ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रविधिमैत्री सार्वजनिक यातायात

२०७७ भदौ, १८  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar काशीराम बजगाईं

२०७२ को भूकम्प र भारतले नेपालमाथि लगाएको नाकाबन्दीकै बेला नेपालमा सवारीसाधनमा लिफ्ट दिने प्रचलन शुरू भयो । त्यसपछि केही युवाहरूले यसलाई व्यावसायिक रूपमै अगाडि बढाउने गरी नवप्रवर्तनको योजना बुने । सार्वजनिक यातायातलाई डिजिटलाइज्ड बनाउने उद्देश्यअनुरूप टुटल, पठाओजस्ता कम्पनी जन्मिए । पूर्वी एशियाली र अफ्रिकी देशहरूमा यस्तो व्यवसाय पहिलेदेखि नै चलिरहेकामा नेपालमा भने यो नौलो थियो ।

डोटीमा जन्मिएका टुटलका सञ्चालक शिक्षित भट्ट पेशाले इन्जिनियर हुन् । युनाइटेड टेलिकममा जागीर गर्दै एमबीए सकेपछि उनले सन् २००९ मा इन्भेस्टमेन्ट बैंकमा मोबाइल पेमेन्टको क्षेत्रमा काम गरे । प्रविधि क्षेत्रमा ६ वर्ष काम गरिसकेपछि २०१५ मा उनले नेपालमा डिजिटल प्रणालीमा नयाँ तरीकाले काम गर्न सकिन्छ भन्ने सोचेर तीनजना इन्जिनियरसँग मिलेर टुटल स्थापना गरे । टुटल स्थापना भइसक्दा पनि टुटलले के सेवा दिने भन्नेमा उनीहरूसमेत स्पष्ट थिएनन् । त्यसकारण मोबाइल ट्याब्लेटमा बच्चालाई शिक्षा दिन सकिन्छ भनी प्रोजेक्ट बनाएर विभिन्न विद्यालयहरूमा उनीहरू प्रस्ताव लिएर पुगे । सँगै साझा बसमा मोबाइल ट्र्याकिङ गर्न सकिने ‘सबैको साझा’ एप बनाएर साझा यातायातसँग सहकार्य गरी टुटल अघि बढिरहेको थियो ।

२०७२ को भूकम्पकै बेला टुटलले मोबाइल ट्याब्लेटमा दिन सकिने शिक्षालाई त्यहीँ छाडेर गन्तव्य बदल्यो र राइड शेयरिङ कम्पनीका रूपमा आफूलाई स्थापित गर्‍यो ।

त्यसको एक वर्षपछि बंगलादेशी कम्पनी पठाओले नेपालमा यस्तै राइड शेयरिङ सेवा विस्तार गर्‍यो । असिममान सिंह बस्नेत र यशु थकाली काठमाडौंको एक निजी कम्पनीमा काम गर्थे । उक्त कम्पनीले भारतमा एपबाट चल्ने चर्चित एप उबरलाई नेपाल भित्र्याउने योजना बनाएको थियो । पछि कुरा नमिलेपछि उनीहरूले कम्पनी छाडे । त्यसपछि यशु अमेरिकातर्फ लागे भने असिममानले केही समय नेपालका विभिन्न ठाउँ भ्रमण गरे । त्यही बेला उनका एक साथीले राइड शेयरिङ कम्पनी सञ्चालन गर्न सुझाए । नाकाबन्दीको समय भएकाले त्यतिबेला फेसबुक पेजमार्फत एकअर्कालाई लिफ्ट दिने चलन थियो । त्यसपछि असिममानले भारतलगायतका विभिन्न राइड शेयरिङ कम्पनीसँग कुरा गरे । त्यही क्रममा बंगलादेशी कम्पनी पठाओलाई पनि उनले प्रस्ताव पठाए । तर नेपाल सानो बजार भएको भन्दै पठाओले नेपालमा सेवा विस्तार गर्न चाहेन ।

उनले उबरका लागि बजार अध्ययन गरेकाले त्यसको ड्राफ्ट बनाएर फेरि कम्पनीमा पठाए । त्यसको ३ महीनापछि पठाओले उनलाई बंगलादेश बोलायो र सहकार्यको सम्झौता भयो । त्यस बेलासम्म यशु नेपाल फर्किसकेका थिए । त्यसपछि उनले अमेरिका बस्ने केही लगानीकर्ताको सहयोगमा यशुसहित शशांकशमशेर थापा, सुरक्षा हमाल, जेनिश रञ्जित र वैभव चन्दसँग मिलेर नेपालमा पठाओ विस्तार गरे ।

