ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना महामारीमा हवाई क्षेत्रले १६ अर्बभन्दा बढी गुमायो

२०७७ भदौ, २३  
समाचार
Image Not Found
फाइल फोटो

भदौ २३, काठमाडौं । कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रू. १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र जारी निषेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तरराष्ट्रिय उडान ठप्प हुँदा ती कम्पनीले ठूलो आर्थिक नोक्सानी बेहोरेका हुन् ।     
     
महामारी नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म बन्दाबन्दी र त्यसयता भदौ २४ सम्म राजधानी काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा निशेषाज्ञा जारी गरिएको छ । सोही कारण झण्डै छ महीनादेखि पर्यटन तथा हवाई क्षेत्र सुनसान प्रायः छ । वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले महामारीको प्रभावका कारण हवाई सेवा कम्पनीले छ महीनाको अवधिमा रू. १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नुपरेको बताए ।

उनका अनुसार ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स तथा विभिन्न १० ओटा कम्पनीका हेलिकोप्टरको व्यवसायको मोटामोटी नोक्सानीको विवरण हो । आर्थिक नोक्सानीसँगै व्यवसायसँग जोडिएका कर्मचारी मजदूरलगायतको पीडा उत्तिकै छ ।     
     
सन् २०२० मा निजी क्षेत्रका हवाई कम्पनीले रू. २५ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्ने आँकलन गरिएको छ । प्रवक्ता शर्माले बन्दाबन्दीको छ महीनाको अवधिमा बुद्ध एयरले मात्रै करीब रू.४ अर्ब नोक्सानी बेहोरेको छ । यती एयरलाइन्सको रू.३ अर्ब ६० करोड नोक्सानी भएको छ । श्री एयरलाइन्सको पनि झण्डै रू.३ अर्ब आर्थिक नोक्सानी भएको छ ।     
     
यो बन्दाबन्दी र निषेधाज्ञा अवधिको अनुमानित विवरण हो । हेलिकप्टर कम्पनीको व्यापार घाटा छुट्टै छ । अब, दैनिक कति व्यापार गर्थे त वायुसेवा कम्पनीले यसबाट पनि सहजै आर्थिक नोक्सानीको अनुमान लगाउन सकिन्छ ।

देशकै अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले सामान्य अवस्थामा दैनिक करीब १०० ओटा उडानमार्फत ६ हजार हाराहारी यात्रुलाई ओहोरदोहोर गराउथ्यो । दैनिक ७० वटासम्म उडान गर्ने अर्को प्रतिस्पर्धी यती एयरलाइन्सले ४ हजारभन्दा बढी यात्रु व्यवस्थापन गर्ने गरेको थियो । धेरै उडान गर्नेमध्येको तेस्रो श्रीएयरलाइन्सले पनि दैनिक ४० ओटाको हाराहारीमा उडान गर्ने गरेको थियो ।     
     
वायुसेवा कम्पनीको भनाइमा संघको आँकडाभन्दा आर्थिक नोक्सानी केही तलमाथि हुनजान्छ । उसोभए एयरलाइन्सको भनाइमा चाँही कति नोक्सानी भयो त ? बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार कम्पनीले सामान्य अवस्थामा रू. ६० देखि ७० करोड आम्दानी गर्‍यो । तर, इन्धनमा ४० प्रतिशत कटाउँदा उसले मासिक रू. १५ करोड सहजै आम्दानी गर्नेगरेको थियो । छ महीनाको इन्धनबाहेकको मात्रै हिसाब गर्दा रू.१ अर्बभन्दा बढी घाटा हुन्छ ।     
     
बुद्ध एयरले ११ एटीआरसहित १३ ओटा जहाजमार्फत विभिन्न १३ ओटा गन्तव्यमा आन्तरिक उडान गरिरहेको छ । यता निजी क्षेत्रको प्रतिस्पर्धी अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्सले छ महीनाको अवधिमा डेढ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नुपरेको छ ।

एयरलाइन्सको हवाई सुरक्षा विभागका प्रमुखसमेत रहेका प्रवक्ता सुदर्शन बर्तौलाले बन्दाबन्दीको अवधिमा यतीले डेढ अर्बभन्दा बढी र यतीकै भगिनी संस्था तारा एयरले रू. ५० करोड हाराहारी आर्थिक नोक्सानी बेहोरेको बताए । यतीले हाल पाँच ओटा एटीआर र पाँच जेट स्ट्रिमसहित १० ओटा जहाजमार्फत उडान गर्दै आएको छ ।     
     
