ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

हुँदै छ नेपालमा डिजिटल डिस्रप्शन

२०७७ भदौ, १८  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found

डिजिटल डिस्रप्शन आजभोलि नवप्रवर्तन उद्यम तथा प्रविधिमैत्री व्यवसायमा लागेका नयाँ पुस्ताका उद्यमीहरूमाझ धेरै सुनिने शब्द हो । डिजिटल डिस्रप्शनको नेपाली अर्थ के हुन सक्छ ? डिजिटल विस्फोटन, डिजिटल व्यवधान वा डिजिटल विघटन ? यसको ठेट नेपाली अर्थ विस्तारै आउला । किनकि यो शब्द र अवधारणा हामी सबैका लागि नौलो नै हो । तर नेपालमा त्यो दिन टाढा छैन, जब डिजिटल डिस्रप्शनले हाम्रो जीवनशैली, व्यवसाय, समाजलाई ठूलै प्रभाव पार्नेछ । केही हदसम्म त सहरी क्षेत्रमा यो शुरू भइसक्यो पनि ।

डिजिटल डिस्रप्शन मूलतः नयाँ प्रविधि र इन्टरनेटका माध्यमबाट अहिले भइरहेको वस्तु तथा सेवाको व्यापारिक मोडलमा हुने परिवर्तन नै हो । जब हाल चलिरहेको व्यवसायको ५० प्रतिशतभन्दा बढी आम्दानी नयाँ प्रविधि तथा इन्टरनेटको सहयोगको माध्यमबाट हुन थाल्छ, तब त्यो व्यवसाय तथा क्षेत्रमा डिजिटल डिस्रप्शन भएको मानिन्छ ।

किन हुँदै छ ?
डिजिटल डिस्रप्शनका तीन महत्त्वपूर्ण पक्ष हुन्, सस्तो इन्टरनेट, विद्युतीय भुक्तानी प्रणाली तथा इन्टरनेट माध्यम प्रयोग गर्ने व्यवसायहरू ।

यी तीन पक्षको प्रभावकारी प्रयोगका लागि हरेक नागरिकको विशिष्ट विद्युतीय नम्बर (युनिक इलेक्ट्रोनिक नम्बर) आवश्यक छ । नागरिकको बैंक खाता, नागरिकता, भोटर आईडी तथा पान नम्बर विद्युतीय माध्यममा जोडिएको खण्डमा समग्र राज्य नै डिजिटल डिस्रप्शनको इकोसिस्टममा परिवर्तन हुनेछ ।

सस्तो इन्टरनेट
अहिले नेपालमा इन्टरनेट प्रयोगकर्ता दर (इन्टरनेट पेनिट्रेशन) मोबाइल तथा आईएसपी गरी ७२ प्रतिशतको हाराहारी छ भने मोबाइल फोनको मात्रै १४२ प्रतिशत छ । यसले के देखाउँछ भने नेपाल तथा नेपालीहरू डिजिटल इकोसिस्टममा जान तयार छन् ।

पछिल्लो समय टेलिकम कम्पनीहरूको डेटाप्याक सेवाको शुल्कमा कमी आए पनि विनाडेटाप्याकको शुल्क भने महँगो नै छ । विनाडेटाप्याक नेपाली उपभोक्ताले इन्टरनेट प्रयोग गर्नु परे एनसेलमा प्रतिएमबी २ रुपैयाँ, एनटीसीमा प्रतिएमबी १ रुपैयाँ र स्मार्ट टेलिकममा प्रतिएमबी १ रुपैयाँ ९० पैसा खर्च गर्नुपर्छ । अर्थात्, विनाडेटाप्याक एनसेलमा एक जीबी डेटा प्रयोग गर्दा २ हजार ४८ रुपैयाँ, एनटीसीमा १ हजार २४ रुपैयाँ तथा स्मार्टमा १ हजार ९४५ रुपैयाँ खर्च हुन्छ ।

