ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वाह ! ई–कमर्शको दुनियाँ

२०७७ भदौ, १८  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found

लालबन्दी, सर्लाही जिल्लाको महेन्द्र राजमार्गमै पर्ने बजार । यो ठाउँको इतिहास के कस्तो छ, धेरै जानकार नभए पनि सोमवार र बिहीवार लाग्ने हाट बजार मानसपटलमा अझै ताजै छ । वस्तु र सेवाको मागसँगै लालबन्दीका धेरै आयाम परिवर्तन हुँदै गए । बजार विस्तार हुँदै जाँदा सबै सामान एकै ठाउँ पाइने भयो । सेवासुविधा पनि बढ्यो ।

हप्ताको २ दिन बजार लाग्ने ठाउँबाट काठमाडौं आइपुग्दा अनि सधैं हाट बजार लागिरहने रहेछ भन्ने प्रत्यक्ष आँखाले देख्दा अचम्मै लाग्यो । तर, यो देख्दासम्म, उता अमेरिकामा एमाजनले ग्राहकको घरदैलोमा सामान पुर्‍याइ मात्र रहेको थिएन, मेम्बरसिप कार्ड दिई एमाजनले प्राइम सेवा पनि शुरू गरिसकेको थियो ।

ई–कमर्शको आगमन
ई–कमर्श शब्द आगन्तुकझैं अब नेपाली शब्दकोशमा राख्न बाँकी मात्र होला । तर, यसको सेवासुविधा र अर्थ हरेक नेपालीले बुझिसकेका छन् । इन्टरनेटको प्रयोगबाट कुनै पनि वस्तु र सेवा किनबेच गर्नुलाई नै मूलतः ई–कमर्श भनिन्छ ।

करीब ४० वर्ष अघिबाट शुरू भएको ई–कमर्श आजसम्म आइपुग्दा मानिसको दैनिक जीवनयापनको अभिन्न अंगझैं बनिसकेको छ । सन् १९७० ताका टेलिसपिङ र इलेक्ट्रोनिक डेटा इन्टरचेन्जले अहिलेको ई–कमर्शका लागि एउटा बाटो तय गरिदिए तापनि सन् १९९० मा टिम बर्नर्स लि र रोबर्ट कैल्लिऔले हाइपर–टेक्स्ट ब्राउजर ‘वर्ड वाइड वेब’को विकास गरेपश्चात् सन् १९९१ मा इन्टरनेट जनमानसमा उपभोग गर्न सक्ने प्रावधान आएपछि यसले मूर्तरूप लिन सकेको थियो । यसको ज्वलन्त उदाहरण एमाजन नै हो ।

हुन त, धेरैले एमाजनअघि पनि अरू नै कम्पनीहरूले यस्तो काम गरेको बताउने गर्छन् । तर, एमाजन हालसम्मको ई–कमर्श बजारको एउटा अब्बल खेलाडी हो । इन्टरनेटको आगमनपछि अनलाइन शपिङ साइटका रूपमा बुक्स स्ट्याक्स अनलिमिटेडले काम शुरू गर्‍यो । बुक्स स्ट्याक्स अनलिमिटेड (बुक्सडटकम) एमाजन आउनुभन्दा २ वर्षअघि खोलिएको कम्पनीलाई पछि विश्वको चर्चित अनलाइन बुक स्टोर वान्र्स यान्ड नोबेलले किनेको थियो । त्यसपछि सन् १९९५ बाट शुरू भयो, एमाजनको एउटा अभूतपूर्व यात्रा ।

शुरुआती चरणमा एमाजनले पनि किताब विक्रीबाटै आफ्नो सेवा शुरू गरेको थियो र हालसम्म आइपुग्दा सबै खाले वस्तु उक्त अनलाइनमा पाइन्छ । एमाजनमा रहेका वस्तुको रेटिङ स्केल, रिभ्युलगायतले गर्दा ग्राहकले धेरै रुचाउँदै गए र यसले ठूलो रूपमा विक्रीको मापन बढाउँदै गयो । एमाजन शुरू भएको वर्ष नै अर्को कम्पनी इबेले पनि अलि फरक तरीकाको वेबसाइट लन्च ग¥यो, अक्शन वेबसाइटका रूपमा ।

