ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अब आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुको विकल्प छैन

२०७७ भदौ, ४  
अन्तरवार्ता
Image Not Found

कोरोना महामारीका कारण आयस्रोत प्रभावित हुँदा नेपाल पर्यटन बोर्डको चालू आर्थिक वर्षको बजेटको आकार झन्डै ५० प्रतिशतले खुम्चिएको छ । महामारीकै कारण नेपाल भ्रमण वर्ष २०२० प्रभावित भएको छ । पर्यटकीय गतिविधि ठप्प अवस्थामा रहेका बेला नेपाल पर्यटन बोर्डको बजेटको प्राथमिकता र अबका योजनाबारे बोर्ड स्रोत व्यवस्थापन, कार्यक्रम तथा बजेट तर्जुमा उपसमिति संयोजक अवधेश दाससँग आर्थिक अभियानका टीपी भुसालले गरेको कुराकानी :

कोरोना महामारीबीच नेपाल पर्यटन बोर्डले केही दिनअघि मात्र आर्थिक वर्ष २०७७/७८ का लागि बजेट पारित गरेको छ । बजेटका प्राथमिकतामा के के छन् ?
मुलुकको पर्यटन क्षेत्र हेर्ने मुख्य जिम्मेवारी पाएको पर्यटन बोर्डले आर्थिक वर्ष २०७७/७८ का लागि करीब ८२ करोड रुपैयाँको बजेट पारित गरेको छ । उक्त बजेटले आन्तरिक पर्यटन प्रवर्द्धन र अनुसन्धानलाई मुख्य प्राथमिकता दिएको छ । हामीसँग अहिले पनि पर्यटनको एकीकृत तथ्यांक अभाव छ । यसका लागि पनि अनुसन्धान आवश्यक थियो । यो समय हामी अरू काम गर्ने अवस्थामा पनि छैनौं । यसले भोलिका दिनमा हामीले अगाडि सार्ने योजनालाई सफल बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छौं । यस्तै, आन्तरिक पयर्टन प्रवर्द्धन र डिजिटल प्रचारप्रसारलाई बोर्डले बजेटको प्राथमिकतामा राखेको छ । कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भई स्रोत अभाव भयो । त्यसैले यो वर्ष बोर्डको बजेट सानो आकारमा आएको हो । तर, अघिल्ला वर्षहरू भन्दा यो वर्ष बोर्डको बजेट हामीले चाँडै ल्याएका छौं । साथै बोर्डका कार्यालयहरू ७ ओटै  प्रदेशमा राख्ने योजना पनि अगाडि सारेका छौं ।

अहिलेको बजेटका स्रोत के के हुन् ?
पर्यटन बोर्डले कोरोनापछि २०७७/७८ मा २ लाख पर्यटक आउने अपेक्षासहित त्यसबाट करीब रू. २४ करोड आम्दानी हुने अपेक्षा गरेको छ । त्यस्तै, बोर्ड र ट्रेकिङ एजेन्सिज एशोसिएशन नेपाल (टान)को संयुक्त खातामा रहेको टिम्सबापतको १५ करोड रुपैयाँ, नेपाल भ्रमण वर्षका लागि मन्त्रालयबाट प्राप्त हुने ६ करोड रुपैयाँ, एयर एशियाबाट प्राप्त हुनुपर्ने ५ करोड, यूएनडीपीबाट प्राप्त हुने करीब डेढ करोड रुपैयाँ र अन्य सञ्चित कोषको रकम समेत समावेश गरी आव २०७७/७८ का लागि करीब ८२ करोड रुपैयाँको बजेट पारित भएको छ । केही स्रोत अनिश्चित भए पनि कोरोनाको प्रकोप विस्तारै कम हुँदै गएपछि निश्चित होला ।

पर्यटन बोर्डभित्र अनुसन्धानका लागि छुट्टै शाखा हुँदाहुँदै अहिले तपाईंले उठाएको विषय प्रभावकारी होला त ?  
पर्यटन प्रवर्द्धनका लागि विगतमा अनुसन्धान भए पनि अलि कम भयो । नेपालको पर्यटन पहिले राजा महाराजाको हातमा थियो । त्यसैले चाहेर पनि यसको विकास भएको थिएन । अब पर्यटनका विषयमा बुझाइ विस्तारै स्पष्ट हुँदै गएको छ । त्यसका लागि देशका सबै क्षेत्रमा पर्यटनको विकास आवश्यक छ । अर्को कुरा, बोर्डमा जनशक्ति पनि कम थियो । नेपालको पर्यटन प्रवर्द्धनका लागि भएकै प्रडक्टहरू विदेशमा प्रवर्द्धन गर्ने काम भइरहेको थियो । त्यो काममा पनि जनशक्ति लगाउनुपर्ने अवस्था थियो । विभिन्न मेला महोत्सव, अन्तरराष्ट्रिय फेस्टिभलमा भाग लिने अवस्था थियो । अब तत्काल त्यता ध्यान दिनु नपर्ने भएकाले अनुसन्धानलाई जोड दिन खोजिएको हो । हाम्रा प्रडक्ट काठमाडौं, पोखरा लुम्बिनी, चितवन, केही राष्ट्रिय निकुञ्ज, हिमाल आरोहणभन्दा बाहिर जान नसकेकै हुन् । पर्यटकको रुचिअनुसारको गन्तव्यको विकास, विस्तार र प्रवर्द्धन आवश्यक छ । हामीसँग सम्भावना अथाह छ तर त्यसलाई व्यवहारमा ल्याउन गतिलो अनुसन्धान चाहिन्छ ।

