ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विदेश छोडेका युवाको कृषि मोह

२०७७ भदौ, २३  
गण्डकी प्रदेश
Image Not Found
author avatar रोशन तिवारी

भदौ २३, पर्वत । कुश्मा नगरपालिका ११ पकुवाका गणेश पौडेलले २७ महीना विदेशमा बिताए । आफ्नो माटोमा बगाएको पसिना विदेशको भन्दा धेरै फलदायी हुने सोचेर उनी २०७१ मा स्वदेश फर्किए । अहिले उनले तरकारी खेतीमा हात हालेका छन् । जहरे कृषि तथा पोल्ट्री फार्म सञ्चालन गरेका ३२ वर्षीय पौडेललाई फेरि विदेश फर्किने चाहना छैन । अब स्वदेशमै रमाउने, यहीँको माटोमा श्रम र पसिनाले धन कमाउने लयमा छन् उनी ।

उनी आपूm पनि विदेश नजाने र गाउँका अरू युवालाई पनि विदेश नजान अनुरोध गर्छन् । ‘कृषिमा केही गर्न सकिन्छ भन्ने लागेको छ,’ पौडेलले भने, ‘आफ्नो बाँझो रहेको खेत खनजोत गरेर तरकारी खेती लगाए विदेश जानुपर्दैन ।’ उनले पाँचओटा टनेलमा मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् । वार्षिक रूपमा १० देखि १२ लाख रुपैयाँ उनको आम्दानी छ ।  

गणेश जस्तै सूर्य केसी, गोविन्द पौडेल, विश्वराज जोशी, दिपेन्द्र क्षेत्री, डम्बर विक, सीता क्षेत्री, डिल्लीराम पौडेल लगायतले व्यावसायिक तरकारी खेती गरेका छन् । यिनीहरूमध्ये गोविन्द पौडेल, सीता क्षेत्री र सूर्य केसीबाहेक अरू सबै विदेशबाट फर्किएका युवा हुन् । सूर्य केसीले भाडामा जग्गा लिएर तरकारी खेती गर्दै आएका छन् । उनी मोदी ७                  

राम्जादेउरालीका भए पनि पकुवाका युवाहरूको जाँगर र साथ खोज्दै कुश्मा नगरपालिका ११ मा आएर व्यावसायिक तरकारी खेती गर्दै आएको सुनाए । ‘मलाई तरकारी खेती गर्ने ठूलो रहर थियो,’ सूर्यले भने, ‘शीप थिएन । साथीहरू खोज्दै यहाँ आएँ । अहिले जग्गा भाडामा लिएर खेतीपाती गर्दै छु ।’ 

सूर्यले विदेश जाने सोच नबनाएको कारण स्वदेशमा रमाउन सकेको बताए । ‘बेलैमा बुद्धि पलाएछ भन्ने लाग्छ,’ उनले भने, ‘मेरै गाउँका कतिजना दाजुभाइ अहिले दुःख पाएर घर फर्किरहँदा मैले राम्रो काममा हात हालेछु भन्ने लागेको छ ।’ 

कुश्मा ११ जहरेखोला वरपर खेतैभरि टनेलै टनेल छन् । प्रायःजसोले व्यावसायिक तरकारी खेती गर्न थालेका छन् । बजारबाट तरकारी किनेर खानेहरूले पनि घरमा चाहिने तरकारी घरमै फलाउँदै आएका छन् । 

उर्र्वर भूमि र सिँचाइको सुविधा भएकाले पकुवामा  तरकारी खेतीको लहर चलेको स्थानीय बताउँछन् । स्थानीय गोविन्द पौडेलका ६ वटा आधुनिक टनेल छन् । उनले तीन रोपनी बारीमा काउली लगायतका तरकारी फलाउँदै आएका छन् ।

