ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कृषकलाई प्रोत्साहन रकम

२०७७ भदौ, २४  
गण्डकी प्रदेश
NA

दमौली । तनहुँको ऋषिङ गाउँपालिकाले कृषकलाई कृषिमा प्रोत्साहित गर्न प्रोत्साहन रकम वितरण गरेको छ । कृषि क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत गाउँपालिकाले वडा नं ८ का कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलका अनुसार उक्त वडाका २ जना बाख्रापालकलाई जनही रू. १३ हजार, बंगुरपालकलाई जनही रू. ११ हजार, १ जना माछापालकलाई रू. ५ हजार र एक जना कुखुरापालकलाई रू. ५ हजारका दरले रकम वितरण गरिएको छ ।

‘कृषि क्षेत्रमा राम्रो काम गर्ने कृषकलाई पुरस्कृत गर्न प्रोत्साहन रकम वितरण गरेका हौं’, उनले भने, ‘यसले कृषकलाई कृषितर्फ प्रोत्साहन गर्ने गाउँपालिकाको विश्वास छ ।’ गाउँपालिकाले सबै वडाका उत्कृष्ट कृषकलाई प्रोत्साहन रकम वितरण गर्ने तयारी गरेको छ । बाँकी सात वडाका कृषकलाई पनि प्रोत्साहन रकम वितरण गरिनेछ । ‘कार्यविधिअनुसार सबै वडामा कृषि पेशामा अब्बल कृषक छनोट गरेर प्रोत्साहन रकम वितरण गर्न लागेका हौं’, उनले भने ।

प्रशासकीय अधिकृत पौडेलका अनुसार यो कार्यक्रम गत आर्थिक वर्ष २०७६÷७७ को कार्यक्रम हो । कोभिड–१९ को प्रभावका कारण ढिला गरी कृषकलाई रकम वितरण गरिएको गाउँपालिकाले बताएको छ । गाउँपालिकाले यस अगाडि ८ ओटै वडाका २०÷२० जना कृषकलाई जनही रू. २० हजारका दरले अनुदान रकम वितरण गरिसकेको छ ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकालाई कृषिमा समृद्ध बनाउने लक्ष्य राखिएको र कृषकलाई सहयोग गर्ने कुरामा गाउँपालिका सदैव प्रतिवद्ध रहेको जानकारी दिए । ‘कृषकलाई कृषि पेशातर्फ आकर्षित गराउन गाउँपालिकाले अनुदानको व्यवस्था गरेको छ, यसले गाउँपालिकालाई पनि कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्छ’, उनले भने । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्