ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

‘राईड शेयरिङले नयाँ रोजगारी सृजना गर्‍यो’

२०७७ भदौ, १८  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found

नेपाली समाजमा प्रविधिमाथि विस्तारै छलफल हुन थालेको छ । तर, अझै पनि प्रविधिले देशको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा पार्ने प्रभावको बहस शुरू भइसकेको छैन । २१औं शताब्दीको सबभन्दा ठूलो विकास भनेकै प्रविधि हो । अन्य विकसित मुलुकहरूले डिजिटाइजेशनको बाटो भएर त्योभन्दा माथि आर्टिफिसियल इन्टेलिजेन्ससम्मको पहुँच बनाइसकेका छन् । हामी भर्खरै डिजिटाइजेशनको सँघारमा छौं ।

२० वर्ष अगाडिको समाज र अहिलेको समाज हेर्ने हो भने हाम्रो चेतनामा निकै परिवर्तन आएको छ । सामाजिक सञ्जालजस्ता प्रविधिको पहुँचका कारण विश्वलाई नजीकबाट हेर्न र हरेक विषयमा आफ्नो मत जाहेर गर्न सक्ने क्षमता हामीमा विकास भएको छ । यद्यपि, सामाजिक सञ्जालको दुरुपयोग गरेर बर्बादीको बाटोमा लम्किएकाहरूको जमात पनि सानो छैन । तर, यसको सही प्रयोग गर्नेहरूले यसबाट धेरै फाइदा लिएका छन् । प्रविधिको गलत प्रयोग बढेको नेपालमा मात्र होइन, हरेक देशमा छ । यसको कारण नीतिगत बाधा नै हो । नवीनताको शुरुआती चरणमा यस्ता केही कठिनाइ आउँछन् । अन्य देश आर्टिफिसियल इन्टेलिजेन्समार्फत काम गर्न लाग्दा हामीले प्रविधिमाथि पनि किन काम गर्न सकेनौं ? यसको एक मात्र कारण हामीले प्रविधिलाई बुझेर स्वीकार्न नसक्नु नै हो । सामाजिक सञ्जालको बढ्दो प्रयोग र केही नवीनतम प्रविधिमुखी व्यवसायमा हामीले ठूलो सफलता प्राप्त गरिसकेजस्तो लाग्न सक्छ । वास्तवमा हामी प्रविधिको कुरा गर्नुपर्दा कम्प्युटर युगमा टाइप राइटर चलाएजस्तो अवस्थामा छौं ।

संसार एउटै भविष्यतर्फ गइरहेको छ, संसारलाई डोहो¥याइरहेको छ, प्रविधिले । प्रविधिले भूगोल, वर्ग र सामाजिक संरचनालाई छुटाउँदैन । सबैतिर यो समान हुन्छ । त्यसैले विश्व नै यसैलाई भविष्य मानेर हिँडिरहेका बेला ढिलोचाँडो हामीले प्रविधिलाई स्वीकार्नैपर्छ, स्वीकार्नु नै छ ।

यही क्रममा नेपालमा पनि प्रविधिको विकास भइरहेको छ । अन्य क्षेत्रमा प्रविधिको प्रयोग भएको लामै समय भए पनि यातायात क्षेत्रमा भर्खरै शुरू भएको छ । हामीले राइड शेयरिङमार्फत खेर गइरहेको स्रोत प्रयोग गरेर यस्तो सेवा शुरू गर्‍यौं । यो नयाँ भने होइन, विश्वमा भइरहेकै अभ्यास थियो । तर, विश्वमा छोटो समयमा यसले आप्mनो दरिलो प्रभुत्व जमाए पनि नेपालमा अझैसम्म नीतिगत कठिनाइसम्म सुल्झिन सकेको छैन ।

यद्यपि, छोटो समयमा लोकप्रियता बढेबाटै यसको महत्त्व कति रहेछ भन्ने थाहा हुन्छ । कानूनमा यसलाई नसमेटिएकाले यसलाई गैरकानूनी भन्नेको जमात पनि ठूलो रह्यो । तर, कानूनको अभाव हुनु बेग्लै कुरा थियो । राइड शेयरिङ गैरकानूनी नभईकन कानूनको अभाव भएको क्षेत्र थियो । अहिले काठमाडौंमा करीब ५० लाख मानिस घरभाडामा बस्छन् । यो काठमाडौंमा भएको सीमित स्रोतलाई बाँडिएको हो । यदि राइड शेयरिङ गैरकानूनी हो भने होम शेयरिङ कानूनी कसरी हुन्छ ? त्यसो त घरभाडामा लगाउनु पनि गैरकानूनी हुनुपर्थ्यो । यदि, यस्तो हुने हो भने काठमाडौंको अवस्था के हुन्छ ? त्यसैगरी हामी आफ्नो गाडी पछाडिको सीट खाली राखेर प्रयोग गरिरहेका थियौं । त्यही गाडी त्यही समय त्यही बाटो भएर हिँड्दा कसैलाई यातायातको सेवा पनि दिने र यसबाट रोजगारी पनि सृजना गर्ने नवीनतम सोचका कारण राइड शेयरिङ कम्पनीको स्थापना भएको हो । यसले सबभन्दा महत्त्वपूर्ण देशमै ठूलो मात्रामा रोजगारी सृजना गरेको छ । टुटलको मात्र नभएर पठाओ, सारथिजस्ता अन्य कम्पनीको पनि हिसाब गर्ने हो भने झन्डै ३० हजार बढी मान्छेले यस क्षेत्रमा दैनिक रोजगारी पाएका छन् । ठूलो संख्यामा रोजगारी सृजना हुँदा मान्छेहरू विदेशिनबाट रोकिए, उपभोक्ताले सस्तो र सजिलो सुविधा पाए । सबभन्दा महत्त्वपूर्ण अहिले शारीरिक अशक्तता भएका व्यक्तिहरू यसको प्रयोग गरिरहेका छन् । यसले सेवा मात्र नभएर मानवतामूलक व्यवसायमा आफूलाई स्थापित गर्‍यो, एउटा छुट्टै उद्योगको विकास भयो । अब यस्ता नवीनतम सोचलाई राज्यले प्रवद्र्धन गर्ने कि नगर्ने भन्ने अहं प्रश्न हो ।

