ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जापानी अर्थतन्त्रमा अनुमान गरिएभन्दा उच्च संकुचन 

२०७७ भदौ, २३  
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २३, टोकियो (जापान) । यस वर्षको दोस्रो त्रैमासमा जापानको अर्थतन्त्र प्रारम्भिक अनुमान गरिएभन्दा अलि बढी खुम्चिएको छ । मंगलवार त्यहाँको मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । 

तथ्यांकअनुसार अप्रिल-जुन त्रैमासमा जापानी अर्थतन्त्र ७ दशमलव ९ प्रतिशतले खुम्चिएको छ । यो संकुचन जापानको आधुनिक इतिहासकै सबैभन्दा खराब हो । समीक्षा अवधिमा अर्थतन्त्रमा ७ दशमलव ८ प्रतिशतको संकुचन आउने प्रारम्भिक तथ्यांकले देखाएको थियो । गत महीना सार्वजनिक भएको तथ्यांकको तुलनामा दोस्रो त्रैमासमा कर्पोरेट लगानी कमजोर रहेको पाइएको छ । 

संकुचनको दर अर्थशास्त्रीहरुले अनुमान गरेको ८ प्रतिशतभन्दा केही राम्रो भएपनि जापानले सन् १९८० मा आर्थिक वृद्धिको तथ्यांक राख्न थालेयताकै खराब हो । गत वर्षको सोही अवधिको तुलनामा जुलाईमा जापानको घरपरिवारको खर्च ७ दशमलव ६ प्रतिशतले घटेको मंगलवार आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको छुट्टै तथ्यांकले देखाएको छ । 

यसले कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा पारेको प्रभाव उजागर गरेको छ । घरपरिवारको खर्चमा आएको यो लगातार १० औं मासिक कमी हो । मे र जुनमा पनि खर्च क्रमशः १ दशमलव २ प्रतिशत र १६ दशमलव २ प्रतिशतले घटेको थियो ।

गत वर्ष आएको शक्तिशाली ताइफु र अक्टोबरमा गरिएको विक्री कर वृद्धिका कारण जापानी अर्थतन्त्र महामारी शुरु हुनुभन्दा अगाडि नै मन्दीमा गइसकेको थियो । विश्वका अन्य विकसित देशको तुलनामा जापानमा संक्रमित र मृतकको संख्या कम छ । रासस/एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्