जब पेपालले सन् १९९८ मा अनलाइन पेमेन्टको सेवा सुचारु ग¥यो, झन् ई–कमर्शहरूलाई सहज हुँदै गयो । भुक्तानीका लागि धेरै देशका मुद्रामा कारोबार हुने भएकाले यसले ग्राहक र ई–कमर्श दुवैलाई सहयोग ग¥यो । इन्टरनेट प्रविधिको द्रुत विकाससँगै ई–कमर्शको सञ्जाल संसारभर फैलिँदै गयो र यो सेवा लक्जरी नभई दैनिक जीवनको अभिन्न अंग बन्न पुग्यो ।

नेपालमा ई–कमर्श
जुन समय विश्व र हाम्रो छिमेकी मुलुकमा इन्टरनेट प्रविधिको प्रयोग गर्दै प्रविधिमैत्री व्यवसाय सञ्चालन हुँदै थियो । हामी अझै धेरै ठाउँमा टुजी नेटवर्कमै थियौं । तथापि नेपालमा ई–कमर्शकै शुरुआती दिनको कुरा गर्ने हो भने नेपालभन्दा बाहिर रहेका नेपालीहरूले आफ्नो परिवार, साथीभाइलाई उपहार पठाउने गरी सेवा शुरू भयो । यसले नेपाली ई–कमर्शमा त्यति धेरै टेवा नपुर्‍याए पनि पहिलो चरणको एउटा ई–कमर्शको प्रयोगचाहिँ भएको हो । मुन्चा डटकम, ठमेल डटकमजस्ता कम्पनीहरू नेपाली ई–कमर्शको शुरुआती दिनहरूमा खोलिएका हुन् । त्यो समय इन्टरनेटको पहुँच सबैमा सहज नहुनु, बजार निश्चित क्षेत्रमा मात्र सीमित रहनु, ग्राहकमा जनचेतनाको कमी हुनुजस्ता कारणले खासै फलदायी रहेन, हाम्रो विगत । यद्यपि एउटा गोरेटोको निर्माणचाहिँ भएकै हो ।

जसरी इन्टरनेटलाई केही समय अघिसम्म लक्जरीका रूपमा हेर्ने गरिन्थ्यो र त्यहीअनुरूप उपभोग हुँदै जान्थ्यो । तर, पछि इन्टरनेट दैनिक जीवनयापनमा अत्यावश्यक भइसकेको छ । त्यसैगरी ई–कमर्श पनि सोहीअनुरूप हुँदै गएकामा दुईमत छैन । जस्तै, सस्तोडिल, युजी बजार, दराजले दैनिक उपभोग्य वस्तुहरू, लुगा, इलेक्ट्रोनिक्सलगायत मेट्रो तरकारीले फलफूल तथा तरकारी, फुडमान्डु, फुडमारियो, भोज डिल्सले खाने कुराहरूको सेवा दिएर दैनिक जीवनमा धेरै फेरबदल ल्याएका छन् । काठमाडौं बाहिरको बजारलाई दृष्टिगत गर्दै धेरै ई–कमर्शले गुणस्तरीय सेवा प्रदान गरिरहेका छन् । विराटनगरमा कुइकर फुड, इटहरीमा सहयोगी पसल, पोखरामा पोखरा फुड डेलिभरी, बिर्तामोडमा सानो हाटजस्ता कम्पनीहरूले स्थानीय क्षेत्रमा निकै आशालाग्दो काम गर्नाले ग्राहकको घरदैलो सेवा मात्र नभई धेरै युवाको जीवन परिवर्तन गरिरहेका छन् ।

