ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

काठमाडौंमै खाली भए व्यावसायिक प्रयोजनका ४० प्रतिशत सटर

२०७७ भदौ, १२  
समाचार
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले लगाएको करीब ४ महीने बन्दाबन्दी र हाल जारी निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा व्यावसायिक प्रयोजनका सटरहरू खाली हुने क्रम बढेको छ । कोरोनाकै कारण व्यापार व्यवसाय चौपट भएपछि राजधानीका ४० प्रतिशत सटर खाली भएका हुन् ।

काठमाडौंका मुख्य व्यापारिक केन्द्र मानिने न्यूरोड, असन, इन्द्रचोक, ठमेल, कोटेश्वर, बानेश्वर, चाबहिलका साथै शहरका भित्री क्षेत्रमा रहेका सटरसमेत खाली भएका छन् । उपत्यकामा कोरोना संक्रमितको बढेका कारण आर्थिक गतिविधि ठप्प हुँदा सटर तथा कोठा खाली हुने क्रम अझै बढ्न सक्ने व्यापारीहरू बताउँछन् ।

काठमाडौंमा व्यावसायिक प्रयोजनका लागि प्रयोग भएका सबभन्दा बढी सटर तथा कोठा खाली हुने क्षेत्रमध्ये ठमेल पहिलो नम्बरमा रहेको छ । ठमेलमा हालसम्म करीब ७ सय व्यवसायीले पेशा व्यवसाय गर्दै आएको सटर, कोठा तथा फ्ल्याट खाली गरेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवीश्वर शर्माले जानकारी दिए ।

यस क्षेत्रमा पर्यटन व्यवसाय र कार्यालय प्रयोजनका लागि प्रयोग गरिएका घरका माथिल्लो तलाका कोठाहरू खाली भएको उनले बताए । हाल ठमेल आसपास क्षेत्रमा पर्यटन सम्बद्ध होटल, रेस्टुराँ, ट्राभल एजेन्सी, मनि एक्सचेन्ज, हस्तकलाका साना तथा ठूला गरी करीब १० हजार पर्यटन व्यवसायी रहेको शर्माको अनुमान छ । ठमेलमा मासिक १५ हजारदेखि ४५ लाखसम्म भाडा तिर्ने व्यापारीहरू रहेको उनको भनाइ छ ।

शर्माका अनुसार बन्दाबन्दी हुनुअघिदेखि नै ठप्प पर्यटन व्यवसायले सबभन्दा बढी मार भोग्नु परेको उनले दाबी गरे । पर्यटन क्षेत्रमा प्रत्यक्ष रूपमा करीब ८ लाख कामदारले रोजगारी गुमाएको सरकारी तथ्यांक छ ।

खिचापोखरी, सुन्धारा, सिभिल मललगायत आसपासमा व्यापारीले पनि सटर छाड्ने क्रम बढेको छ । यसरी सटर खाली गर्नेहरूमा साना तथा मझौला व्यवसायीहरू नै बढी छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको तथ्यांकअनुसार अहिलेसम्म सटर तथा कोठा छाड्नेहरूको संख्या ४० प्रतिशत छ । यीमध्ये करीब ७ प्रतिशत साना तथा मझौला व्यवसायी आफ्नो व्यवसायबाट पलायन हुन सक्ने बताइन्छ ।

सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी प्रयास नगरे केही दिनभित्रै यो संख्या बढेर करीब ५० प्रतिशत पुग्न सक्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए ।
काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरूमा व्यापारीहरूले ठाउँअनुसार एउटा सटरको न्यूनतम २० हजारदेखि २ लाखसम्म भाडा तिर्ने गरेका छन् । लामो समयसम्म व्यापार व्यवसाय ठप्प हुँदा भाडा तिर्न नसक्ने अवस्था आएपछि सटर खाली हुने क्रम बढेको हो ।

हाल काठमाडौंसँगै पोखरा, विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्जलगायत ठूला शहरमा समेत सटर खाली हुने क्रम बढेको कटुवालले दाबी गरे ।

व्यापार ठप्प भएर भाडा तिर्न समस्या हुँदा पहिले २÷३ ओटासम्म सटर भाडामा लिएकाहरूले अहिले एउटा मात्रै लिएका छन् ।

कतिपयले गोदाम खाली गरेर सटरमा सामान थुपारेका छन् । व्यापारीहरू यतिबेला व्यापार गर्ने र नाफा कमाउनेभन्दा पनि खर्च घटाएर कसरी व्यवसाय बचाउने भन्नेमा चिन्तित छन् । अर्थशास्त्री डा. डिल्लीराज खनाल अर्थतन्त्रलाई बचाउँदा सरकारलाई राजस्व प्राप्त हुने बताउँछन् । व्यापारीहरूलाई धराशयी हुन नदिन सरकारले नै विशेष प्याकेज ल्याउनुपर्ने उनको सुझाव छ ।

सानातिना कारणले चाँडै पलायन हुन सक्ने जोखिममा रहेका साना तथा मझौला व्यवसायीहरूको उद्धारमा सरकार गम्भीर बन्नैपर्ने उनले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्