ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पर्यटनलाई पुनर्जीवन

२०७७ भदौ, २४  
सम्पादकीय
Image Not Found

कोरोना महामारीबाट नराम्ररी थलिएको मुलुकको पर्यटन व्यवसायलाई पुनर्जीवन दिन नेपाल पर्यटन बोर्डले एक कार्यदल गठन गरेको छ । विगत ६ महीनादेखि ठप्प भएको व्यवसाय शरदऋतुको याममा आंशिक भए पनि सञ्चालन गर्न सक्ने आशामा व्यवसायीहरू थिए तर कोरोना संक्रमणको दर बढ्दै गएपछि व्यवसायीहरू अत्तालिएका छन्  ।

सरकार र निजीक्षेत्रको संयुक्त पहल र सक्रियतामा पर्यटनलाई पुनर्जीवन दिन र यसमा व्यवसायीहरूलाई टिकाइ राख्न विशेष कार्यक्रम जरुरी भइसकेको छ ।

बोर्डले गठन गरेको गरेको कार्यदलमा पर्यटन क्षेत्रका संघसंस्था तथा पुराना व्यवसायीलाई समेत समेटिएको छ । पर्यटन क्षेत्रका संस्था र अगुवा व्यवसायीलाई एकै छाता मुनि ल्याएर पुनर्जीवनको अभियान प्रभावकारी बनाउने उद्देश्यले कार्यदल गठन गरिएको देखिन्छ । महामारीबाट सबैभन्दा बढी प्रभावित र सबैभन्दा बढी समयसम्म असर पर्ने क्षेत्र पर्यटन भएकाले मन्त्रालयबाटै यस्तो कार्यदल गठन गरिनु उपयुक्त हुन्थ्यो । नेपालको कुल गार्हस्थ्य उत्पादनमा ३ देखि ४ प्रतिशतको हाराहारीमा योगदान दिइरहेको र विदेशी मुद्रा आर्जनको प्रमुख क्षेत्रमा परेको पर्यटन क्षेत्रको समस्या मुलुककै गम्भीर समस्या हो । समस्याको गम्भीरतालाई आत्मसात् गर्दै मन्त्रालयबाटै कार्यदल बनाउँदा त्यसको कार्यक्षेत्र र प्रभावकारिता बढी देखिन्थ्यो । बोर्डको सक्रियतामा बन्दा पनि कमसे कम व्यवसायीलाई समस्या सुन्ने कुनै निकाय भएको आडभरोसा मिलेको देखिन्छ ।

कोरोना महामारी नियन्त्रणका लागि आन्तरिक हवाई उडान ठप्प पार्दा नेपालका निजीक्षेत्रका वायुसेवा कम्पनीहरूले १६ अर्ब रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी बेहोरिसकेका छन् । त्यस्तै होटल तथा रेस्टुराँहरूले बेहोर्नुपरेको क्षति पनि अर्बौंको छ । पर्यटन क्षेत्रका विभिन्न व्यवसायीहरूको क्षति हिसाब गदा झन्डै आधा खर्ब क्षति पुगेको आकलन गरिएको छ । दशैंको आसपासमा केही विदेशी र केही आन्तरिक पर्यटक चलायमान हुने र त्यसले व्यवसायलाई टेवा दिने अपेक्षा व्यवसायीहरूको थियो । तर, त्यो सम्भावना त्यति सहज देखिएको छैन । खासगरी विदेशी पर्यटकको आगमन त्यति सहज छैन । त्यसैले पर्यटन व्यवसायलाई पुनर्जीवन दिन सरकारले नीतिगत व्यवस्था गरिदिनुपर्ने सरोकारवालाहरूको भनाइ छ ।

कोरोना महामारी अर्को वर्षको मध्यसम्म नै रहने विश्व बैंकको भनाइ आएको छ । त्यसैअनुसार कतिपय देशले रणनीति तय गर्न थालेका छन् । भ्याक्सिनको उत्पादन र त्यसमा सर्वसाधारणको पहुँच नपुगुन्जेल विश्वभरि नै अवस्था सामान्य हुने सम्भावना कमै देखिन्छ । यस्तोमा सरकारले पर्यटन व्यवसाय र व्यवसायीलाई जोगाउन विशेष नीतिगत व्यवस्था गर्नुपर्छ भने आगामी दिनमा पर्यटनलाई कुन रूपमा अगाडि बढाउने हो, त्यसबारेमा रणनीति तय गर्नुपर्ने अवस्था आइसकेको छ ।

पर्यटन व्यवसाय निजीक्षेत्रको सक्रियतामा सञ्चालन हुने हो । सरकारले केही ठूला पूर्वाधार निर्माण र नीतिगत सहजीकरण गर्ने हो, व्यवसाय पूर्ण रूपमा निजीक्षेत्रले गर्ने हो । त्यसो हुँदा सरकार र निजीक्षेत्रको संयुक्त पहल र सक्रियतामा पर्यटनलाई पुनर्जीवन दिन र यसमा व्यवसायीहरूलाई टिकाइ राख्न विशेष कार्यक्रम जरुरी भइसकेको छ । विश्वमा पर्यटन बजारमा निकै प्रतिस्पर्धा छ । यस्तो प्रतिस्पर्धामा नेपालले उपयुक्त रणनीति अपनाएन र समयानुकूल पर्यटन प्याकेज अघि ल्याएन भने विश्व पर्यटनमा नेपालको बजार अंश घट्ने निश्चित छ । प्राकृतिक सुन्दरता, सगरमाथा र बुद्धको देश जस्ता केही विशेषणका भरमा पर्यटक नेपाल आइरहने सम्भावना घट्न सक्छ । नेपालले र्‍याफ्टिङलगायत केही क्षेत्रका पर्यटक गुमाइसकेको छ अर्थात् यसका लागि आउने पर्यटक भारत आदि क्षेत्रतर्फ मोडिइसकेका छन् ।

महामारीकै कारण मास पर्यटन अर्थात् भीडभाडको पर्यटनले विश्व बजारबाट बिदा लिँदै छ । यस्तोमा पर्यटकको संख्यालाई उपलब्धि मान्ने सरकारी सोचाइमा परिवर्तन पहिलो जरुरी विषय हो । विश्वमा धेरै मानिसको आय खुम्चिएको हुँदा विश्व पर्यटन बजारमै ह्रास आउने सम्भावना छ । स्वास्थ्य सतर्कता अपनाई पर्यटन सेवा दिँदा महँगो पर्ने भएकाले केही समय झोले पर्यटक नआउन सक्छन् । नेपालको पर्यटनलाई गुणस्तरीय बनाउने यो अवसर पनि हो । यस्तोमा पर्यटन मन्त्रालयले नै निजीक्षेत्रको समिति बनाएर त्यसअनुसार रणनीति तय गर्नु आवश्यक छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्