अनुसन्धानबाट कस्ता खाले प्रडक्ट विकास होलान् ? प्राथमिकता केलाई दिने योजना छ ?  
हामीले विगतमा तेस्रो मुलुकका विदेशी पर्यटकलाई मात्र ‘फोकस’ ग¥यौं । तर छिमेकबाट नेपाल आउन चाहने ठूलो संख्याका पर्यटक छन् । हामीले सीमा पर्यटन (बोर्डर टुरिजम)लाई जोड दिन सक्यौं भने ठूलो संख्याका पर्यटक छिमेकबाटै भित्र्याउन सक्छौं । हामीकहाँ आवश्यकता अनुसारको मौसम छ । चिसो खोज्नेलाई हिमाली भेग, शीतलता र ट्रेकिङ गर्न खोज्नेलाई पहाड । गर्मी खोज्नेलाई तराई मधेश छ । यो विविधतालाई नेपालले सदुपयोग गर्न सके चाहेका पर्यटक ल्याउन सकिन्छ । त्यसका लागि बोर्डले सातै प्रदेशमा हिलस्टेशन टुरिजम, धार्मिक पर्यटन र छोटो दुरीका विदेशस्थित गन्तव्य (वानस्टप टुरिजम) लाई महत्व दिएर काम गर्ने सोच ल्याएको छ । यी हिल स्टेशन पर्यटनले भारतमा प्रचण्ड गर्मी हुँदा केही दिन शितल खोज्न नेपाल आउन चाहने त्यहाँका पर्यटकलाई आकर्षित गर्न सक्छ । यस्तै ७७ ओटै जिल्लामा त्यहाँका मुख्य पर्यटकीय गतिविधि वा प्रडक्ट के हुन्, त्यसलाई ब्रान्ड बनाएर प्रवर्द्धन गर्ने योजना छ । हामीले बुद्ध सर्किट र रामायण सर्किटको कुरा गरिरहेकै छौं । रामायण सर्किटमा अहिलेसम्म नेपाल र भारतका स्थानको मात्र कुरा गरेका छौं । तर यो पटक श्रीलंकालाई पनि जोड्नुपर्छ भन्ने सोच आएको छ । यो पटक हामीले देवी सर्किटको पनि कुरा गरेका छौं । पूर्वत्तर भारत र पश्चिम बंगालबाट ठूलो संख्यामा भारतीयहरु नेपालका  शक्तिपीठहरूमा आउने गरेका छन् ।

ठूलो संख्याका भारतीयहरू नेपालका धेरै शक्तिपीठको दर्शनमा आउने गरेका छन् । देवी सर्किटको अवधारणाले त्यो स्तरका पर्यटकलाई नेपालमा आकर्षण गर्न सकिन्छ भन्ने लाग्छ ।

स्वास्थ्य र सुरक्षा सबभन्दा ठूलो चुनौती हो । कोरोनाकै महामारीबीचमा आन्तरिक पर्यटन प्रवर्द्धन कति व्यावहारिक होला ?
कोरोना महामारीको अवस्था भोलि के हुने हुन्छ भन्ने त निश्चित छैन । विदेशी पर्यटक आउने सम्भावना कम रहेकाले आन्तरिक पर्यटन प्रवर्द्धन गर्नैपर्छ । यसका लागि स्वास्थ्य र सुरक्षाको मापदण्ड (प्रोटोकल) बनेको छ । त्यसको पालना गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुको विकल्प छैन । अवस्था हेरेर निकट भविष्यमै आन्तरिक तथा अन्तरराष्ट्रिय उडानसमेत खुला गर्ने सरकारको निर्णयले पर्यटकीय गतिविधि बढ्ने आशामा छौं ।

बोर्डले पछिल्लो समय डिजिटल प्रमोशनको कुरा पनि गरिरहेको छ । डिजिटल प्रमोशनका लागि के योजना छन् ?
कोरोना संक्रमणका कारण डिजिटल प्रमोशनको विषयले प्राथमिकता पाएको छ । देशभित्र र विदेशमा बीबीसी, सीएनएनजस्ता अन्तरराष्ट्रिय मिडियामा प्रचारप्रसारका लागि भने बजेट व्यवस्था गरिएको छ । कोरोनाका कारण पहिलेजस्तो प्रवर्द्धनात्मक कार्यक्रम गर्न सम्भव नहुने भएकाले डिजिटल माध्यमलाई उपयोग गर्ने बोर्डको रणनीति छ । बजेटअनुसारका कार्यक्रम बन्दै जानेछन् । बोर्डले त्यसको कार्यान्वयनमा जोड दिनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्