पछिल्लो समय कोभिड–१९ महामारीका कारण विश्वमैै नयाँ तौरतरीकाको जीवनशैली विकास भएको छ । हाम्रा यसअघिका मूल्यमान्यता परिष्कार हुँदै छन् र सम्भवतः यो महामारीपछि हाम्रो जीवनशैलीमा व्यापक परिवर्तन आउनेछ । तर, राइड शेयरिङको महत्त्व अहिलेभन्दा बढ्ने पक्का छ । किनभने जब हामी कुनै सार्वजनिक बसमा चढ्छौं, तब हामी आफ्नो गन्तव्यसम्म पुगुन्जेल सयौं मान्छेसँग सम्पर्कमा आउँछौं— त्यो पनि एउटा बन्द वातावरणमा । तर, राइड शेयरिङको कुरा अलग छ । यात्रु चालकको पछाडि बस्ने हुँदा उसको श्वासप्रश्वाससँग सोझै सम्पर्कमा आउँदैन र यसमा सार्वजनिक बसमा भन्दा संक्रमण फैलिने सम्भावना सयौं गुणा कम हुन्छ । किनभने यसमा एक त संक्रमणका लागि भीड हुँदैन, एउटा व्यक्तिको मात्र सम्पर्कमा आइन्छ । दोस्रो, खुला वातावरण हुन्छ । त्यसैले पनि यसका प्रयोगकर्ता निश्चिततः यो संक्रमणपछि बढ्छन् नै । जहाँसम्म सार्वजनिक यातायातको रोजगारी खोसियो भन्ने आरोप हामीलाई लाग्छ, त्यो गलत हो । हामीले कसैको रोजगारी खोसेका होइनौं, बरु हामी रोजगारी सृजना गर्न आएका हौं । कुनै पनि व्यवसाय व्यवस्थित र चुस्त नभएपछि विकल्पमा त्यसको प्रतिस्पर्धी जन्मिन्छ, उपभोक्ताको बढ्दो आकर्षणले नै राइड शेयरिङ पनि त्यही भएको प्रमाणित हुन्छ । राइड शेयरिङमा व्यवसायीकरण र सुव्यवस्था त छ नै, सेवाग्राहीले आफ्नो रुचिअनुसार प्रयोग गर्न सक्ने विकल्प पनि छ ।

अब छिट्टै नै विश्व प्रविधिको युगमा जाँदै छ । प्रविधिलाई नकार्नु भनेको पतनको बाटोतर्फ अग्रसर हुनु हो । खासमा यो त शुरुआत मात्र हो । प्रविधिमाथि भएको विकासलाई हरेक व्यक्तिसामु पुर्‍याउनु सरकारको दायित्व हो । नवीनतम सोचलाई प्रवर्द्धन नगरी विकास सम्भव छैन । यसमा परिष्कार गर्नुपर्ने हुन सक्छ । त्यसमा जोड दिनुपर्छ । ४ वर्षअगाडि नेपाली बजारमा आएको मोबाइलले आज व्यापक परिवर्तन भइसक्यो । तर, सोही समय आएका यस्ता प्रविधिमा कुनै परिवर्तन हुन सकेको छैन । कारण हो– नीतिगत समस्या । यो लामो समय हो । यति लामो समयसम्म नीतिगत स्पष्टता हुन नसक्नु सरकारको कमजोरी हो । किनभने यो टुटल, पठाओको मात्र कुरा होइन, समग्र नवीनतम सोचमाथिको निषेध हो । प्रविधिको विकास नहुँदा घाटा कुनै एकाध कम्पनीलाई होइन, देशलाई लाग्छ । यसमा स्पष्ट हुनैपर्छ । राइड शेयरिङमा सधैं नरहन सक्छ तर यो एउटा बाटो हो । यो त्यति ठूलो कुरा पनि होइन । यति सानो कुरामा नीति निर्माणमा लामो समय लाग्नु भनेको पक्कै पनि हाम्रा लागि दूरगामी असर हो । संसारसँगै यात्रा गर्ने हो भने नवीनतम प्रविधिलाई निषेध होइन, संसार कसरी, कुन बाटोमा अघि बढिरहेको छ, त्यसलाई नियाल्न जरुरी छ ।

भट्ट राईडशेयरिङ कम्पनी टुटलका संस्थापक हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्