ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रित्तियो मल भण्डार : कोरोनाको जोखिम मोलेर भारतीय सिमानाबाट मल ल्याउँदै किसान

२०७७ सावन, २५  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । सरकारले समयमै रासायनिक मल आयात गर्न नसक्दा देशभित्र मल आपूर्ति तथा विक्री वितरणको जिम्मा लिएका साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडका गोदामहरू रित्तिँदै जाँदा भारतसँग सिमाना जोडिएका तराईका जिल्लाका किसानहरू कोरोनाको जोखिमसँग लड्दै भारतबाट मल ल्याउन बाध्य भएका छन् ।

धान रोपाइँ सकिसकेपछि साउन–भदौमा ४० हजार मेट्रिक टन युरिया मल आवश्यक पर्ने भए तापनि सरकारसँग यति बेला युरिया मलको मौज्दात सकिएको छ भने डीएपी र पोटासको मौज्दात पनि करीब १३ हजार मेट्रिकटन मात्रै छ ।

मल विक्रीवितरणको जिम्मा पाएका साल्ट ट्रेडिङ र कृषि सामग्रीसँग युरिया मल नहुँदा देशभरका किसानहरूले युरिया मलको अभाव झेल्नुपरेको छ । कोरोना संक्रमण बढ्दै जाँदा पनि अहिले भारतसँग सिमाना जोडिएका अधिकांश जिल्लाका कृषक ज्यानै जोखिममा राखी भारतबाट मल ल्याउन बाध्य भएका हुन् ।

सरकारी कम्पनीबाट मल पाउन छोडेपछि प्रदेश १ का झापा, मोरङ, सुनसरीलगायत भारतसँग जोडिएका जिल्लाका अधिकांश कृषक कोरोनाको जोखिम मोल्दै भारतका सीमावर्ती बजारबाट ल्याउन बाध्य भएको प्रदेश १ का खाद्य सुरक्षा महाशाखा प्रमुख राजेन्द्र उप्रेतीले जानकारी दिए । ‘अन्य विकल्प नै नभएपछि किसानहरू यसरी जोखिम मोलेर मल ल्याउन बाध्य भएका हुन्,’ उनले भने ।

त्यस्तै अवस्था छ, पश्चिम तराईका बाँके, बर्दिया, कैलालीलगायत जिल्लाका कृषकको पनि । त्यहाँका कृषक पनि युरिया मलको चरम अभावका कारण अहिले भारतबाट अवैध रूपमा मल ल्याउन बाध्य छन् ।

बर्दियाको राजापुर धान सुपर जोनका संयोजक अग्नि अर्यालका अनुसार युरिया मल ल्याउनकै लागि किसानहरू कोरोनाको जोखिम मोल्न बाध्य छन् । कृषकहरू यसरी भारतीय सिमानबाट जोखिम मोलेर मल ल्याइरहँदा साल्ट ट्रेडिङले बन्दाबन्दीअघि नै दुबईस्थित मल्टी कमोडिटिज कम्पनीमार्फत ओमानबाट किनेको २१ हजार ५ सय मेट्रिक टन युरिया मल नेपाल आइपुग्न अभैm करीब १० दिन लाग्ने बताएको छ । बन्दाबन्दीका कारण विगत ४ महीनादेखि गुजरातको कान्डलामा रोकिएको सो युरिया मल शुक्रवार कोलकाता बन्दरगाहमा आइपुगेको र अबको करीब १० दिनभित्र नेपाल ल्याउने गरी काम भइरहेको साल्ट ट्रेडिङ कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले अभियानलाई बताए । ‘शुक्रवार कोलकातामा मल आइपुगेको छ । शनिवारदेखि नै ब्यागिङको काम शुरू भइसकेकाले जतिसक्दो चाँडो नेपाल ल्याउने तयारीमा छौं,’ उनले भने । किसानलाई आवश्यकता पर्ने जति परिमाणको मल किन्न सरकारले बजेट नछुट्ट्याउँदा किसानहरूले जहिल्यै मलको अभाव भोग्नु परेको थियो । यसपालि झन् कोरोनाका कारण थप समस्या परेको उनको भनाइ छ ।

करीब ५ लाख मेट्रिक टनभन्दा बढी मलको माग हुने गरे तापनि नेपाल सरकारले हालसम्म ३ लाख मेट्रिक टनका लागि मात्र बजेट छुट्ट्याउने गरेको छ । मागभन्दा कम परिमाणमा मल आयात हुँदा प्रत्येक वर्ष कृषकले मलको अभाव भोग्न बाध्य हुनुपरेको छ । राजभण्डारीका अनुसार ओमानबाट किनेको २१ हजार ५ सय मेट्रिक टन युरिया मल पनि थप बजेट निकासा गरेर किनिएको हो । कोरोना महामारीका कारण अन्तरराष्ट्रिय बजारमा मलको उत्पादनमा नै प्रभाव परेका कारण कृषि सामग्री कम्पनी लिमिटेडले मल ल्याउन शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनिमार्फत चीन र रसियाबाट ल्याउन लागेको थप ५० हजार मेट्रिक टन युरिया मलसमेत नेपाल आउन ढिलाइ भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्