनुसार पर्वतारोहण क्षेत्रमा मात्र प्रत्यक्ष र अप्रत्यक्ष गरी १ लाख २५ हजारभन्दा बढी जनशक्ति आवद्ध छन् । यस्तै ट्रेकिङ एजेन्सिज एशोसिएशन नेपाल (टान)का अनुसार ट्रेकिङ क्षेत्रमा २५ हजार जनाभन्दा बढी जनशक्ति आवद्ध छन् । 

नेपाल पर्यटन बोर्डका तथ्यांक अनुसार भने नेपालको पर्वतारोहण तथा पदयात्रामा करीब ९० हजार मजदूर कार्यरत रहेका छन् । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले लकडाउन तथा सो अवधिपछि तत्कालै रोजगारी सृजना गर्न सकिने क्षेत्रहरू पहिचान गरी ३० दिनको लागि करीब ४ हजार रोजगारी सृजना गर्ने योजना बनाएको बताए । तर लकडाउनको अवस्था सहज नबन्दा त्यो कार्यान्वयन हुने अवस्था देखिएको छैन । 

कोरोनाको कारण यो जनशक्ति पूर्णरुपमा बेरोजगार बनेको एनएमएका महासचिव कुल बहादुर गुरुङले जानकारी दिए । ‘राजस्वका हिसाबले करोडौंको राजस्व गुमेको छ । एउटा पर्यटक आउँदा उसले तिर्ने राजस्वसँगै उसले गर्ने अन्य खर्च जोड्दा ठूलो रकम खर्चेको हुन्छ । अहिले यो क्षेत्र शून्य आय र शून्य रोजगारीको अवस्थामा छ’ उनले भने । 

सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना पर्यटकले नेपाल भ्रमण गरेकोमा करीब २ लाख पर्यटक ट्रेकिङ तथा पर्वतारोहणको लागि नेपाल आएको पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यो देश भित्रिने कुल पर्यटकमध्ये १६ प्रतिशत हो । 

पर्वतीय पर्यटनका लागि आउने संख्या प्रतिशतमा थोरै देखिएता पनि पर्यटकको बसाइ अवधि र उनीहरुले गर्ने प्रतिव्यक्ति औसत खर्चका आधारमा देशको पर्यटन क्षेत्रमा ट्रेकिङ तथा पर्वतारोहणका लागि आउने पर्यटकको योगदान बढि रहेको टानका अध्यक्ष खुम सुवेदीले बताए । 

‘नेपालका अधिकांश ट्रेकिङमार्गका लागि पर्यटक कम्तीमा तीन हप्ता नेपालमा बस्ने गर्दछन् । यस्तै पर्वतारोहणमा जाने पर्यटकले ट्रेकिङमाभन्दा कैयौं गुणा बढी समय र रकम खर्च गरेको हुन्छ । यसर्थ, नेपाल आउने पर्यटकको औसत खर्च अनुपात र नेपाल बसाई अवधिभन्दा ट्रेकिङ र पर्वतारोहणका लागि आउने पर्यटकहरुको योगदान निकै बढी रहेको हुन्छ । यो सबै कोरोनाको कारण गुमेको छ,’ उनले भने ।

खासगरी राज्यलाई सिधै प्राप्त हुने राजस्व तथा पर्यटकले गर्ने अन्य खर्चको समग्र हिसाब गर्दा रू. १० अर्बभन्दा बढिको नोक्सानी अनुमान गरिएको ती संस्थाहरुको धारणा छ । संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका अनुसार कोरोनाको कारण नेपालको समग्र पर्यटन क्षेत्रले रू.४२ अर्बभन्दा बढिको नोक्सानी ब्यहोर्नु परेको छ । पर्यटन विभागका अनुसार आर्थिक वर्ष ०७६/०७७ मा विभागले पर्वतारोहणबाट रू. ५६ करोड र एनएमएले रू. १२ करोड गरी ६८ करोड राजस्व संकलन गरेका थिए । 

पर्यटन विभागका अनुसार नेपाल बस्ने पर्यटकको औसत बसाई अवधि १३ दिन र प्रतिदिन उनीहरुले गर्ने खर्च ४८ अमेरिकी डलर छ । टानका महासचिव सरिता लामाका अनुसार पर्यटन विभाग, ट्रेकिङ तथा पर्वतारोहण शाखामा दर्ता रहेका झण्डै ३ हजार एजेन्सीमध्ये ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) मा १ हजार ९८० ओटा कम्पनी आबद्ध छन् । 

वार्षिक २ लाख हाराहारी आउने ट्रेकरमध्ये करीब आधा जति र पर्वतारोहणमा आउने करीब ६ हजार पर्यटकले यी एजेन्सीमार्फत सेवा लिई आर्थिक कारोबार एवं लाखौंको रोजगारी सिर्जना गर्ने गरेकामा महामारीेको कारण पूर्ण बेरोजगारीको अवस्था सृजना भएको उनले बताइन् ।  महासचिव लामाका अनुसार सामान्य नै भएपनि पूर्ववत् अवस्थामा फर्किन कम्तीमा पनि २ देखि ३ वर्ष लाग्ने छ । 

सरकारले असंगठित क्षेत्रका कामदार, मजदूरहरुलाई राहत दिने घोषणा गरेपनि त्यो राहत कसरी पाउने भन्ने अन्यौल रहेकोले रोजगार गुमाउनेहरुले राहत पाउन नसकेको टुरिष्ट गाइड एशोसिएशन (टुर्गन) का अध्यक्ष केदार तामाङले बताए । बेरोजगार श्रमिकहरुको हकमा हिमाल तथा ट्रेकिङ ट्रेल सरसफाई, साइनेज निर्माण जस्तो काममा लगाउने भनेपनि त्यसको खास कार्ययोजना नबन्दा रोजगार गुमाएकाहरू थप समस्यामा परेको उनले बताए । 

प्रतिक्रिया [1]
User Image

Keshav NS Adhikari

[Aug 7, 2020 05:17am]

वाध्यतावस भए पनि अति सुवर्ण अवसर आएको छ । यी डेड लाख जनशक्तिले आफ्नो श्रम पर्वतीय पर्यटनबाट अब पर्वतीय कृषि, पशुपालन र वातावरण मैत्री पूर्वाधार विकासमा लगाएर सम्पन्न जीविका तथा सम्मानयुक्त समाजसेवा गर्ने यो भन्दा उत्तम बेला फेरि पाउने छैनन् । परिश्रम त जहाँ पनि गर्नै पर्छ । पर्यटनमा चिन्नु न जान्नुको हेपाहा विदेशीको अघि डिच्च दाँत देखाउँदै 'डालार प्लीच्' भन्दै हीनताको पोखरीमा आफ्नो र देशको स्वाभिमान सखाप गर्नुको सट्टा, युवा उर्जा जब आफ्नै जन्मथलोको भूमिमा पसिना बनेर झर्छ तब माटोले काया फेरेर सुन र सम्मानको उपहार छर्छ । विडम्वना त यो छ कि यस्ता टिप्पणी र सुझावहरु अन्धो आँखा र बोधो कानमा मात्र ठोक्किन पुग्दा रहेछन् ।


प्रतिक्रिया दिनुहोस्