ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

माग घट्दा लागतभन्दा न्यून मूल्यमा समेत चल्ला बिक्न छाड्यो : पोल्ट्री व्यवसायी

२०७७ भदौ, १४  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । सरकारले कोरोना संक्रमणका कारण गरेको बन्दाबन्दी र पछिल्लो समयको निषेधाज्ञाले पोल्ट्री व्यवसायले करोडौं घाटा बेहोर्नु परेको छ ।

कुखुरापालक किसानहरूले नयाँ चल्ला नकिन्दा ५६ रुपैयाँ ४५ पैसा उत्पादन लागत परेका बोइलर कुखुराका चल्ला २० रुपैयाँमा पनि विक्री हुन छाडेका हुन् ।

महामारी नियन्त्रणका लागि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेपछि कुखुरापालक किसानहरूका खोरमै तयारी अवस्थामा रहेका कुखुरा विक्री नहुँदा र नयाँ उत्पादित चल्लाको माग घट्दा यस्तो अवस्था सृजना हो ।

निषेधाज्ञा लागू भएपछि काठमाडौंलगायत देशका अन्य ठूला शहरमा समेत पसल खोल्ने समय निश्चित भएकाले मासुको विक्रीसँगै मूल्य पनि घटेको छ । मासुको विक्री नै कम भएसँगै नयाँ उत्पादित चल्लाको माग घट्दा उत्पादन लागतभन्दा न्यून मूल्यमा समेत चल्ला बिक्न छाडेको पोल्ट्री व्यवसायीहरूको गुनासो छ ।

नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेल अहिले किसानले उत्पादन गरेका तयारी कुखुरा विक्री नभएर नयाँ चल्लाको माग घटेकाले लागतभन्दा कम मूल्यमा बेच्न खोज्दा पनि चल्ला विक्री नभएको बताउँछन् ।

चल्लाको माग घटेर लागतभन्दा कम मूल्यमा समेत विक्री नहुँदा हाल संघले सातामा ३० लाख चल्ला नष्ट गर्दै आएको उनले जानकारी दिए ।

यसअघि सामान्य अवस्थामा देशभर ३ सय २४ ओटा ≈याचरीले सातामा ४२ लाख चल्ला उत्पादन गर्दै आएको संघको तथ्यांक छ । तर, लामो समयको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण हाल करीब ५० भन्दा बढी ≈याचरी बन्द रहेकाले चल्ला उत्पादनसमेत घटेको छ ।

त्यसैगरी कुखुराको उत्पादन बढेका बेला निषेधाज्ञा गरिएसँगै निश्चित समय मात्र मासु पसल खोल्न सकिने प्रावधानका कारण मासु विक्री हुन नसकेर मूल्यमा समेत गिरावट आएको छ ।

नेपाल पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रका अनुसार बन्दाबन्दी खुलेका बेला अधिकांश किसानले कुखुरा चल्लाको उत्पादन बढाएका थिए । तर, उक्त उत्पादन बजारमा आउने समयमै निषेधाज्ञा लागू भएपछि मासुको विक्री घट्दा यस्तो अवस्था आएको उनले बताए ।

सरकारले कुखुरा उत्पादन र विक्री वितरणलाई अत्यावश्यक वस्तुको सूचीमा राखेर ढुवानीमा अवरोध नगरे पनि मासु पसल खोल्ने समय सीमित भएकाले उपभोक्ताले सहज रूपमा किन्न नसकेको मिश्रले बताए ।

सामान्य अवस्थामा देशभर दैनिक ५ लाख किलो कुखुराको मासु खपत हुन्छ । तर, त्यो मागमा अहिले पनि खासै कमी नआएको उनको दाबी छ । ‘अहिले पनि देशभर कुखुराको मासुको माग दैनिक करीब ४ लाख किलो रहे पनि निषेधाज्ञाका कारण अधिकांश मासु पसल निर्बाध खुल्न नसक्दा मासुको मूल्य घटेको हो,’ उनले भने ।

बन्दाबन्दीको समय कुखुराको विक्री घटेका कारण किसानले कुुखुरापालन नगरेपछि असार २० गतेसम्म बजारमा प्रतिकिलो ३ सय ९० रुपैयाँ पुगेको मासुको मूल्य त्यसयता पटकपटक ओरालो लाग्दै २ सय ४० रुपैयाँमा झरेको मासु व्यवसायी संघले जानकारी दिएको छ ।

पोल्ट्री व्यवसायीका अुनसार अहिले चितवन, धादिङ, नवलपरासी, रूपन्देहीलगायत जिल्लामा कुखुराको उत्पादनसमेत बढी हुँदा ती कुखुरा काठमाडौं भित्रिएका छन् । तर, काठमाडौंमा निषेधाज्ञाका कारण मासुको विक्री घटेको छ, जसको प्रभाव मूल्यमा परेको हो ।

मासुको मूल्य निरन्तर ओरालो लागिरहेका बेला खुद्रा व्यापारीहरूले अण्डाको मूल्यमा भने मनपरी गरिरहेका छन् । नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी अहिले प्रतिक्यारेट अण्डाको मूल्य ३ सय ४५ रुपैयाँबाट घटेर ३ सय १० पुगेको छ । ‘ग्राहकसम्म पुग्दा प्रतिअण्डा १२ रुपैयाँ पर्नुपर्ने हो । तर, खुद्रा व्यापारीहरूले ग्राहकसँग १५ रुपैयाँ लिने गरेका छन्,’ उनले भने । सरोकारवाला निकायले बजार अनुगमनमा ध्यान नदिँदा उपभोक्ता ठगिँदै आएको केसी बताउँछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्