श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले बन्दाबन्दीको अवधिमा ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको बताए । यो कम्पनीसँग आन्तरिक उडानका लागि सिआरजे र ‘ड्यास एट’ गरी छ  ओटा जहाज छन् । सौर्य, सीता, सिम्रिक, समिटलगायत एयरलाइन्सले बन्दाबन्दीमा धेरै घाटा बेहोर्नुपरेको छ ।     
     
विमानस्थलमा आन्तरिकतर्फ दैनिक ३०० को हाराहारी उडान हुने गरेको थियो । आन्तरिक उडानमा ३४ ओटा हेलिकप्टर तथा ४६ ओटा जहाजले उडान गर्छन् । आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ ओटा वायुसेवा कम्पनीले उडान गर्दै आएका छन् ।     
     
हेली एभरेष्टका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका प्रवक्ता शर्माका अनुसार सिजनमा हेली एभरेष्टले मात्रै दैनिक २० देखि २५ हजार अमेरिकी डलर कमाई गर्ने गरेको थियो । बढी उडान गर्ने सिम्रिक एयरको हेलिकप्टर र शैलाश हेलिकप्टरले सर्वाधिक उडान गर्थे ।

यी दुवै कम्पनीसँग समान छ ओटा हेलिकप्टर छन् । उनीहरुले दैनिक ४० हजार डलरसम्म व्यापार गर्ने गरेका थिए । सिजनमा कैलाश मानसरोबरमा मात्रै रू. ५० करोडभन्दा बढीको व्यापार हुन्थ्यो ।     
     
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी डा धनञ्जय रेग्मीले बन्दाबन्दीको अवधिमै पर्यटन तथा हवाई क्षेत्रले रू. ३७ अर्ब भन्दा बढी आर्थिक नोक्सानी बेहोरेको बताए । बोर्डले हालै गरेको एक अध्ययनअनुसार बन्दाबन्दीको अवधिमा मुलुकको पर्यटन तथा हवाई क्षेत्रमा रू. ४१ अर्ब नोक्सानी बेहोर्ने अनुमान गरेको थियो । यो चैत ११ देखि साउन महीनासम्मको विवरण हो ।     
     
डेढ खर्बको लगानी जोखिममा     
     
कोभिड–१९ का कारण नेपालको पर्यटन क्षेत्रका डेढ खर्बभन्दा बढी लगानी जोखिममा परेको बताइन्छ । बोर्डले तयार गरेको कोभिडपछिको पर्यटन क्षेत्रको असरसम्बन्धी अध्ययनअनुसार वैद्यरुपमा सञ्चालन भएका पर्यटन क्षेत्रमा रू.१ खर्ब ५३ अर्बको लगानी छ ।

यो निजी क्षेत्रको मात्रै लगानी हो । यस्तो लगानी पर्यटन क्षेत्रका होटल, एयरलाइन्स, रेष्टुराँदेखि पदयात्रा पर्वतारोहण, जलयात्रालगायत छन् । कोभिडको मख्य प्रभव पर्यटन क्षेत्रमा परेको छ । यो क्षेत्रमा २ लाख ७३ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।     
     
संयुक्त राष्ट्र संघ, विश्व पर्यटन संघले नेपालको पर्यटन क्षेत्रमा १० लाखभन्दा बढीले रोजगारी पाएको उल्लेख गरेको छ । त्यस्तै सरकारी तथ्यांकले पनि पर्यटन क्षेत्रमा छ लाख हाराहारीले रोजगारी पाएको विवरण छ । तथापि बोर्डले हालै गरेको द्रुत अध्ययनबाट झण्डै ३ लाखले पर्यटनमा प्रत्यक्षरुपमा रोजगारी पाएको उल्लेख गरेको छ ।

सरकारले कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई राहत एवं पुनःरुत्थानका लागि चालू आवको बजेटमा रू.१ खर्बको पुनःरुत्थान कर्जाका साथै रू. ५० अर्बको पुनःरुत्थान कोषको व्यवस्था गरेको छ । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्