सीमित व्यक्तिहरूबीच चिनिएको यो व्यवसाय तब लोकप्रिय बन्यो, जब २०७५ पुसमा यातायात व्यवस्था विभागले रातो नम्बर प्लेटमा यात्रु बोक्नु गैरकानूनी भएको भन्दै टुटल र पठाओका चालकलाई कारबाही गर्‍यो । कारबाहीपछि सरकारको चौतर्फी आलोचना भएसँगै टुटल र पठाओका प्रयोगकर्ता भने ह्वात्तै बढे ।

त्यसयता राइड शेयरिङ कम्पनीको स्थापना क्रम बढ्दै गएको छ । तर बजार प्रतिस्पर्धा गर्न नसक्दा यस्ता कतिपय कम्पनीहरू भने बन्द भएका छन् । हालसम्म २२ ओटाभन्दा बढी राइड शेयरिङ कम्पनीहरू स्थापना भएकामा टुटल र पठाओले बजारमा आफ्नो प्रभुत्व कायम राखे भने सारथि पनि सामान्य प्रतिस्पर्धीको रूपमा देखियो । पठाओ शुरू गर्दा टिमसँगै मिलेर काम शुरू गरेका वैभव चन्दले पनि गतवर्ष मंसिरपछि आफ्नै राइड शेयरिङ कम्पनी ‘सुपर एप’ सञ्चालनमा ल्याए । विस्तारै बजार विस्तारको क्रममा रहेकामा कोरोनाका कारण गरिएको बन्दाबन्दीले कम्पनी माथि उठ्न सकेन ।

यात्रु बोक्ने काम गरिरहेका यी दुई कम्पनीपछि पछिल्लो समय सार्वजनिक यातायात क्षेत्रमा उपायले सेवा दिन थालेको छ । उपायले यात्रु नभई, सामान बोक्ने गर्छ । सुमन रायमाझी र रञ्जिब श्रेष्ठ र अमिगो खड्काले शुरू गरेको यस कम्पनीले अनुसन्धान, प्रविधि, कानून, सञ्चालनलगायत फरक–फरक क्षेत्रमा छुट्टाछुट्टै समूह बनाएर काम गरिरहेको छ । २०२१ सम्ममा विश्वले डिजिटाइजेशनमा ठूलो फड्को मार्ने विभिन्न अध्ययनहरूले बताइरहेकामा उपायले नेपालमा डिजिटल क्षेत्रमा गर्न सकिने कामको अध्ययन थालेको थियो । ई–सेवा, ई–कमर्श, राइड शेयरिङलगायत विभिन्न क्षेत्रको ३ महीना लामो अध्ययनपछि नेपालमा नवीनतम व्यवसाय गर्ने सोचले उपाय सामान डेलिभरी गर्ने र सार्ने कम्पनीका रूपमा डेढ वर्ष अगाडि स्थापना भएको थियो । सामान आउजाउको क्षेत्रमा काम गर्ने निर्णयपछि कम्पनीले यस क्षेत्रमा काम गरिरहेका भारतीय विभिन्न कम्पनीहरूको ३ महीना लामो अध्ययन गरेको थियो । सोही अध्ययनअनुसार हाल यसले दैनिक व्यवसाय र कोठालगायतका सामान सार्ने काममा आफूलाई स्थापित गरेको कम्पनीका प्रमुख अपरेटिङ अफिसर अमिगो खड्का बताउँछन् । यसले ढुवानी क्षेत्रमा काम गरिरहेका चालकलाई व्यवसाय गरेर बसेका र काठमाडौंमा कोठा सार्न चाहने व्यक्तिलाई एकआपसमा जोड्छ ।

हरेक पटक बार्गेनिङ गर्नुपर्ने, सुरक्षा चुनौतीलगायत समस्या भोगिरहेका व्यवसायीहरूबीच यो एप छिट्टै नै लोकप्रिय बनेको छ । अहिले काठमाडौंमा ३५ सयभन्दा बढी व्यवसायी यसका ग्राहक बनिसकेका छन् । हाल कम्पनीसँग ढुवानी क्षेत्रमा काम गरिरहेका ५ सय चालक छन् ।