त्यस्तै, अनलाइन पेमेन्ट र वालेटमा ईसेवा, खल्ती, कनेक्ट आईपीएस, आईएमई पेलगायतले घन्टौं लाइन लाग्नुपर्ने कष्टकर समयको समाधान दिएका छन् । बढ्दो जनसंख्या र काठमाडाैंको जनघनत्वमा टुटल, पठाओ र सारथिजस्ता एपले सहज यात्राको आभास दिइरहेका छन् । पठन संस्कृतिको विकासका लागि किताब यात्राले विगत ३ वर्षदेखि घरदैलोमा किताबको यात्रा गराइरहेको छ ।

माथि उल्लिखित त केही उदाहरण मात्रै हुन् । यस्ता धेरै कम्पनी छन्, जसले नेपालीको जनजीवन नै परिवर्तन गरिरहेका छन् । काठमाडौं बाहिर रहेर सेवा शुरू गरिरहेका धेरै कम्पनी छन्, जसले स्थानीय तहका समस्या न्यूनीकरणमा सहयोग दिँदै आएका छन् ।

नेपालमा भौगोलिक हिसाबले हेर्दा धेरै ठाउँमा अभैm सेवा विस्तार गर्न नसकेको अवस्थामा लजिस्टिकमा धेरै काम गर्नुपर्ने अवस्था छ । लजिस्टिक ई–कमर्शको अभिन्न अंग हो । न्यून वा शून्य डेलिभरी शुल्क, घरदैलो सेवा, रियल टाइम ट्र्याकिङ, सर्वसुलभ रिभर्स डेलिभरी अर्थात् रिटर्न र सहज अनलाइन भुक्तानीलगायत प्लेटफर्म ई–कमर्शका अत्यावश्यक आधार हुन् ।

ई–कमर्शको सही दिशा पहिल्याउनुको एउटा आधार भनेको ‘लास्ट माइल लजिस्टिक’ हो, जसको कारणले कम समयमै वस्तु वा सेवा ग्राहकसमक्ष पुग्छ ।

भारतको उडान र एमाजनले पछिल्लो समय गरेको सर्वेक्षणअनुसार ई–कमर्शको चालू खर्चमध्ये धेरै खर्च अर्डर गरेको सामान ग्राहकबाट फिर्ता आउनु रहेको पाइएको छ । यसको अर्थ तपाईंले जति थोरै समय सामान डेलिभरी गर्नुहुन्छ, त्यति नै रिटर्नको सम्भावना कम हुँदै जान्छ । यो प्रक्रियामा लास्ट माइल लजिस्टिकले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ । ग्राहकको सामाजिक सञ्जालमा गरिने क्रियाकलाप अथवा आर्टिफिसियल इन्टिलिजेन्सका आधारमा उक्त ग्राहकको खोजअनुरूप बजारीकरणको सिलसिला चलाइराख्नुपर्ने हुन्छ, जसको कारणले मागअनुरूप विक्री हुने गर्छ ।

अवसर, समस्या र चुनौती
नेपालमा ई–कमर्शको शुरुआत ढिलै भए पनि हामी निकै आशावादी स्थानमा छांै । यसको कारण, इन्टरनेटको पेनिट्रेशन लेभल नेपालमा ६२ प्रतिशतभन्दा माथि रहनु हो । यसैगरी स्मार्टफोन प्रयोगकर्ताको कुरा गर्दा नेपाल टेलिकमको डेटाअनुसार १३० प्रतिशत पेनिट्रेशन लेभल रहेको छ । भुक्तानी प्रणाली धेरै हदसम्म सहज रहेको हुँदा र ग्राहक पनि इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमा आकर्षित भइरहेको अवस्थामा हामी यसलाई निकै सकारात्मक रूपमा लिन सक्छौं ।

करीब ८ लाख संख्यामा रहेको साना तथा मझौला व्यवसायले भोगिरहेको समस्या हल गर्ने र ई–कमर्शको दायरामा ल्याउन सकियो भने मात्र पनि हामीले धेरै परिवर्तनको अनुभूति गर्न सक्छौं ।

