ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

समन्वयको अभावमा दैनिक उपभोग्य वस्तुको व्यापार प्रभावित

२०७७ भदौ, ७  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । बिहीवारदेखि सरकारले गरेको निषेधाज्ञामा सरकारी संयन्त्रहरूबीच समन्वय हुन नसक्दा उपत्यकाका अधिकांश दैनिक उपभोग्य वस्तुको व्यापार प्रभावित बनेको छ ।

जिल्ला प्रशासन कार्यालयले खाद्यान्नलगायत उपभोग्य वस्तुको पसल खोल्न दिने भने पनि प्रहरी अवरोधकै कारण उपत्यकाका अधिकांश स्थानमा खाद्यान्न, डेरी र मासु व्यापारीहरू आफ्नो घरदेखि पसलसम्म जान नसक्दा उपभोग्य वस्तुको व्यापार व्यवसाय प्रभावित बनेको छ ।

आफ्नै घरमा पसल भएका व्यापारीहरूलाई यस्तो समस्या नभए पनि घरबाट टाढा पसल भएका खाद्य व्यवसायीहरूलाई चाहिँ प्रहरीले पसलसम्म जान नदिएको उनीहरूको गुनासो छ ।

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र वज्राचार्य न्यूरोड बस्छन् । उनको पसल स्वयम्भूमा छ । उनी बिहीवार बिहान पसल खोल्न स्वयम्भू जान घरबाट निस्कँदा प्रहरीले उनलाई बाटोमै रोक्यो । उनी पसलसम्म जान सकेनन् । उनलाई दिनभरि उनका ग्राहकले चामल, दाल, पानी, नून, चिनी, तेलजस्ता खाद्यान्नका लागि फोन गरिरहे । उनले प्रहरीलाई अनुरोध गर्दा पनि प्रहरीले उनलाई पसलसम्म जान दिएन ।

प्रहरीको अवरोधले गर्दा उनको पसल बिहीवारदेखि बन्द छ । ‘म त एक उदाहरण मात्र हुँ । म मजस्ता कति खाद्य व्यापारी प्रहरी अवरोधका कारण पसल खोल्न वञ्चित छन्,’ उनले आर्थिक अभियानसँग भने ।

जिल्ला प्रशासन कार्यालयले खाद्यान्न, औषधि, पानी, डेरीलगायत सामग्री बोकेका गाडीहरू अवरोध नगर्ने भने पनि प्रहरीले विभिन्न ठाउँमा अवरोध गरेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले खाद्यान्न पसल सञ्चालन गर्न दिने भन्ने सूचना जारी गरे पनि त्यसमा कति बजेदेखि कति बजेसम्म सञ्चालन गर्न दिने भनेर समय नतोकिएका कारण पनि समस्या भइरहेको छ ।

त्यसैले प्रहरीहरू नै अलमलमा देखिन्छन् । काठमाडौंका अधिकांश स्थानमा प्रहरीले बिहान ५ बजेदेखि ७ बजेसम्म मात्र खाद्यान्नका पसल खोल्न दिएको छ ।

उपभोक्ताहरू खाद्य सामग्री किन्नबाट वञ्चित भएको खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए । जिल्ला प्रशासन कार्यालयले नै समयसीमा तोकेर बिहान ७ देखि ९ बजेको समयमा पसल खोल्न दिएमा ग्राहक र व्यापारी दुवैलाई सजिलो हुने उनको विश्वास छ ।

बिहान २ घण्टाको समय निकै छोटो भएकाले त्यस बीचमा आफूहरूले आफ्ना उत्पादन वेच्न समस्या परिरहेको गुनासो डेरी उद्योगीहरूले गरेका छन् । नेपाल डेरी एशोसिएशनका निर्वतमान अध्यक्ष सुमित केडियाका अनुसार दिनमा २ घण्टा मात्र उपभोग्य वस्तुका पसल खोल्न दिएकाले दुग्धजन्य उत्पादन बेच्न समस्या भएको छ । अर्थतन्त्र र स्वास्थ्य दुवै पक्षलाई सँगसँगै चलायमान बनाउनेतर्फ सरकारले उचित कदम चाल्न नसक्दा उपभोक्ता र व्यवसायी मारमा परेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय भने यो कुरा मान्न तयार छैन । जिल्ला प्रशासन कार्यालयले नै समयसीमा तोक्दा सबै स्थानमा एउटै समय पर्न जाने र उक्त समयमा पसलहरूमा भीड बढ्न सक्ने भएकाले वडा कार्यालय तथा पालिकाहरूलाई नै स्थानीय व्यापारी र उपभोक्ताको चाहनाअनुसार समय तोकेर पसल सञ्चालन गर्ने अधिकार दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहलले सरकारको उद्देश्य उपभोक्ता र व्यापारीहरूलाई असहज बनाउने नभएकाले आफ्नो वडा र स्थानीय स्तरमा जसरी सहज हुन्छ त्यसरी नै व्यवसाय सञ्चालन गर्न दिइएको बताए । प्रहरीले दैनिक उपभोग्य वस्तुको व्यवसायमा कुनै हस्तक्षेप नगरेको पनि उनको दाबी छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्