बन्दाबन्दीको समयमै १० हजार बराबर ट्रिप गरिसकेको उपाय अझ बढी लोकप्रिय बनेको कम्पनीका प्रमुख अपरेटिङ अफिसर खड्का दाबी गर्छन् । अहिले काठमाडौं उपत्यकामा मात्र सञ्चालित उपायलाई कम्पनीले कोरोना महामारी सकिएलगत्तै धनगढी, बुटवल, पोखरा, चितवन, भैरहवा, नेपालगञ्जलगायत देशका प्रमुख १० ठूला शहरमा विस्तार गर्ने योजना बनाएको छ । किसान र बजारको सीधा सम्पर्क नहुँदा बिचौलियाका कारण किसान आफ्नो उत्पादनको मूल्य नपाउँदा मारमा पर्ने गरेका छन् । उपायले आगामी पहिलो योजनाको रूपमा किसान र व्यवसायीबीच सीधा सम्पर्क गराउने कार्ययोजना बनाएको छ ।

नेपालमा ढुवानी क्षेत्रमा समस्या रहेको र चालकले ढुवानी लिन सास्ती खेप्नुपर्ने कारण यो एप अझै लोकप्रिय बन्ने दाबी कम्पनीको छ । ‘सुरक्षाका मामिलामा ग्राहकलाई र व्यवसायका हिसाबले चालकलाई फाइदा हुने भएकाले यो एप लोकप्रिय बन्दै गइरहेको छ,’ खड्काको दाबी छ ।

बन्दाबन्दी र कोरोना संक्रमणको जोखिमका कारण राइड शेयरिङ कम्पनीहरू भने धराशयी बन्दै गएका छन् । आफ्ना करीब २ हजार चालकलाई अहिले डेलिभरी क्षेत्रमा काम गर्ने कम्पनीहरूसँग जोडेको जानकारी पठाओका सञ्चालक बस्नेतले दिए । भर्खरै एप परिष्कृत गरेको टुटलले आफूलाई अझै कसरी अब्बल सावित गर्ने भन्नेमा अध्ययन गरिरहेको बताएको छ ।

कोरोना महामारीका कारण अहिले व्यवसाय धराशयी भए पनि यसपछि यस्ता कम्पनीको लोकप्रियता अझ बढ्ने टुटलका सञ्चालक भट्टको दाबी छ । अहिले बन्दाबन्दी भए पनि मान्छेहरूको चहलपहल बढेपछि सार्वजनिक बसभन्दा राइड शेयरिङका प्रयोगकर्ता बढ्ने उनको भनाइ छ । ‘सार्वजनिक बसमा एक ठाउँबाट अर्को ठाउँसम्म यात्रा गर्दा कम्तीमा पनि ५० जनासँग त्यो पनि बन्द वातावरणमा सम्पर्क हुन्छ,’ उनले भने, ‘मोटरसाइकलमा एक जनासँग मात्र हुने हुँदा यो सार्वजनिक यातायातभन्दा सुरक्षित हुन्छ ।’

दुईपांग्रेबाट शुरू भएको यातायात क्षेत्रको डिजिटाइजेशनलाई पछिल्लो समय सार्वजनिक यातायात व्यवसायीले पनि पछ्याउन थालेका छन् । उपत्यका ट्याक्सी चालक व्यवसायी महासंघले इजी ट्याक्सी सेवासँग सहकार्य गरेर गत वर्षदेखि अनलाइनमार्फत सेवा दिइरहेको छ भने २ वर्ष अघिदेखि बससेवाले अनलाइनमा टिकटिङ सेवा सञ्चालन गरिरहेको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले यस वर्षको दशैंदेखि अनलाइन टिकेटिङ सेवा सञ्चालन गर्ने बताए पनि कोरोना संक्रमणका कारण हालका लागि त्यो काम अगाडि बढेन । परिस्थिति सामान्य भए काउन्टरमै पुगेर टिकट लिनुपर्ने अवस्थाको अन्त्य गर्दै डिजिटल प्रणालीको विकास गर्ने महासंघ अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताउँछन् ।

यस्तै, काठमाडौं उपत्यकामा साझा यातायात र सुन्दर यातायात प्रालिले डिजिटल भुक्तानी सेवा शुरू गरिसकेका छन् ।

यातायातविद् आशिष गजुरेल केही वर्षमा हरेक क्षेत्रमा डिजिटाइजेशन हुने भन्दै सार्वजनिक यातायात पनि डिजिटल प्रणालीमा जानुको विकल्प नभएको बताउँछन् । ‘अन्य देशले सार्वजनिक यातायातलाई डिजिटल प्रणालीमा विकास गरिरहेका छन् । हामी पनि जतिसक्दो चाँडो डिजिटल प्रणालीमा जानैपर्छ,’ उनले भने । ५० लाख जनसंख्या भएको काठमाडौंमा बस, माइक्रो बसले सार्वजनिक यातायात नधान्ने हुँदा डिजिटल प्रणालीमा मेट्रोरेल सञ्चालन गर्नुपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्