अहिलेको अवस्थामा ई–कमर्शको मुख्य चुनौती भनेकै ग्राहकको कुनै सामान वा सेवाको विश्वसनीयता हो । कस्तो सामान होला ? कति चल्छ होला ? मैले फोटोमा हेरेको र पाउने सामान एउटै हो कि होइन ? यी यस्तै प्रश्न तबसम्म आइरहन्छन्, जबसम्म हामीले ग्राहकलाई विश्वास दिलाउन सक्दैनाें । विश्व परिवेशमा ई–कमर्शमा सहजै रिटर्नको सुविधा दिने गरिन्छ तर नेपालमा भने हामी यहीँनेर चुकेका छौं । एउटा सामान रिटर्न गर्नलाई महीनौं लागेका उदाहरण धेरै देख्न सक्छौं । धेरैभन्दा धेरै जनमानसमा ई–कमर्शको जनचेतनामूलक गतिविधि, अनलाइन पेमेन्टको प्रयोग र सहज ई–कमर्शको प्रयोगको विस्तृत बुझाउन नसक्नु पनि एउटा कारक हो, जसले गर्दा ठूलो परिणामका ग्राहकसमक्ष हामी अभैm पुग्न सकेका छैनौं ।

एकतर्फ भौगोलिक हिसाबले देशको कुनाकाप्चासम्म सेवासुविधा दिन सकिरहेको अवस्था छैन भने धेरै स्थानमा उत्पादन हुने वस्तुलाई अन्य ठाउँमा बजारीकरण गरेर त्यसको बजार विस्तार गर्न नसकेको अवस्था छ । यसमा बजारको माग हेरेर ई–कमर्शहरू नगएको पनि एउटा कारण हो भने अर्को सहज ‘लजिस्टिक’ सेवा नभएर पनि हो । सरकारी स्वामित्वको हुलाकलाई अत्याधुनिक प्रविधिको प्रयोग गरेर र चाहिने ठाउँमा निजी संस्थासँगको सहकार्य गर्दा धेरै नै परिवर्तन आउन सक्छ ।

अहिलेको स्थानीय संरचनाअनुसार विभिन्न ठाउँको जिप कोड वा पिन कोड, घर नम्बर इत्यादि यकिन हुने गरी ठम्याउने सकिने आधार बनाइयो भने यसले देशैभरि ई–कमर्शको सेवा विस्तार गर्न टेवा पु¥याउँछ । साथै, यसले ई–कमर्शका धेरै खर्च मात्र बचाउँदैन, कम समयमा ग्राहकले सेवा पाउनेछन् ।

इन्भेन्ट्री मोडल वा मार्केट प्लेस मोडल जुनसुकैमा काम गरे पनि आपूर्ति शृंखला (सप्लाइ चेन) मा पर्याप्त तयारी गर्न सकिएन भने उचित समयमा सेवा दिन सक्ने अवस्था रहँदैन । सोही कारण प्रत्यक्ष रूपमा ई–कमर्शमा असर पर्ने हुन्छ । ग्राहकको दृष्टिकोणबाट ई–कमर्शको सम्पूर्ण प्रणाली हेर्न नसक्नु वा त्यसतर्फ अनुसन्धान नगर्नु नै अहिलेको मुख्य चुनौती रहेको छ ।

मार्केटप्लेस मोडलमा काम गरिरहेका ई–कमर्शका भेन्डर अर्थात् विक्रेताहरूमा पनि ज्ञान र अभिमुखीकरण कार्यक्रमको अभाव छ, जसले गर्दा सही समयमा सही वस्तु पाउन नसक्नु, सामानको प्रकृतिअनुसार प्याकिङ नहुनुलगायत समस्या आउने गर्छन् ।

खास अर्थको ई–कमर्श संसारमा नेपाल पुग्न अझै समय लाग्ने नै छ । झर्कोलाग्दो सामाजिक सञ्जालमा विज्ञापन, च्याउसरी फेसबुक, इन्स्टाग्राम पेजमार्फत दर्ताविना सञ्चालन गरिएका व्यवसायले गर्दा पनि ग्राहकमा अन्योल पैदा भएको हो ।