बिहानदेखि साँझसम्म तरकारीको हेरचाह, बजार व्यवस्थापन लगायत काममा उनी व्यस्त छन् । ‘तरकारी खेतीमा लागेपछि चारतिर सोच्न पनि भ्याइँदो रहेनछ । त्यही भएर विदेश भन्ने कुरा मेरो मनले कहिल्यै सोचेनँ,’ उनले भने, ‘कोरोनाका कारण अहिले गाउँका साथीभाइ फर्किएर मसँग व्यावसायिक तरकारी खेती गर्ने योजना सिक्न आउँदा गर्व लाग्छ ।’ 

उनले परिवारको माया र देशकै हावापानीमा रमाउन पाउँदा आनन्द लागिरहेको सुनाए । उनको फर्ममा अहिलेसम्म १० लाख रुपैयाँ लगानी भएको छ । वार्षिक कारोबार ६ देखि १० लाखको छ । इजरायलमा ७ वर्षसम्म बिताएका विश्वराज जोशी व्यावसायिक तरकारी फार्म स्थापना गरी विगत ४ वर्षदेखि गाउँमै रमाउन थालेका छन् । उनले तरकारी खेतीसहित कालिज पालन पन पनि गरेका छन् ।   

जोशीले भने, ‘एउटै समय र मिहेनतमा दुईवटा व्यवसाय गर्दा आम्दानी पनि दुई तिरबाट हुँदो रहेछ ।’ उनले आफ्नो फार्ममा गतवर्ष कृषि ज्ञान केन्द्र मार्फत उनले इजरायलमा सिकेको कृषि सम्बन्धि शीप प्रयोग गरेको सुनाए । उनले विदेशबाट फर्किएर शुरू गरेको कृषि व्यवसायलाई वर्षेनि बढाउँदै लगेका छन् । 

उनको लगानी १ करोड रुपैयाँ हाराहारी पुगेको छ । बेलाबेलामा पाउने तालीमले थप शीप आर्जन भएको जोशीले बताए । यी युवालाई स्वरोजगार बनाउन सरकारको पनि साथ छ । कृषि ज्ञान केन्द्रले प्रदेश सरकारको युवा लक्षित मोडल फार्म कार्यक्रम मार्फत अनुदान, बेलाबेलामा प्राविधिक तालीम र यान्त्रिकीकरणमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले  जानकारी दिए । ‘अहिले कोरोनाका कारण वैदेशिक रोजगारी धरापमै प¥यो,’ रेग्मीले भने, ‘अब युवालाई बाँझो जमिन नखनी धर छैन । कोरोनाले ठक्कर दिएपछि केही त कृषिमा लागिसके । अझै केही दोधारमै देखिन्छन् ।’ 

गतवर्ष कृषि ज्ञान केन्द्रले २२ करोड ९९ लाख रुपैयाँ कृषकका लागि खर्च गरेको छ । चालू वर्षको बजेट आए पनि अख्तियारी नआएको कृषि ज्ञान केन्द्रका प्रमुख रेग्मीले जानकारी दिए । स्थानीय तहहरूको प्राथमिकता पनि कृषिमै छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा साना तथा मझौला कृषि फर्मको संख्या एक सयको हाराहारीमा छ । 

स्थानीय तहरूले एक गाउँ एक उत्पादन, एक घर एक टनेल, एक गाउँ एक नर्सरी, बिरुवा हाम्रो फल तपाईंको लगायत कार्यक्रम मार्फत कृषिको व्यावसायिकीकरणमा जोड दिएका छन् । 
कोभिड १९ का कारण विदेशमा रहेका युवाहरू धमाधम गाउँ फर्किन थालेका छन् । विदेशमा रहेका कति युवा स्वदेश फर्किन्छन् भन्ने यकिन छैन । युवाहरू विदेशको रोजगारी गुमाउँदै घर फर्किरहेकाले तीनै तहका सरकारले उनीहरूलाई रोजगारी दिने योजना ल्याउनुपर्ने अर्थविद् पृथ्वीनारायण शर्माले बताए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्