ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कोरोना संक्रमित बढेपछि घट्यो व्यापार व्यवसाय

न्यूरोड, खिचापोखरी, रञ्जना गल्लीलगायत क्षेत्रमा ५० प्रतिशतभन्दा धेरै पसल बन्द छन्

२०७७ सावन, ३०  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेपछि साना तथा मझौला व्यवसायीहरू थप मर्कामा परेका छन् । बन्दाबन्दी खुलेसँगै व्यापार बढ्ने आशामा रहेका व्यवसायीहरू उपत्यकामा बढ्दो कोरोना संक्रमणका कारण पुनः आफ्नो व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

दिनदिनै संक्रमितको संख्या थपिँदै गएपछि उपत्यकाका कतिपय व्यापारिक स्थलसमेत शिल गरिएका छन् भने उपभोक्ता बजारमा आउने क्रममा पनि कमी देखिएको छ ।

संक्रमितको संख्या बढ्दै जाँदा काठमाडौंका मुख्य व्यापारिक केन्द्र न्यूरोड, असन, इन्द्रचोक, महाबौद्ध सुन्धारा, भोटाहिटी, कोटेश्वर, कलंकीलगायत अधिकांश स्थानका पसल फेरि बन्द भएका छन् । खुला भएका पसलहरूमा पनि ग्राहक आउन छाडेपछि कारोबार ज्यादै कम भएको व्यवसायीहरू बताउँछन् ।

अहिले न्यूरोड, खिचापोखरी, रञ्जना गल्लीलगायत क्षेत्रका ५० प्रतिशतभन्दा धेरै पसल बन्द छन् । संक्रमितको संख्या थपिँदै गएकाले बजारमा ग्राहकको उपस्थितिसमेत घट्दै गएकाले काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरूको व्यापार करीब १० प्रतिशतमा झरेको बताइएको छ ।

बन्दाबन्दी शुरू भएदेखि नै व्यापार व्यवसाय ठप्प हुँदा समस्यामा परेका व्यवसायीहरू पछिल्लो अवस्थाले थप मारमा परेको नेपाल राष्ट्रिय व्यवसायी संघका अध्यक्ष नरेश कटुवालले बताए । ‘कोरोना संक्रमितको संख्या बढेसँगै व्यापारी र व्यवसाय दुवै संकटमा छन्,’ उनले भने । तिनै तहका सरकार अलमलमा रहेकाले समस्या थप जटिल बन्दै गएको उनको भनाइ छ ।

त्यसैले सरकार र निजीक्षेत्रको समन्वय समिति गठन गरी व्यवसायीहरूलाई बचाउने बारेमा ध्यान दिन सरकारसँग उनले आग्रह गरे ।

संक्रमण बढ्दै गएका कारण अत्यावश्यक सामान किन्ने ग्राहकहरूको मात्र उपस्थिति रहने भएकाले व्यापार व्यवसाय नै नाम मात्रको भएको राष्ट्रिय व्यापार संघ न्यूरोडका महासचिव वैकुण्ठ दाहालले बताए ।

उनका अनुसार गर्मी मौसमका कपडा र खाद्यान्नबाहेक शृंगार, विद्युतीय, हस्तकला लगायतका सामग्रीहरूको विक्री शून्य जस्तै रहेको छ । ‘सामान्य अवस्थामा दैनिक लाखौंको कारोबार गर्ने व्यापारीहरू अहिले मुश्किलले दिनमा १÷२ हजारको व्यापार गर्छन्,’ उनले भने ।

संक्रमणकै त्रासका कारण धेरै ग्राहकको आवत जावत हुने काठमाडाैं मल, पिपुल्स प्लाजा र पार्क प्लाजा बन्द गरिएका छन् । अन्य मलहरूमा समेत ग्राहकको संख्या घटेसँगै व्यापार पनि घट्दै गएको छ ।

मासिक लाखौं भाडा तिर्ने व्यापारीहरूलाई भाडा तिर्नै समस्या परेको छ । त्यसैले केही त पसल छाड्ने र विक्री गर्ने अवस्थामा पुगेको नेपाल उद्योग वाणिज्य संघ काठमाडौंकी कोषाध्यक्ष सुषमा महराले बताइन् । उनका अनुसार हाल मलहरूमा व्यापार ५ प्रतिशतभन्दा पनि कम रहेको छ ।

‘शुरूमा ३ महीनाभन्दा बढी समय घरमै थुनिएर व्यवसाय ठप्प भयो । बन्दाबन्दी खुलेपछि व्यापारले केही गति लिन्छ कि भन्ने आस थियो । तर, उपत्यकामा संक्रमित संख्या बढ्न थालेपछि त्यो आश पनि निराशामा परिणत भएको छ,’ उनले भनिन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्