ई–कमर्श नीति
देशको अर्थतन्त्रमै आमूल परिवर्तन ल्याउन सक्ने यो क्षेत्रमा समस्या भने धेरै छन् । पहिलो कुरा, यसका लागि नियामक निकाय र ई–कमर्श नीति चाहिने अवस्था छ । ई–कमर्श नीतिको मस्यौदा तयार भइसकेको छ । यसको थप सल्लाह सुझाव लिने प्रक्रिया र पूर्णता दिने काम भने बाँकी नै छ । त्यसपछि ई–कमर्शको कानून बन्नेछ ।

हामीले अमेरिकाको नीति देख्यौं, छिमेकी भारतको पनि देखिसकेका छौं । तसर्थ, यी देशबाट सिक्ने कुरा धेरै छन् । ई–कमर्शका डेटाहरूका विषयमा यसको नीतिको मस्यौदाले धेरै विषय खुलस्त उजागर नगरेको देखिन्छ । ई–कमर्शको नियामक निकाय नहुँदा पछिल्लो समय धेरै नेपाली ई–कमर्श कम्पनीहरू समस्या भोग्न बाध्य छन् । दर्ता प्रक्रिया मात्र होइन, सरकारले अनलाइन ग्राहकको समस्या सुन्ने र समाधान गर्ने निकाय पनि बनाउन जरुरी छ । अझै दर्ता प्रक्रियामा पनि स्टार्टअप कम्पनीहरूका लागि एकद्वार नीति लागू गर्न सकियो भने अहिलेजस्तो अनावश्यक समस्या भोग्नु पर्दैन ।

ई–कमर्श नीतिको मस्यौदामा अन्तरराष्ट्रिय बजारमा आबद्ध भई वस्तु तथा सेवाको निर्यात गर्ने भनिएको छ । तर, पेमेन्ट सिस्टममा धेरै काम गर्नुपर्नेछ । जस्तै, पेमेन्ट सिस्टमका लागि नेशनल पेमेन्ट गेटवे जतिसक्दो चाँडै सुचारु रहेर काम अघि बढेको खण्डमा यसले आयातनिर्यात दुवैमा टेवा पुर्‍याउनेछ । इलेक्ट्रोनिक ट्रान्समिशन जस्तै, सिनेमा, भिडियो गेम्स, म्युजिक, ईबुक जसको भन्सार बिन्दुमा (ट्यारिफ सेड्युल) मा मूल्य निर्धारण हुन्छ, यसको भन्सार निकासी र करको दायराको विषयमा ई–कमर्श नीति मौन छ । ई–कमर्शमा देखाइने वस्तुको मूल्य, त्यसको ग्यारेन्टी, वस्तुको ट्रेडमार्क र ग्राहकको आधिकारिक रिभ्युलगायत विषयमा ग्राहक हितमा बुँदाहरू रहनुपर्ने अवस्था छ ।

भन्सार बिन्दुहरूमा पूर्वाधार विकासका बुँदाहरू उल्लेख गरिएको छ, जसले आयात र निर्यातमा धेरै काम गर्न सजिलो पर्नेछ । तर, देशभित्रको लजिस्टिकबारे त्यति धेरै कुरा लेखिएको छैन । आउन लागेको ई–कमर्श नीति तब मात्र सफल हुन्छ, जब लजिस्टिक नीति पनि सँगै आउँछ वा ई–कमर्श नीतिमै लजिस्टिकबारे उल्लेख गर्नुपर्ने हुन्छ ।

ट्रेडमार्कसँग सम्बद्ध वस्तुहरूको मूल्य, स्वामित्व र अनलाइनमा आउने विवाद समाधानका विषयमा त्यति ध्यान नदिएको एवम् ई–कमर्श नीतिको मस्यौदाले एआई, बिग डेटा, डिप लर्निङका लागि प्रविधि शाखा (टेक्नोलोजी विङ) चाहिन्छ भन्ने कुरा पनि सोच्न सकेको छैन । ग्राहकसँग सम्बद्ध ग्राहक सेवा तथा ग्राहकको हितमा हुने कार्य सम्पादन, ई–कमर्श कम्पनी, ई–कमर्श भेन्डरका सम्पूर्ण काम नियमन तथा सरकार र सम्बद्ध पक्षका बीच मध्यस्थकर्ताको भूमिका खेल्ने व्यक्तिको आवश्यकता पर्ने हुन्छ । अन्तरनिकाय सहजीकरण समितिमा ई–कमर्शका प्रतिनिधिहरूलाई समावेश गर्न सकियो भने यस क्षेत्रको वास्तविक अवसर र चुनौतीबारे सहजै सरकारले पनि जानकारी पाउन सक्छ ।