स्मार्टफोन प्रयोगकर्ताको बढ्दो संख्या तथा दैनिक जीवनमा स्मार्टफोनको बढ्दो प्रयोगले टेलिकम कम्पनीलाई डेटाको शुल्क घटाउन बाध्य बनाउँदै लगेको छ । र, आउने दिनमा डेटाको शुल्क घट्दै जानेछ । आम उपभोक्ताले जब डेटामा कति पैसा खर्च गरे भनेर चिन्ता लिनु नपर्ने अवस्था आउँछ, तब प्रत्येक नागरिक आप्mनो मोबाइलमार्पmत इन्टरनेट सञ्जालमा सहजै जोडिनेछन् ।

विद्युतीय भुक्तानी प्रणाली
कोरोना महामारीका कारण हरेक नेपालीलाई विद्युतीय भुक्तानी प्रणालीकाबारे जानकारीका साथै यसको प्रयोगको अनुभवसमेत गरायो । अहिले नेपालका सबै बैंक तथा वित्तीय संस्थाले विद्युतीय भुक्तानीलाई जोड दिइरहेको अवस्था छ ।

नेपाल राष्ट्र बैंकबााट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक नौओटा तथा भुक्तानी सेवाप्रदायक १३ ओटा कम्पनी हाल सञ्चालनमा छन् । ई–सेवा, आईएमई पे, खल्तीजस्ता मोबाइल वालेटले नेपाली उपभोक्तामाझ विद्युतीय भुक्तानीको प्रयोग सिकाए नै, आउने दिनमा यसको व्यापकताको आधारसमेत बनाए ।

टेक कम्पनी
अहिले हरेक महीना ५/१० ओटा नयाँ टेक कम्पनी युवा पुस्ताले शुरू गरेको पाइन्छ । केही वर्षयता नेपालमा नवीनतम सोच र नवीनतम व्यापार गर्ने टेक कम्पनीहरू नजानिँदो हिसाबले डिस्रप्शन गर्न थालेका छन् । ई–सेवा, खल्ती, फुडमाण्डु, उपाय सिटी कार्गो, खेती, डक्टर अन कल, किराना, सस्तो डिल, दराजलगायतले आज जुन व्यवसाय गरिरहेका छन्, त्यो केही वर्ष अघिसम्म शायदै सोचिएको थियो ।

माथि उल्लिखित यी तीन पक्षबाहेक नेपालीको कुल जनसंख्याको ६२ प्रतिशत जनसंख्या ३० वर्षभन्दा कम उमेर समूहका युवाहरू रहनु तथा नेपाली बजारमा स्मार्टफोनको मूल्य ५ हजारभन्दा कममा रहनुले समेत डिजिटल डिस्रप्शन चाँडै हुने सम्भावना देखाउँछ ।

अहिले नेपालको अवस्था सन् २००७/८ आसपास अमेरिकाको तथा सन् २०१२/१३ मा भारतको डिजिटल इकोसिस्टमसँगको अवस्थासँग तुलना गर्न सकिन्छ । नेपालको डिजिटल इकोसिस्टम आउँदो ८–१० वर्षमा कसरी ट्रान्सफर्म हुन्छ भन्ने आकलन अहिलेको भारतलाई हेरेर गर्न सकिन्छ । सन् २०१२/१३ यता भारतको डिजिटल इकोसिस्टमले पेटिएम, ओयो, फ्लिपकार्ट, ओला, बाइजु, बिग बास्केट तथा जोमाटाजस्ता ठूला टेक कम्पनीहरू जन्माइसक्यो । अहिले यी कम्पनीको कारोबार अर्बमा छ र यिनको गणना युनिकर्न कम्पनीको रूपमा हुन्छ । जसरी यी भारतीय कम्पनीहरूले आआप्mनो क्षेत्रमा डिजिटल डिस्रप्शन गर्न सफल भए, त्यसैगरी नेपाली टेक कम्पनीहरू पनि डिजिटल डिस्रप्शनको प्रवेश द्वारमा पुगिसकेको अवस्था छ ।  

कहाँ र कसरी ?
पछिल्ला केही वर्षयता नेपाली टेक कम्पनीहरूले सूचना प्रविधिको उपयोगमार्फत पाइने सेवा र फाइदाको ज्ञान नेपालीहरूलाई दिइसकेका छन् । अब भुक्तानी प्रणाली, यातायात, पर्यटन, रेस्टुराँ, शिक्षा, स्वास्थ्य, रिटेल, मनोरञ्जन, ढुवानीलगायत क्षेत्रमा क्रमशः डिजिटल डिस्रप्शन हुँदै जानेछ ।

