ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

घट्यो औषधिको माग

बजार खस्किँदा उत्पादन र आयात प्रभावित

२०७७ भदौ, २  
समाचार
Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं ।  नेपालमा कोरोना संक्रमण बढ्दै जाँदा समग्र औषधिको माग भने घटेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न लगाइएको चारमहीने लामो बन्दाबन्दी र त्रासले अस्पतालका बहिरंग र निजी क्लिनिकको सेवा अवरुद्ध हुँदा माग घटेको व्यवसायीहरू बताउँछन् ।

औषधि मागमा ७० प्रतिशतसम्मले कमी आएको दाबी औषधि व्यवसायीको छ । त्यसमा पनि चिकित्सकको प्रेस्किप्सनविनै किनिने ओटीसी औषधिको विक्री ह्वात्तै घटेको व्यवसायी बताउँछन् ।

औषधि व्यवसायीहरूका अनुसार यति बेला घाउमा प्रयोग हुने, छाला रोग, दुखाइ कम गर्ने औषधि तथा एन्टिबायोटिकको माग पहिलेको तुलनामा घटेको छ । औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपक दाहालका अनुसार एन्टिबायोटिकको विक्री ४० प्रतिशतसम्म घटेको छ ।

अहिले दीर्घकालीन रोगबाहेक अन्य औषधिको माग घटेको नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष सीताराम घिमिरे बताउँछन् । ‘दीर्घकालीन रोगका औषधिको माग भने यथावत् छ । दम, क्यान्सर, क्षयरोग, मधुमेह, उच्चरक्तचाप, थाइराइडलगायत दीर्घकालीन रोगमा प्रयोग हुने औषधिको माग भने घटेको छैन,’ अध्यक्ष घिमिरेले भने । कोरोना संक्रमण र बन्दाबन्दीको असरले मनोरोगसम्बन्धी औषधिको माग भने बढेको उनले बताए ।

औषधि उत्पादक संघका पूर्वअध्यक्ष एवम् एशियन फर्मास्युटिकल्स प्रालिका कार्यकारी निर्देशक शंकर घिमिरे पनि मनोरोगका औषधिको माग बढेको बताउँछन् । घिमिरेका अनुसार अन्य औषधिको माग कम रहे पनि डिप्रेशनसम्बन्धी औषधिको माग यति बेला दोब्बर छ । बन्दाबन्दीका कारण आर्थिक र मनोवैज्ञानिक समस्या बढ्दा यस्ता औषधिको माग बढेको उनको बुझाइ छ ।

अस्पतालहरूका बहिरंग सेवा र क्लिनिक राम्ररी नचल्दा औषधिको माग घटेको औषधि व्यवसायी संघका पूर्वअध्यक्ष पारस बराल बताउँछन् । नेपालमा कोरोना संक्रमण शुरू भएयता अस्पताल जाने बिरामीको संख्या ७० प्रतिशतसम्मले घटेको सरोकारवालाको भनाइ छ ।

कोरोना संक्रमण बढ्दै जाँदा शुरूमा यसको उपचारमा प्रयोग हुने हाइड्रोक्लोरोक्विन लगायत औषधिको माग बढेकोमा पछिल्लो समय यसको विक्री स्थिर रहेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षत्रीले बताए ।

बजारमा माग नै नभएपछि उत्पादन घटाइएको औषधि उत्पादकहरू बताउँछन् । क्षत्रीले ‘हामीले पहिले दैनिक १८० ब्याचसम्म उत्पादन गरेकोमा अहिले ४० देखि ५० ब्याचमा सीमित गरेका छौं,’ क्षत्रीले बताए ।

कोरोना संक्रमण बढ्दै गएपछि अस्पतालले अन्य बिरामीसमेत हेर्न नखोज्ने र बिरामी पनि सितिमिति अस्पताल जान नचाहँदा औषधि माग घटेको उत्पादकको भनाइ छ । औषधि माग घटेपछि स्वदेशी उद्योगको उत्पादन ३० देखि ४० प्रतिशतमा झरेको क्वेस्ट फर्मास्युटिकल्सका सञ्चालक पृथ्वीराज राजभण्डारीले बताए ।

स्वदेशी बजारमा खपत घटेपछि औषधिको आयात पनि खस्किएको नेपाल औषधि व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष प्रकाश खण्डेलवाल बताउँछन् । ‘अहिले बजारमा माग नै छैन ।

औषधि जति विक्रेताको गोदाममा थन्किएको छ । यसको प्रभाव आयातमा पनि देखिन थालेको छ,’ खण्डेलवालले भने ।

अहिले ३/४ महीनाअघिको अर्डरको औषधि आयात भइरहेकाले आयातमा यसको पूर्ण असर देखिन अझै ३ महीनाजति लाग्ने दाबी उनले गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्