ई–कमर्श क्षेत्रको बजार पछि बढ्दै जाँदा ठूला कम्पनीका नेटवर्किङले स्टार्टअपलाई यस क्षेत्रमा प्रवेश गर्न निकै कठिनाइ हुने गर्छ । यस्तो परिस्थितिमा स्टार्टअपहरूका लागि इन्फ्यान्ट इन्डस्ट्री स्ट्याटस दिएर नयाँ आउने कम्पनीहरूलाई प्रोत्साहन गर्न सकिन्छ । ई–कमर्श क्षेत्रमा अझै धेरै फड्को मार्न हामीले वैदेशिक लगानीमा अंकुश लाउनु हँुदैन अथवा थ्रेसहोल्ड सीमितता घटाउन सकिन्छ । वैदेशिक लगानी भएका ई–कमर्श एवम् अन्य ई–कमर्शमा भोलि आउने सम्भावित समस्या र तिनका समाधानमा पनि धेरै काम गर्नुपर्नेछ ।

कानून बन्नुअघि नै आगामी दिनमा आउने समस्यालाई दृष्टिगत गर्दै सम्बद्ध निकाय र संस्थासँगको सल्लाह/सुझाव लिँदै धेरैभन्दा धेरै अन्तरसंवाद गर्नुपर्ने देखिन्छ । यसो गर्दा बारम्बार हामीले धेरै समस्या भोग्नु पर्दैन । अहिलेको ई–कमर्श नीतिको मस्यौदा भनेको सिनेमा वा उपन्यास लेख्दा शुरूमा लेखिने ‘वान लाइनअप’ जस्तै भयो । अब यसलाई कानून बन्नुअघि नै आगामी दिनहरूमा आउने समस्यालाई दृष्टिगत गर्दै सम्बद्ध निकाय र संस्थासँग अन्तरसंवाद गर्दै यसलाई मूर्तरूप दिनुपर्छ ।

अरू देशको तुलनामा हामी निकै कम समयमा ई–कमर्शलाई आत्मसात् गर्न सकेका छौं । नियमन गर्ने निकायको आफ्नो भूमिका त छँदै छ, ई–कमर्श क्षेत्रमा काम गरिरहेका सम्पूर्ण कम्पनीहरूमा पनि इकोसिस्टम बनिरहनुपर्ने अवस्था छ । जसको कारण ई–कमर्श क्षेत्र एउटा उद्योगका रूपमा विकसित हुन सक्छ । सोच्नुहोस् त, तपाईं उठ्नासाथ खाने ‘ब्रेकफास्ट’ नास्तामा चाहिने सबै सामान किराना अनलाइनबाटै आउँछ । अनि टुटलको साथीले तपाईंलाई अफिससम्म पुर्‍याइदिन्छ । दिउँसोको खाजा फुडमारियोबाट खाएर बसिराख्दा तपाईंको अफिसको सहकर्मीको जन्मदिनका लागि केक र उपहार युजी बजारबाट आउँछ र स्मार्ट फोन खोली ई–सेवाबाट भुक्तानी गर्नुहुन्छ । फेरि तपाईं घर पुग्दा नपुग्दै मेट्रो तरकारीले तरकारी र बेलुका पढ्ने किताब, किताब यात्राबाट यात्रा गरिसकेको हुन्छ । वाह ! यही त हो ई–कमर्श को दुनियाँ ।

अधिकारी किताब यात्राका संस्थापक हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्