ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विद्यालयको स्वरूप फेर्दै युवा सञ्जाल

२०७७ भदौ, २४  
प्रदेश ०२
Image Not Found
author avatar कमलेश ठाकुर

भदौ २४, जनकपुरधाम । कोरोना संक्रमण रोकथामका लागि नेपालसहित अधिकांश देशमा निषेधाज्ञा जारी छ । कोरोना महामारीबाट बच्न सरकारले जारी गरेको निषेधाज्ञाका कारण मानिस घरभित्रै थुनिएका छन् ।

यसको सबैभन्दा मार शिक्षा र अर्थतन्त्रमा परेको विज्ञहरूले बताउँदै आएका छन् । तर, विद्यालयमा सुधार गर्ने उद्देश्य बोकेका महोत्तरीका युवाहरूलाई न कोरोनाको त्रास छ, न बन्दाबन्दीको, न त अर्थकै चिन्ता । ती युवाहरूको अठोट छ, कसरी विद्यालयको स्वरूप फेर्ने ।

निषेधाज्ञा जारी भएयता महोत्तरीको बर्दिवास नगरपालिका–९ बनरझुल्लास्थित राष्ट्रिय माध्यमिक पशुपतिनाथ विद्यालयमा जनसहयोगी युवा सञ्जालका युवाहरू अहोरात्र मेहनत गरिरहेका छन् । उनीहरूलाई न भदौको चर्को घामले रोकेको छ, न त वर्षाले । सञ्जालले विद्यालयमा रू. ५० लाखको लागतमा धमाधम खेल मैदानदेखि बाल उद्यान बनाइरहेको छ । 
सञ्जालका अध्यक्ष परमेश्वर महतोका अनुसार कक्षाकोठा निर्माण र मन्दिर सौन्दर्यीकरण, खेलमैदान, बगैंचा, पार्किङ स्थल, चमेना गृह, चौतारा र मञ्च निर्माण भइरहेको छ ।

गत असार ३ गते प्रदेशसभा सदस्य शारदा थापा र नगर प्रमुख विदुर कार्कीले संयुक्त रूपमा निर्माण आयोजनाको शिलान्यास गरेका थिए । ८१ दिनदेखि भइरहेको निर्माण ६५ प्रतिशत सकिएको अध्यक्ष महतोले बताए ।

आउँदो अधिवेशनसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकामा हालसम्म रू. २५ लाख खर्च भइसकेको उनले जानकारी दिए । महतोका अनुसार खेल मैदानमा रू. १० लाख लागेको छ ।
‘सञ्जालले विद्यालय निर्माणमा गरेको खर्चमध्ये विभिन्न दातासँग रू. १४ लाख ९१ हजार संकलन गरेको छ । विभिन्न महानुभावले स्वेच्छाले सहयोग गर्नुभएको छ,’ उनले भने, ‘विभिन्न निकायलाई सहयोग अपिलसहित पुनः पत्राचार गरेका छौं । यसमा पूर्णरूपमा जनताको लगानी छ ।’

सञ्जालका कोषध्यक्ष ज्ञानेन्द्र महतो जनताले चाहे भने विद्यालय सजाउन, बनाउन सक्छन् भन्ने उदाहरण दिन काम भइरहेको बताउँछन् । उनका अनुसार तीन चरणमा निर्माण कार्य भइरहेको छ ।

लक्ष्य पूरा गर्न मुठीदान
जनसहयोगी युवा सञ्जाल महोत्तरीलाई निर्माणाधीन कामका लागि मुठीदानबाहेक अरु कुनै आम्दानी थिएन । लक्ष्य पूरा गर्न सञ्जालले शिक्षक, सञ्चारकर्मी र स्थानीय सबै मिलेर जनस्तरबाट मुठीदान अभियान शुरू गरे । यसले गर्दा ३ महीनाभित्रै नसोचेको काम र परिवर्तन भइरहेको स्थानीय सञ्चारकर्मी अमृत महतो सुनाउँछन् ।

उनले समाचार संकलनका बेला विद्यालयमा देखेको दुरवस्था परिवर्तन गर्ने अठोट लिए । ‘मैले विद्यालयको स्वरूप नफेरिएसम्म दाह्री नै नकाट्ने प्रण लिएको छु,’ अमृत भन्छन्, ‘अब छिट्टै हाम्रो सपना पूरा हुन्छ ।’

निर्माणाधीन संरचनाका लागि आवश्यक सहयोग जुटाउन सञ्जालले जनचेतनामूलक गीत पनि सार्वजनिक गरेको छ । आर्थिक अभाव नहोस् भन्ने उद्देश्यले सञ्जालले मगही भाषाको ‘विद्यालय निर्माण में चलु सब कोइ जुटु’ बोलको गीत सार्वजनिक गरेको हो ।

सात कक्षाकोठा निर्माण
विद्यालयमा निषेधाज्ञाकै अवधिमा सातओटा कक्षाकोठासमेत निर्माण भएका छन् । रू. ४३ लाखको लागतमा सातओटा कक्षाकोठा निर्माण भएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संसदीय विकास कोषको रकम, बर्दिबास नगरपालिका र सेभ द चिल्ड्रेनको संयुक्त सहयोगमा कक्षाकोठा निर्माण गरिएको हो । विद्यालय निर्माण भएको क्षेत्रबाट मन्त्री पोखरेल प्रतिनिधिसभाको चुनावमा विजयी भएका थिए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्