त्यसो त यी क्षेत्रमध्ये केहीमा अहिल्यै डिस्रप्शन भइसकेको छ । र, आउने दिनमा जति मानिसहरू इन्टरनेटमा जोडिँदै जान्छन्, त्यहीअनुरूप हरेक क्षेत्रका कारोबार डिजिटल हुँदै जानेछन् । यसले आम मानिसको जीवनशैलीमै परिवर्तन ल्याउनेछ । उदाहरणका लागि, घरमै बसी खाना मगाउने, सरसामान किन्ने तथा सिनेमा हेर्ने क्रम जीवनकै एउटा अंग बन्नेछ ।

यसले अहिले भइरहेको व्यवसायको स्वरूपमै ठूलो धक्का दिनेछ, किनमेल पूरै प्रविधिमैत्री बन्नेछ । र, यही नै डिस्रप्शन हो, जुन कसैले रोकेर रोकिँदैन । विकसित मुलुकमा यो डिस्रप्शन भइसक्यो । नेपाल भने डिस्रप्शनका लागि तयार हुँदै छ ।

प्रविधिमार्फत हुने डिस्रप्शनलाई दिगो र व्यापक बनाउन सरकारको भूमिका महत्त्वपूर्ण रहनेछ । विश्वका अन्य विकसित अर्थतन्त्रको उदाहरण हेर्‍यौं भने प्रविधि अगाडि हुने र सरकार तथा सरकारको नीति पछि आउने गरेको पाउँछौं । विश्वव्यापी चलन पनि यही नै हो । त्यसैले सरकारले अहिले नै नीति बनाउँछु भनेर लागेको खण्डमा त्यस्तो नीति अधुरोका साथै बाधक पनि हुन सक्छ । नीति पक्कै बनाइनुपर्छ । तर, हरेक क्षेत्रमा कसरी प्रविधिको डिस्रप्शन भएको छ, यो बुझेर बनाइए यस्ता नीति व्यवसायमैत्री र दीर्घकालीन हुनेछन् । उदाहरणका लागि, टुटल र पठाओले यातायात व्यवसायमा डिस्रप्शन ल्यायो, जसले जनतालाई एक ठाउँबाट अर्को ठाउँ जान धेरै सजिलो र सस्तो बनायो । शुरूमा यसलाई सरकारले पुरानो नीतिअनुसार नै रोक्न खोज्यो । तर, अहिले यसको नीति नै बनाएर अघि बढ्ने निर्णय गर्‍यो । यातायात क्षेत्रमा झैं अन्य धेरै क्षेत्रमा यस्तै डिस्रप्शन चाँडै आउँदै छ । सरकार र प्रशासनले नयाँ व्यवसायलाई रोक्नेभन्दा पनि सहजीकरण गर्नेमा ध्यान दिनु जरुरी हुन्छ । त्यस्तै, जिम्मेवारी अहिले प्रविधिमैत्री व्यवसायका सञ्चालकहरूको पनि छ । त्यो हो– आफ्नो व्यवसायमा निरन्तर नयाँ प्रविधिमार्फत अपडेट गर्दै समयसापेक्ष र उपभोक्तामैत्री बनाउनुपर्ने ।

ग्राहकले सजिलो र सरल माध्यम रोज्छन् । त्यसैले आफू डिस्रप्ट हुने कि आफ्नो व्यवसायलाई प्रविधिको माध्यमले परिवर्तन गरेर हुन लागेको डिस्रप्शनको प्रमुख पात्र बन्ने भन्ने निर्णय लिने बेला आइसकेको छ । यसमा ढिलाइ भयो भने न समयले नै पर्खन्छ, न त डिजिटल डिस्रप्शनले नै । त्यसैले डिजिटल डिस्रप्शनबारे विचार पुर्‍याउनुपर्ने समय पनि यही नै हो ।  

(रायमाझी उपाय सर्भिसेजका प्रवर्द्धक हुन् ।)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्